त्रिभुवन विमानस्थल १४ घण्टा मात्रै सञ्चालन, व्यवसायीलाई व्यापार गुम्ने चिन्ता

  २०८१ कार्तिक १ गते १७:५१     ऋतु

काठमाडौं । मुलुकको पहिलो र ‘फुलफ्लेज’ मा सञ्चालन भइरहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ देखि ‘सेमी फुलफ्लेज’ मा सञ्चालन हुने भएकाे छ ।

त्रिभुवनसहित देशभरिका विमानस्थलहरूको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गतेदेखि त्रिभुवन विमानस्थल प्रत्येक दिन १४ घण्टामात्र सञ्चालन हुने समय सार्वजनिक गरिसकेको मात्र छैन, त्यो दिनदेखि नेपाल आउने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजहरूको उडान तालिका पनि लगभग आधाजस्तो कटौती गरिदिइसकेको छ ।

उडान कटौती गरिएको जानकारी प्राधिकरणले सबै वायुसेवा कम्पनीहरूलाई पठाइसकेको छ । प्राधिकरणले आधा उडान कटौती गरिदिएपछि नेपाल आउने योजना बनाएका, आउने तयारीमा रहेका विदेशी पर्यटकमात्र नभई यहाँबाट आफ्ना देश फर्किने पर्यटकका साथै विदेश पढ्न, काम गर्न र घुम्न जाने नेपाली यात्रुले सास्ती पाउने निश्चितजस्तै देखिएको छ ।

पर्यटन व्यवसायीहरू ५० प्रतिशत उडान कटौती गरिएपछि पर्यटक आवागमन मात्र नभई विदेश जाने नेपाली यात्रु पनि धेरै नै प्रभावित हुने बताउँछन् । उडान नै कटौती भएपछि आवागमन नै आधामा झर्ने उनीहरूको गुनासो छ । उड्डयन प्राधिकरणले यो तालिकालाई अझै मिलाउन सके केही राहत मिल्ने व्यवसायीहरूको अनुमान छ ।

त्रिभुवन विमानस्थल हाल दैनिक २१ घण्टा सञ्चालन हुँदै आएको छ । यो भनेको बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म हो । बिहान ३ बजेबाट ६ बजेसम्म भने विमानस्थल बन्द हुने गर्छ । अब कात्तिक २३ गतेको नयाँ सञ्चालन तालिकाअनुसार विमानस्थल बिहान ६ बजेटबाट राति ८ बजेसम्म मात्र चल्ने छ । यो भनेको १४ घण्टा हो ।

आखिर किन त्रिभुवन विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालन हुँदैछ ? विदेशी वायुसेवाका नेपाल उडान किन आधा कटौती गरियो ? आउनूहोस् यसबारे चर्चा गरौं ।

प्राधिकरणका अनुसार नेपाल आउने विदेशी वायुसेवा कम्पनी तथा यहाँबाट विदेश जाने नेपाली वायुसेवा कम्पनीका गरी कात्तिक २३ देखि लगभग ५० प्रतिशत उडान कटौती गरिएको छ ।

ती वायुसेवाले सातामा ४ सय १८ उडान गरिरहेका छन् । कात्तिक २३ देखि भने त्यसमा १ सय २३ कटौती भएर सातामा २ सय ९५ मात्र उडान हुनेछन् । जसअनुसार नेपाल वायुसेवा निगमको नयाँदिल्लीका लागि साताको १४ उडान गरिरहेकोमा अब ७ मा झरेको छ । त्यस्तै, कतार एयरवेजले काठमाडौंबाट दोहा सातामा २८ उडान गरिरहेकोमा कटौती गरेर १४ वटा उडानमात्रै गर्नेछ ।

ओमानको सलाम एयरले काठमाडौंबाट मस्कट सातामा तीन उडान गरिरहेकोमा सबै कटौती गरिएको छ ।

के हुँदैछ त्रिभुवन विमानस्थलमा ?

खासमा नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा ठूलो भौतिक पूर्वाधार निर्माण गर्न लागेको छ । सोही कारण विमानस्थल दिनहुँ १० घण्टा बन्द गरी १४ घण्टामात्र सञ्चालन गर्न लागिएको हो ।

उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्यारालल ट्याक्सी वे, जहाज एप्रोन, पार्किङलगायत निर्माण भइरहेका कारण विमानस्थल सञ्चालन अवधि १० घण्टा कटौती गरिएको उनले जानकारी दिए ।

उनका अनुसार धावनमार्गको उत्तरपट्टिबाट दक्षिण कोटेश्वरसम्म धावनमार्ग सँगसँगै प्यारालल ट्याक्सी वे निर्माण हुनेछ । प्यारालल ट्याक्सी वे बनेपछि जहाजहरू उडान गर्नलाई धावनमार्गबाट नभई प्यारालल ट्याक्सी वेबाट दक्षिणपट्टि कोटेश्वरसम्म पुग्छन् र त्यहाँबाट उडान भर्छन् ।

अहिले भने जहाजहरू उड्नका लागि धावनमार्गबाटै गुडेर कोटेश्वरसम्म जान्छन् र उत्तर फर्केर उडान भरिरहेका छन् ।

प्रवक्ता भुलका अनुसार हाल २१ घण्टा नै विमानस्थल सञ्चालन हुँदा शतप्रतिशत नै उडान हुन्छ । ‘१० घण्टा बन्द हुँदा त्यसको प्रभाव पर्छ नै, यसले ३० प्रतिशत उडान घट्छ, यसो हुने हुँदा हामीले प्रत्येक वायुसेवा कम्पनीलाई पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट म्यानेज गर्न भनेका छौं,’ उनले भने ।

त्यसैअनुसार, थाई एयर एसिया, फ्लाई दुबई, जजिरा एयरवेजले भैरहवाबाट पनि उडान भर्दैछन् । यसमा जजिरा र फ्लाई दुबईलाई उडान अनुमति दिइसकिएको छ । प्रवक्ता भुलका अनुसार थाई एयर एसियाको उडान अनुमति भने प्रक्रियामै छ । बाँकी उडान भैरहवा र पोखराबाट गर्ने भन्ने छ ।

‘तर, हामीले सोंचे झैं एयरलाइन्सहरू पोखरा र भैरहवा गएनन्, पोखरा र भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानमा २५ प्रतिशत ग्राउन्ड ह्यान्डलिङ चार्जबाहेक अन्य सम्पूर्ण चार्जहरू २०८२ सालसम्म निःशुल्क गर्ने निर्णय गरेका छौं,’ उनले भने ।

प्राधिकरणका अनुसार अहिलेका लागि कात्तिक २४ देखि फ्लाई दुबईले दुबईबाट भैरहवा दैनिक उडान गर्दै छ । कात्तिक १२ देखि जजिराले साताको ३ दिन कुवेतबाट उडान भर्दैछ । सोही दिनदेखि थाई एयर एसियाले सातामा ४ वटा उडान गर्ने भने पनि अझै टुंगो लागेको छैन ।

व्यवसायीले भने सरकारसँग १० को सट्टा ८ घण्टा बन्द गर्न माग गरेका छन् । तर, यो अन्तर्राष्ट्रिय बोलपत्र भएको हुँदा यसलाई तलमाथि गर्न नमिल्ने प्रवक्ता भुलले बताए ।

‘टाइमलाइनभन्दा अघिपछि गर्दा ठेकेदारलाई क्षतिपूर्ति दिनुपर्ने हुन्छ,’ उनले भने, ‘अहिलेको हाम्रो लक्ष्य भनेको त्रिभुवन विमानस्थलको क्षमता अभिवृद्धि हो, यसका लागि कटौती हुने उडान भैरहवा र पोखरा विमानस्थलबाट गर्नूस् भनेर वायुसेवा कम्पनीहरूलाई विकल्प खुला गरेका छौं ।’

त्रिभुवन विमानस्थलबाट घटेको ३० प्रतिशत उडान पोखरा र भैरहवाबाट गर्ने प्रयास भइरहेको प्रवक्ता भुलको भनाइ छ । सकेसम्म त्रिभुवन विमानस्थलमा भएको १४ घण्टाको समय सम्पूर्ण वायुसेवा कम्पनीलाई सहज हुने गरी निर्धारण गरिएको उनले बताए ।

‘दैनिक ३ देखि ४ वटा उडान हुने वायुसेवा कम्पनीको उडान कटौती भएको छ, हामीले राति १० बजेबाट बिहान ३ बजेसम्म हुने उडान पूर्णरूपमा लिन सक्दैनौं,’ उनले भने, ‘तर, अन्य वायुसेवा कम्पनीहरूको उडान हामीले सकेसम्म म्यानेज गर्ने प्रयासमा छौं ।’

उनका अनुसार कात्तिक २३ देखि त्रिभुवन विमानस्थल १० घण्टा बन्द भएर आगामी चैत १८ गतेसम्म विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालनमा रहन्छ । ‘त्यसपछि विमास्थल पूर्णरूपमा सञ्चालनमा आउँछ, विमानस्थल सञ्चालनमा आए पनि साइटमा अन्य काम भने जारी रहन्छ,’ प्रवक्ता भुलले भने ।

उनका अनुसार अहिले एउटा जहाज उड्न ३ मिनेट लाग्छ भने धावनमार्ग निर्माण भइसकेपछि एक मिनेटमै उड्न सक्छ । अनि, धावनमार्गको क्षमता अहिलेभन्दा १०-१५ प्रतिशत बढी हुनेछ ।

के भन्छन् पर्यटन व्यवसायी ?

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया पर्यटनको मुख्य सिजनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५ महिना दैनिक १० घण्टाका दरले बन्द हुँदा पर्यटन क्षेत्र प्रभावित हुने बताउँछन् ।

‘फ्लाइट घटेपछि सप्लाई घट्यो, नेपालको बजारबाट माग त उत्तिकै छ,’ उनी भन्छन्, ‘आपूर्ति घटेपछि फेयर डबल हुन सक्छ, टुरिस्ट अराइभलमा लास्ट मिनेट बुकिङ गर्नेहरू लगभग शून्य नै हुन्छन्, किनभने फ्लाइट फेयर महँगो हुन्छ, समग्र पर्यटनमा असर पर्छ ।’

सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प राखे पनि सबै एयरलाइन्सहरूलाई सहज हुन्छ भन्ने नभएको उनी बताउँछन् ।

‘यदि सरकारले एयरलाइन्सहरूलाई कन्भिन्स गरेर ती दुई विमानस्थलमा लैजान सक्यो भने ती विमानस्थलको स्थिति पनि राम्रै हुन्छ,’ अध्यक्ष थपलिया भन्छन्, ‘ती विमानस्थलमा प्लेन पनि लैजान नसक्ने र त्रिभुवन विमानस्थलमा पनि उडान कटौती हुँदा डिजास्टर नै हुन्छ ।’

सन् २०२३ मा १० लाख १४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांकले देखाउँछ । २०२४ मा १३ लाख २० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने प्रारम्भिक अनुमान छ ।

अध्यक्ष थपलिया ‘एयर कनेक्टिभिटी’ बढाउन नसक्दा बर्सेनि १० देखि १२ लाख पर्यटक भित्र्याएरै चित्त बुझाउनुपरेको बताउँछन् । पर्यटक बढाउन अन्तर्राष्ट्रिय उडान बढाउनेदेखि पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम लगायत निकायलाई सक्रिय बनाउनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा व्यापक प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै, प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)-नेपाल च्याप्टरका अध्यक्ष खेमराज लकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चले भने पर्यटन क्षेत्र त्यति धेरै प्रभावित नहुने बताउँछन् ।

‘पर्यटनका लागि कनेक्टिभिटी मुख्य कुरा हो, अब १० घण्टा बन्द हुँदा उडान प्रभावित त हुने नै भए,’ उनी भन्छन्, ‘त्यसको विकल्पका रूपमा केही एयरलाइन्सहरूले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान भर्ने भन्ने भएकाले त्यसले केही भरपाइ गर्न सक्छ ।’

नयाँ बनेका पोखरा र भैरहवा जस्ता विमानस्थलबाट उडान अवतरण हुनु नेपालका लागि अवसर पनि भएको उनी बताउँछन् । ‘यी एयरपोर्टहरूलाई वैकल्पिक रूपमा उपयोग गर्न सक्यौं र सर्ट हलका फ्लाइटहरू परिचालन गर्न सक्यौं भने यसले खासै असर पार्दैन । त्रिभुवन विमानस्थललाई पर्ने लोड पनि कम हुन्छ,’ अध्यक्ष लकाई भन्छन् ।

उनका अनुसार अहिले धेरै माउन्टेन फ्लाइट रामेछापबाट भइरहेका छन् । काठमाडौंबाट रामेछाप जाने बाटोको अवस्था राम्रो छैन । बाटोकै कारण त्यहाँ पुग्ने धेरै पर्यटकलाई ‘ट्रमा’ जस्तै भएको उनी बताउँछन् ।

‘हामीसँग विकल्पमा जनकपुर विमानस्थल पनि छ, यसको पूर्वाधार सबै राम्रो छ,’ अध्यक्ष लकाई भन्छन्, ‘केही फ्लाइट जनकपुरबाट गर्ने हो भने पनि धेरै सहज हुन्छ, हाम्रा स्रोतहरूलाई वितरण गर्‍याे भने पर्यटकको अनुभवमा पनि विविधता आउँछ र भएकै संरचना राम्रोसँग चल्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.