दसैँमा पनि रोकिएन हवाईजहाज, ६३ हजारले गरे यात्रा

  २०८१ असोज २७ गते ६:५७     विकासन्युज

काठमाडौं । बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार २४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर ३०१ उडानमार्फत १७ हजार ३२९ जना र असोज २५ गते २७८ उडानबाट १४ हजार ४३६ जना गरी कुल ३१ हजार ७६५ जनाले आन्तरिक उडानमा हवाई यात्र गरेका छन् ।

यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी १०७ उडानमार्फत १६ हजार ५०९ जना र असोज २५ गते पनि १०७ उडान हुँदा १४ हजार ९६८ जना गरी कुल ३१ हजार ४७७ जनाले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो ।

यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी ५५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार ७०४ जनाले हवाईयात्रा गरेका छन् । यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्धहुँदा हवाई उडानमा चाप भएको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवना यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ । यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.