जुम्लामा दसैँमा मात्रै साढे १६ करोडका भेडा र खसी बोकाको कारोबार

  २०८१ असोज २८ गते ८:५६     विकासन्युज

काठमाडौं । जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै साढे १६ करोड रुपैयाँभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिए ।

शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर ७ हजार ९२८ भेडा तथा खसी बिक्री भएका छन् । यस्तै १५ करोड २३ लाख २३ हजार रुपैयाँका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजार रुपैयाँका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् । जसमा ४८७ खसी, ३ वटा राँगा र ८२ वटा भैँसी रहेका छन् ।

स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार रुपैयाँ, न्यूनतम १० हजार रुपैयाँ रहेकामा औसत मूल्य १९ हजार रुपैयाँ तोकिएको थियो । जुम्ली खसीको अधिकतम मूल्य २४ हजार रुपैयाँ र न्यूनतम ८ हजार रुपैयाँ रहेकामा औसत १६ हजार रुपैयाँमा बिक्री भएको जनाइएको छ । अधिकतम मूल्य ५० हजार रुपैयाँ र न्यूनतम २६ हजार रुपैयाँमा किनबेच भइरहेका राँगाभँैसी औसत ३८ हजार रुपैयाँमा बिक्री भएका थिए ।

वि.सं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् ।

पछिल्लो समय कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघुलगायत साना बजारमा समेत भेडा, खसीलगायतको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.