दसैँको दक्षिणा ‘शिक्षामा लगानी’

  २०८१ असोज २८ गते ९:०१     विकासन्युज

काठमाडौं । दसैँको समयमा अधिकांश बालबालिकाको हातमा पैसा हुन्छ । दक्षिणामा पाएको यस्तो रकम कतिपय बालबालिकाले अनावश्यक खर्च गर्छन् भने केहीले मात्रै उपयोगी काममा खर्च गर्छन् ।

कैलालीको टीकापुर–१ की समृद्धि पोखरेल यस वर्षको दसैँको दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजनामा छिन् । कक्षा ६ मा अध्ययनरत समृद्धि दसैँ बिदा भएलगत्तैदेखि चित्रकला सिकिरहेकी छिन् ।

‘मलाई चित्र बनाउन रुचि छ, त्यसैले दसैँको बिदा सदुपयोग गरिरहेकी छु, सपटकको दक्षिणा चित्रकलाका लागि आवश्यक पेन्टिङका सामान किन्ने योजनामा छु,’ उनले भनिन् ।

कक्षा ७ मा अध्ययनरत कैलालीको लम्की चुहाकी सोनी उपाध्याय पनि यसपटकको दक्षिणाले अध्ययनका लागि आवश्यक ‘नोट कापी’ किन्ने तयारीमा छिन् ।

‘मैले गत वर्षको दक्षिणाबाट राम्रो लुगा किनेकी थिए, यस वर्ष भने आफूलाई वर्षभरि पुग्ने कापी किन्ने हो । दसैँको रकम अनावश्यक खर्च नगर्ने सोँचेकी छु,’ उनले भनिन् ।

कक्षा १० मा अध्ययनरत बन्दना रेग्मी पनि दसैँ खर्च जोगाउने तयारीमै छिन् । गत वर्ष साथीहरूसँग टीकापुर पार्कमा पिकनिक गएकी बन्दना यस वर्ष अध्ययनका लागि आवश्यक सामग्री किन्ने योजना रहेको बताउँछिन् ।

‘के किन्ने भनेर योजना बनाउँदैछु । स्कूल झोला अध्ययनका लागि उपयोगी सामग्री किन्ने कि भन्ने सोचमा छु,’ उनले भनिन् ।

हरेक वर्ष बडादसैँलगायत चाडपर्वमा प्रायः सबैजसो विद्यालयमा करिब एक महिना लामो बिदा हुने गरेको छ । कतिपयले घरायसी काम, घुमफिर र रमाइलो काममै बिदा गुजार्ने गर्छन् । शिक्षकहरू भने चाडपर्वको समय अनावश्यक काममा खेर फाल्नुभन्दा सिर्जनात्मक काममा प्रयोग गरेर बिताउँदा राम्रो हुने बताउँछन् । यसका लागि अभिभावकले नै वातावरण बनाइदिनुपर्ने शिक्षक कृष्ण जैसीको सुझाव छ ।

‘एक महिना बिदा हुन्छ । यो समय सिर्जनात्मक र नयाँ सिकाइका लागि प्रयोग गर्नु उपयुक्त हुन्छ । विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने समय पनि हो यो । त्यसैले अभिभावकले नै आफ्ना बालबालिकालाई चाडपर्वमा पाएको दक्षिणा राम्रो काममा खर्च, बचत गर्ने बानीको विकास, पैसाको महत्व बुझाउने र सदुपयोग गर्न सिकाउनुपर्छ,’ उनले भने, ‘यो समयमा नयाँ पुस्तक पढ्ने, नयाँ पुस्तक किन्ने जस्ता कार्यमा खर्च गर्न सकिन्छ । यसका लागि अभिभावकले नै उत्प्रेरित गर्न आवश्यक छ ।’

टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी पनि लामो बिदालाई त्यत्तिकै खेर नफाली अभिभावक र बालबालिकाले रमाइलो वातावरणमा व्यावहारिक सीप सिकाउन प्रयोग गर्नुपर्ने सुझाव दिन्छन् ।

‘मानिसको जीवनमा सधैँ काम र पढाइको व्यस्तता हुनसक्छ । सबैलाई रमाइलो वातावरण र मनोरञ्जन चाहिन्छ । यसर्थ अभिभावकले बालबालिकालाई समय र पैसा अनावश्यक खर्च गर्नु हुँदैन भनी सिकाउनुपर्छ । रमाइलो वातावरणमा घरको काम सिकाउने, सिर्जनशील काममा लगाउनसके राम्रो हुन्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.