२०८१ असोज २८ गते १३:२२ विकासन्युज
सहकारीमा बचतकर्ताको बचत रकम दुरुपयोगका विषयहरू सार्वजनिक भएसँगै सिङ्गो सहकारी क्षेत्रको साख नै सङ्कटमा परेको छ । समुदायमा आधारित भई सहकारीको आधारभूत मूल्य, मान्यता र मर्मअनुरूप राम्रा चलेका सहकारी संस्थाहरू माथि समेत शङ्काको दृष्टिले हेर्न थालिएको छ । सहकारीमा बचतकर्ताहरूले सहकारी संस्थाबाट बचत फिर्ता माग गर्न थालेका छन् । एउटा प्रभावकारी राष्ट्रिय प्रयास नहुने हो भने सहकारी क्षेत्र पुरानै अवस्थामा फर्कनै नसक्ने त होइन भन्ने जोखिम र एक प्रकारको संशय समेत पैदा भएको छ ।
यद्यपि समुदायमा आधारित भई सञ्चालन भएका सहकारीहरूले राम्रोसँग संस्था चलाएका मात्र छैनन्, सहकारीका नमूना समेत प्रस्तुत गरेका छन् । बचत रकम र वित्त परिचालनका आधारमा आकार सानो वा ठूलो होला, सहकारी संस्थाहरूले नमूना साबित गरेका थुप्रै दृष्टान्त छन् । कुनै समय २२ हजार सेयर सदस्य भएको गुण सहकारी सहित १० वटा सहकारी चलाएका राजेन्द्र शाक्यलाई एकै पटक बचतकर्ताको बचत रकम फिर्ता माग आयो । एकै पटक ठूलो बचत रकम फिर्ताको माग आउँदा उनलाई समस्या त भयो नै तरपनि उनले आफ्नै समुदायमा सहकारी सदस्यहरूसँग सहयोग मागे । उनको भनाइलाई विश्वास गरेर ज्यापु समाज फिर्ता गर्नुपर्ने ठूलो रकमका लागि जमानी बसिदियो । क्रमशः बचत फिर्ता गर्दै जाँदा उनले समस्याको समाधान गरे । एक जना बचतकर्ताले पनि कानूनी कारबाहीको बाटो रोजेनन् । सहकारीका मूल्यमध्ये केही मूल्यलाई अङ्गिकार गरेकाले उनलाई समस्या समाधान गर्दै सहज बन्यो ।
‘सहकारीको विश्वव्यापी सिद्धान्त, मूल्य, मान्यता, संरचना र अभ्यासमा स्पष्ट र सुसङ्गत रूपमा सञ्चालनमा रहेका सहकारीहरूमा खास समस्या छैन, देशैभरी राम्रोसँग सञ्चालनमा रहेका सहकारीहरूको सङ्ख्या धेरै छ । त्यसैले सर्वत्र समस्या छ र बर्बाद नै भयो भन्ने तथ्य होइन । सिद्धान्तबाट विचलित भएर गैरसहकारी क्रियाकलाप गर्दै बचत सङ्कलन एवं दुरुपयोगमा लागि परेका केही गलत नियत बोकेका सहकारीहरूमा भने समस्या देखिएको छ । तिनीहरूमा आज एक प्रकारले भागाभागको स्थिति छ ।
२०४६ सालमा बहुदलीय प्रजातन्त्र आउँदा २०० वटा सहकारी (रेकर्डमा ८००) क्रियाशील रहेकोमा हाल करिब ३१ हजार सहकारी मध्ये १०० हाराहारी मात्रै समस्यामा देखिन्छन् । करिब ४०० वटा विभिन्न कारणले बिग्रने पङ्क्तिमा रहेका छन् । यसरी कूल मिलाउँदा ५०० भन्दा कम सहकारी समस्यामा परेका छन् । २०५८ मा ११२ वटा सहकारी समस्या देखिएको थियो, २०६६ सालमा ओरियन्टल सहकारी लगायत १३३ वटा समस्यामा परेका थिए । सहकारीमा बचत गर्ने कतिपय शेयर सदस्यहरू पनि आफैमा इमान्दार छैनन् । जुन सहकारीले बढी ब्याज दिने भन्छन् त्यसकै प्रलोभनमा परेर बचतकर्ताहरू पनि ठगीमा परेका छन् ।
सहकारी मूल्य मान्यतालाई राम्ररी पालना गरेका सहकारी संस्थाहरू पनि प्रशस्त रहेका छन् । समितिले अध्ययन र छाननबिनकै क्रममा राम्रो सुशासनमा चलेका सहकारी संस्थाहरू, महिला सहकारीकर्मीहरूले चलाएका सहकारी संस्थाहरू र सानाकिसान सहकारी संस्थाहरूसँग प्रतिनिधिमूलक रूपमा छलफल समेत गरेको थियो । ती छलफलबाट नेपालमा सहकारी क्षेत्रबाट प्रशस्त योगदान अपेक्षा र अर्थतन्त्रको खम्बा बनाउन सक्ने सम्भावना अझै छ भन्ने आशा गर्न सकिने अवस्था छ । ती सहकारी स्स्थाहरूले खासगरी ग्रामीण समुदायमा वित्तीय पहुँच पुयाउन अपेक्षित योगदान दिइरहेका छन् र प्रगतिउन्मुख अवस्थामा रहेका छन् ।
केही खराब र व्यक्तिकेन्द्रित सहकारी संस्थाको छविका कारण हजारौं सदस्यकेन्द्रित सहकारी संस्था र तीनका सदस्यहरूले समस्या भोग्नु परेको अवस्था समेत छ । राज्यको दृष्टि नपुगेका कतिपय क्षेत्रमा सहकारी संस्थाले आम नागरिकको सेवा पुर्याइरहेका छन् । यस परिच्छेदमा केही राम्रा चलेका सहकारी संस्थाहरूको वित्तीय विवरण प्रस्तुत गरिएको छ । समस्यामा रहेका सहकारी संस्थाहरू र ती संस्थाको सूचकमा आधारित अनुपात हेर्दा समस्याको पहिचानमा समेत सहयोग पुग्दछ ।
समितिले सुशासनमा चलेका सहकारी संस्थाहरू, महिला सहकारीकर्मीहरूबाट मात्र सञ्चालनमा रहेका सहकारी संस्थाहरू र साना किसान कृषि सहकारी संस्थाहरूसंग गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सहकारी संस्थाहरू र केही थप सक्रिय सहकारी संस्थाहरू गरी कूल १२० वटा सहकारी संस्थाहरूको विवरण अध्ययन गर्दा देहायको अवस्था प्राप्त गर्न सकिन्छ ।
सदस्यहरूसम्म वित्तीय पहुँच विस्तार
समुदायमा आधारित र सदस्यकेन्द्रित भई चलेका केही प्रतिनिधि सहकारी संस्थाको वित्तीय स्थिति
विवरणमा संलग्न सहकारी संस्थाहरू आफ्नो स्थापनाकालदेखि नै समुदायमा आधारित रही सञ्चालनमा रहेका छन् । सदस्यहरूको सेवा नै आफ्नो कर्तव्यका रूपमा बोध गर्दै दिगो सेवाका लागि यी संस्थाहरूमध्ये केहीले नेपाल राष्ट्र बैंकबाट सीमित कारोबारको स्वीकृति लिई सञ्चालनमा रहेका थिए भने २०५७ सालदेखि उल्लिखित संस्थाहरूमध्ये धेरैले सूचकमा आधारित स्तरीकरण कार्यक्रममा सम्बद्ध रही आफ्नो परीक्षण गराई निरन्तर सुधारमा रहेको पाइन्छ । सञ्चालन क्षमता, वित्तीय व्यवस्थापन, सुशासन र प्रभावकारी सेवाका लागि विषयगत संघहरूले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रभावकारी र सार्थक देखिएको पुष्टि यी प्रतिनिधि संस्थाहरूको कारोबारको वर्तमान २०८१ असार मसान्तको वित्तीय स्थितिमा आधारित यो अवस्थाले पुष्टी गरेको छ ।
समुदायमा आधारित र सदस्यकेन्द्रित भई चलेका केही प्रतिनिधि सहकारी संस्थाको वित्तीय स्थिति
विवरणमा संलग्न सहकारी संस्थाहरू आफ्नो स्थापनाकालदेखि नै समुदायमा आधारित रही सञ्चालनमा रहेका छन्। सदस्यहरूको सेवा नै आफ्नो कर्तव्यका रूपमा बोध गर्दै दिगो सेवाका लागि यी संस्थाहरूमध्ये केहीले नेपाल राष्ट्र बैङ्कबाट सीमित कारोबारको स्वीकृति लिई सञ्चालनमा रहेका थिए भने २०५७ सालदेखि उल्लिखित संस्थाहरूमध्ये धेरैले सूचकमा आधारित स्तरीकरण कार्यक्रममा सम्बद्ध रही आफ्नो परीक्षण गराई निरन्तर सुधारमा रहेको पाइन्छ । सञ्चालन क्षमता, वित्तीय व्यवस्थापन, सुशासन र प्रभावकारी सेवाका लागि विषयगत संघहरूले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रभावकारी र सार्थक देखिएको पुष्टि यी प्रतिनिधि संस्थाहरूको कारोबारको वर्तमान २०८१ असार मसान्तको वित्तीय स्थितिमा आधारित यो अवस्थाले पुष्टी गरेको छ ।
(सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदनबाट)
Copyright © 2024 Bikash Media Pvt. Ltd.