लघु, सम्पत्ती र कृषि बीमाको हिस्सा बढ्यो, मोटरको यथावत

  २०८१ असोज २९ गते १०:५५     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा लघु बीमाको हिस्सा ह्वात्तै बढेको छ । साथै सम्पत्ती र कृषि बीमाको हिस्सा पनि वृद्धि भएको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा ७ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बढीको निर्जीवन बीमा व्यवसाय भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । त्यसमध्ये लघु बीमा व्यवसायको १.४४ प्रतिशत रहेकाे छ । अर्थात् ११ करोड ३८ लाख रुपैयाँ बराबरको लघु बीमाको व्यापार भएको प्राधिकरणकाे भनाइ छ ।

गत आर्थिक वर्षको सोही अवधिमा लघु बीमाको व्यवसाय हिस्सा ०.०६ प्रतिशत थियो । अर्थात् गत आवको २ महिनामा ४८ लाख रुपैयाँको लघु बीमाको व्यापार भएको थियो । जबकी गत वर्ष निर्जीवन बीमाको कुल व्यापार ७ अर्ब ८ करोड ५२ लाख रुपैयाँ थियो ।

यसैगरी, चालु आवको २ महिनामा सम्पत्ती बीमाको हिस्सा बढेर २९.६८ प्रतिशत पुगेको छ । निर्जीवन बीमा क्षेत्रमा सम्पत्ती बीमाको हिस्सा सबैभन्दा धेरै छ । गत आवको सोही अवधिमा सम्पत्ती बीमाको हिस्स २६.७५ प्रतिशत थियो । र, मोटर बीमाको हिस्सा २८.०५ प्रतिशत थियो । विगतमा सबैभन्दा ठुलो बजार मोटरको थियो । तर, अब सम्पत्तीले मोटरलाई उछिनेको अवस्था छ । चालु आवको २ महिनामा मोटर बीमाको हिस्सा यथावत अर्थात् २८.०५ प्रतिशत रहेको छ ।

चालु आवको दुई महिनामा मोटर बीमाबाट २ अर्ब २० करोड ४१ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ भने सम्पत्ती बीमाबाट २ अर्ब ३३ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

यस्तै, सामून्द्रिक बीमाको हिस्सा पनि घटेको छ । गत आवको २ महिनामा समून्द्रिक बीमाको हिस्सा ६.६९ प्रतिशत थियो । यस्तो हिस्सा घटेर ५.८८ प्रतिशतमा झरेको छ । यसैगरी, हवाई बीमाको हिस्सा ६.९६ प्रतिशतबाट झरेर ५.७१ ओर्लिएको छ भने इन्जिनियरिङको १२.९१ बाट ११.७६ प्रतिशतमा झरेको छ ।

विविध तर्फ विविध १३.५३ प्रतिशत १२.३४ प्रतिशतमा झर्दा कृषिको भने सामान्य वृद्धि देखिएको छ । गत आवको दुई महिनामा कृषि बीमाको हिस्सा ५ प्रतिशत थियो । यस्तो हिस्सा वृद्धि भएर अहिले ५.१० प्रतिशतमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.