पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन

  २०८१ असोज २५ गते १९:४५     विकासन्युज

काठमाडौं । गत असोज ११ र १२ गतेको अविरल बर्षाको बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध बिपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा आएको छ । केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको खुलेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय, राजमार्गअन्तर्गतका स्थानीय तहहरु, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा आजदेखि सञ्चालन गर्न सफल भएको हो । कार्यालयले आज बिहानबाट उक्त राजमार्गमा यातायातका साधन सञ्चालनमा ल्याइएको हो ।

कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले पछिल्लोपटक राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारस्थित बोक्सीकुनामा डाइभर्सन बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी यातायात सञ्चालनमा ल्याइएको बताए ।

उनका अनुसार बाढीपहिरोले राजमार्गको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब २ सय मिटर सडक पनि अस्थायी रुपमा एकतर्फी खुलाइएको छ । बाढीपहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमाथ्ल नेपालथोकसम्म क्षति पुर्याएपछि उक्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । राजमार्ग खुलाउन चौकीडाँडा र नेपालथोक दुवैतिरबाट निर्माण सुरु गरिएको कार्यालयले जनाएको छ ।

‘राजमार्गको सडक, पुल र कल्भर्टहरु बगेको स्थानमा हाललाई सडक सञ्चालनमार्थ अस्थायी संरचना निर्माण गरिएको हो,’ उनले भने ।

धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बहावलाई सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ । रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकको १४ स्थानमा करिब ८ किलोमिटर क्षतिग्रस्त बनाएको थियो । जसमध्ये राजमार्गअन्तर्गतको दाप्चा खोलामा १ सय मिटर, चौकीडाँडामा २ सय, कटुञ्जे घुमाउनेमा ५ सय, लास्कोट बेँसीमा २ सय, ४ सय बेँसीमा ५ सय, गिम्दीबेँसीमा ३ सय, खार्पाचोक बेँसीमा ३ सय र नार्केमा ८ सय मिटर सडक क्षतिग्रस्त भएको थियो ।

यस्तै, पिन्थलीबेँसीमा ४ सय, दाउन्नेमा ३ सय, मङ्गलटार बोक्सीकुनामा ६ सय, चिउरीबासमा २ सय, कालढुङ्गामा १ किलोमिटर, डालाबेँसीमा ८ सय, पिप्लको २ स्थानमा गरी ७ सय, बर्खेखोला ३ सय, चालिसेमा ४ सय र माम्तीमा ८ सय मिटर सडक पूर्णरुपमा क्षति भएको थियो ।

बाढीपहिरोले उक्त राजमार्गमा सडकसम्पर्क टुटेपछि रोशी गाउँपालिकाको विपद् पीडित तथा राजमार्ग हुँदै मध्यपहाडी क्षेत्र एवं पूर्वी तराईबाट आएका यात्रु अलपत्र भएपछि भोलिपल्टैदेखि हेलिकप्टरमार्फत उद्धार थालिएको थियो ।

राजमार्गको कुल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको कार्यालयले जनाएको छ । क्षति पुगेको करिब २ किमी सडक र अन्य स्थानमा भएको क्षतिको मूल्याङ्कन गर्दा २ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रमुख योगेशले बताए ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.