२०८१ असोज २७ गते १३:१४ विकासन्युज
काठमाडौं । किरण नेपाली गन्धर्वहरूको ‘सारङ्गी’ लाई संसारभर चिनाउन चाहन्छन् । गुडिरहेको बसमा यात्रा गरिरहेका यात्रु, गाउँघर अनि सहरका सडकपेटीमा विरहका गीत सारङ्गीको धुनमा सुनाइँदै आएको परम्परागतलाई शैलीलाई आधुनिकीकरण गर्ने उनकाे ठूलो धोको थियो । उनीसँग आईडीया र योजना दुवै थियो । हुन त कुटुम्ब ब्याण्डको सदस्य भएकाले किरणलाई देशविदेशमा पर्फमेन्स र जीविकोपार्जन गर्न कुनै सकस थिएन । कुटुम्ब ब्याण्डबाटै उनले आफूलाई चिनाइरहेका थिए ।
तर, आफै उद्यमी बन्ने र परम्परागत सारङ्गीलाई उद्यमशीलतामा परिणत गर्ने नेपालीको इच्छा थियो । त्यसका लागि उनीसँग आईडीया पनि थियो । तर, कसरी उद्यमी बन्ने, कसरी बजारीकरण गर्ने ? यी यावत विषयगत ज्ञान भने किरणसँग थिएन । जब उनले नबिल बैंकको ‘फेलोसिप’ पाए तब परम्परागत सारङ्गीलाई ‘ग्ल्यामरस’ बनाए । लोप हुँदै गएको गन्धर्व जातिको सारङ्गीलाई नेपालीले आधुनिकशैलीमा संसारभर चिनाइरहेका छन् ।
रोशन श्रेष्ठ बायोटेक्नोलिजिष्ट हुन् । उनी स्वदेशमै आलुको गुणस्तरीय बीउ उत्पादन गर्न चाहन्थे । अहिले पनि सामान्य तरिकाले आलु रोपेर फलाइन्छ । परम्परागत शैलीमा आलु राेप्दा उत्पादन क्षमता कम हुने सम्भावना रहन्छ । तर, त्यसलाई परिमार्जन गरी ‘टिस्यू कल्चर’ (आलुको बीउ उत्पादन गर्ने बेर्ना) विधिबाट बीउ बनाउने श्रेष्ठको योजना थियो । अर्गानिक क्षेत्रमा काम गरिसकेको अनुभवका आधारमा उनले काभ्रेमा आलुको बीउ उत्पादन गर्ने फार्म सञ्चालनमा ल्याए । तर, उनीसँग त्यसको बजारीकरण अनि ब्राण्डिङ कसरी गर्ने भन्ने अनुभव थिएन । नबिल बैंकको फेलोसिप प्राप्त गरेपछि अहिले उनको आलुको बीउले चर्चा पाउन थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले समेत उनको फार्मबाट उत्पादन भएको आलुको बीउ खरिद गरेर किसानहरूलाई वितरण गरिरहेको छ ।
सजना भडेलले एक्सपोल हब नेपाल सञ्चालनमा ल्याएकी छिन् । नेपालमा महिला ट्रेकिङ गाइड कम छन् । महिलाहरूलाई लक्षित गरेर पर्यटन प्रवर्द्धन गरिरहेकी उनले नबिल बैंकको फेलोसिप प्राप्त गरेपछि आफ्नो व्यवसायलाई थप मजुबत बनाइरहेकी छिन् । नयाँ-नयाँ किसिमका टुर प्याकेज ल्याइरहेकी छिन् ।
नसना बज्राचार्यले जिन्सको खेर गएको कपडा वा पुरानो कपडालाई रिसाइकल गरी ब्यागलगायतका अन्य प्रडक्ट उत्पादन गरिरहेकी छन् । खेर गएको कपडालाई रिसाइकल गरेर पुनः प्रयोगमा ल्याउँदा उनको व्यवसाय मात्रै भएको छैन, वातावरण प्रदूषण पनि कम भएको छ ।
किरण परियार, रोशन श्रेष्ठ, सजना भडेल र नसना बज्राचार्य जस्ता १२ दर्जन बढी उद्यमीलाई नबिल बैंकले फेलोसिप प्रदान गरेको छ । नबिल स्कूल अफ सामाजिक उद्यमशीलता (नबिल स्कुल अफ सोसियल इन्टरपेर्नियरसीप–नबिल एसएसई) मार्फत् नयाँ कार्यको थालनी र काम गर्ने योजना बनाएका व्यक्तिलाई बैंकले प्रत्येक वर्ष २० जनालाई फेलोसिप प्रदान गर्दै आएको छ । बैंकको फेलोसिप प्राप्त गरेपछि उद्यमीहरूले व्यवसायलाई सही दिशामा डोर्याउँदै व्यवसायमा गुणस्तरीय वृद्धि गरिरहेका छन् ।
फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स
बैंकले खुद नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम नबिल बैंकले एउटा अवधारणा बनायो- सामाजिक उत्तरदायित्वअन्तर्गतको निश्चित रकम सामाजिक उद्यमशीलता प्रवर्द्धनमा खर्च गर्ने । बैंकले सन् २०२१ नोभेम्बर २६ मा नबिल स्कूल अफ सामाजिक उद्यमशीलता (नबिल स्कुल अफ सोसियल इन्टरपेर्नियरसीप–नबिल एसएसई) योजनाको सुरुवात’ गरेकाे थियाे। जसअन्तगर्त बैंकले फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुइटा कार्यक्रम गरिरहेको छ ।
नबिल फेलोसिप
नबिल बैंकले तीन वर्षअघि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेर उद्यमीहरूलाई फेलोसिप प्रदान गर्दै आएको छ । बैंकले हालसम्म तीन चरणको फेलोसिप प्रदान गरिसकेको छ । प्रत्येक वर्ष फेलोसिपका लागि बैंकले विभिन्न माध्यमबाट आवेदन आह्वान गर्छ । आवेदन दिएका उम्मेदवारहरूमध्ये प्रतिस्पर्धात्मक प्रक्रियाका आधारमा २० जना छनोट गरी फेलोसिप कार्यक्रममा सहभागी गराइन्छ । फेलोसिप कार्यक्रम ६ महिनासम्म सञ्चालन हुन्छ । प्रत्येक महिना ३ दिनगरी ६ महिनाको अवधिमा १८ दिन विभिन्न किसिमका तालिम दिइन्छ ।
बैंकको फेलोसिपका लागि जुनसुकै क्षेत्र जस्तै: कृषि, वातावरण, संस्कृति, उर्जा, पर्यटन, आईटी आदि क्षेत्रका व्यक्तिले आवेदन दिन सक्ने नबिल स्कुल अफ सोसियल इन्टरपेर्नियरसीपका प्रमुख उज्वल चापागाईं बताउँछन् । जोसँग केही आईडीया र केही गर्न हुटहुटी छ भने आह्वान गरेको बेला आवेदन दिनुपर्ने उनको भनाइ छ । उनका अनुसार छनोट भएका व्यक्तिलाई मासिक तीन दिन आवासीय सुविधासहित तालिम दिइन्छ ।
छनोट भएका व्यक्तिलाई बैंकले फेलोज भन्ने गरेको छ । प्रत्येक फेलोजलाई सम्बन्धित क्षेत्रको ज्ञान, अनुभव, सीप भएको एक जना विज्ञलाई मेन्टरका रूपमा गाइड उपलब्ध गराउँछ । नबिल एसएसई प्रमुख चापागाईंका अनुसार नबिल बैंक र टियूसँगको सहकार्यमा उत्पादन भएको उद्यमी भनेपछि जोकोहीले बजारमा सहजै विश्वास गर्छन् ।
‘उद्यमशीलता वृद्धिका ज्ञान, सीपको अभाव महसुस गरेको, खातापाताको काम समयमा सही तरिकाले गर्न नसकेर कर तिर्दा जरिवाना तिर्नु परेको, उत्पादन गरेको वस्तुको मार्केटिङ, ब्राण्डङ गर्न नजानेको, बजारीकरण गर्न नजानेको, आफ्नो प्रडक्टको ग्राहक को हो भनेर पत्ता लगाउन नसकेको, नयाँ उद्योग, व्यापार व्यवसाय खोल्ने योजना छ तर, कसरी अगाडि बढाउने भनेर नबुझेको लगायत सानासाना अवरोध थाहा नपाएको व्यक्तिलाई आवेदन आह्वान गरिन्छ,’ उनले भने, ‘त्यस्ता व्यक्तिलाई छनोट गरी सम्बन्धित क्षेत्रका विज्ञ, अनुभवी व्यक्तिहरूले आफ्नो अनुभव, ज्ञान अनि सीप सिकाइन्छ । तालिम लिइसकेपछि ‘कन्फिडेन्स’ बढेको, काम गर्ने तरिकमा फरकपना आएको, पहुँच बढेको, जनशक्ति व्यवस्थापनमा सहजता आएको लगायत भोग्दै आएका समस्या हल भएको प्रतिक्रिया दिनुहुन्छ ।’
सर्टिफिकेट कोर्स
उद्यमी जन्माउने नबिल बैंकको अर्काे प्रडक्ट हो सर्टिफिकेट कोर्स । नबिल स्कूल अफ सामाजिक उद्यमशीलता (नबिल एसएसई) कार्यक्रमअन्तर्गत रहेको सर्टिफिकेसन कोर्सका लागि बैंकले सातै प्रदेशमा विभिन्न ११ वटा कलेजहरूसँग सम्झौता गरेको छ । नबिल फेलोसिप कार्यक्रम जस्तै सर्टिफिकेसन कोर्सका लागि बैंकले प्रत्येक वर्ष आवेदन आह्वान गर्छ ।
स्थानीयस्तरमा उद्यमशील गरिरहेका उद्यमी, सामाजिक उद्यमशीलतामा काम गर्न चाहना भएका व्यक्ति, विद्यार्थी, जो कोहीले पनि यसमा आवेदन दिन सक्ने नबिल एसएसई प्रमुख उज्वल चापागाईं बताउँछन् । उद्यमी बन्ने सोंचको विकास गर्नु वा माइण्ड सेट गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए । तीन महिनाको अवधिमा १४ दिनसम्म याे काेर्स चलाइँदै आइएकाे छ ।
एउटा ब्याच (एक चरण)मा २५ जना सहभागी गराइने र बैंकले सम्झौता गरेको कलेजमा तालिम दिने गरिएको उनको भनाइ छ । उनका अनुसार दुइटा कलेजमा हालै कोर्स सुरु भएको छ भने ९ वटा कलेजमा ३ चरणसम्म कोर्स चलिरहेको छ ।
साथै उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमलाई पनि बैंकले नबिल एसएसईअन्तर्गत रहेर सहयोग गरिरहेको नबिल एसएसई प्रमुख चापागाईंको भनाइ छ । उद्यमशीलता विकास गर्न गत वर्ष आयोजना गरिएको सीएनआईवाईइएफ स्टार्टअप फेष्टलाई बैंकले सहयोग गरेको उनले बताए । बैंक आफैले पनि उद्यमशीलताका लागि विभिन्न प्रडक्ट ल्याउने गरेको उनले जानकारी दिए ।
बजार उपलब्धता
बैंकले सबै काम गर्न सक्दैन । तर, बजार उपलब्धताका लागि नेटवर्किङमा सहजीकरण गर्ने गरेको उनकाे भनाइ छ । फेलोसिप कार्यक्रम र सर्टिफिकेसन कोर्समा सहभागी भएका उद्यमीहरूले उत्पादन गरेको प्रडक्टको बजारीकरणका लागि बैंकले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा सहभागीहरूलाई ऋण आवश्यक परेको खण्डमा बैंकले प्रकृति हेरेर कर्जा उपलब्ध गराइरहेको उनले बताए । ‘यदि उहाँहरू कसैलाई कर्जा आवश्यक परेमा बैंकले उपलब्ध गराउँछ । तर, कार्यक्रममा सहभागी भएर तालिम लिएपछि नबिल बैंकबाटै कर्जा लिनुपर्छ भन्ने छैन, उहाँहरूलाई जुन बैंकमा सहज लाग्छ लिन पाउनुहुन्छ,’ उनले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.