टीका र जमरा थाप्ने क्रम जारी

  २०८१ असोज २७ गते १७:५०     विकासन्युज

काठमाडौँ । दुर्गा पक्ष एवं वडादसैँको ११औँ दिन आज पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी रहेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप टीका र जमरा लगाउन मान्यजनकहाँ जाने गरिन्छ । यो क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति भएपछिदेखि भने नवदुर्गाको प्रसाद लगाउन क्रम राखिन्छ । यस वर्ष असोज ३० गते बुधबार अखिल बलि पूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए ।

निधारमा रातो टीका र टाउकोमा जमरा लगाएर सपरिवार हिँड्नेको सडकमा चहलपहल देखिन्छ । सार्वजनिक यातायातमा पनि आफन्तकहाँ टीका र जमरा लगाउन हिँडेका र लगाएर आएकाकै बाक्लो उपस्थिति देखिन्छ ।

यस वर्ष विजयादशमीदेखि नै राजधानीमा बढी चहलपहल देखिएको छ । दसैँ मनाउन विगत वर्षभन्दा कम मानिस काठमाडौँ उपत्यका बाहिर गएकाले राजधानीमा बढी चहलपहल देखिएको हो । महाअष्टमी एवं महानवमीका दिन शुक्रबार राजधानीमा कम चहलपहल देखिएको थियो । विजयादशमीपछि भने राजधानी बाहिर गएका पनि फर्कने क्रम बढ्ने भएकाले बढी चहलपहल देखिन्छ ।

राजधानीमा चहलपहल बढी देखिएकाले गत वर्षजस्तो सार्वजनिक यातायात पाउन पनि कठिन नभएको मान्यजन कहाँ आशीर्वाद लिन हिँडेकाको अनुभव छ । टीकाथलीमा आफन्त कहाँ जान लाग्नुभएका मङ्गलबहादुर श्रेष्ठ यो वर्ष सहजै सवारी पाइएको सुनाउनुहुन्छ । सवारीले स्टेशन नै पिच्छे पाँच÷सात मिनेट रोकेर भने ढिला गरेको उनले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.