बाढीको चोटमा बीमकको मलहम, बीमितलाई एडभान्स भुक्तानी

  २०८१ कार्तिक १ गते १८:२१     लक्ष्मण लम्साल

काठमाडाैं । बाढी-पहिरोका कारण बीमा कम्पनीहरूलाई करिब ९ अर्ब रुपैयाँ आर्थिक दायित्व पर्ने भएको छ । बाढी-पहिरोका कारण बीमा कम्पनीमा ८ अर्ब ९८ करोड ३० लाख रुपैयाँ बढीको दाबी पेस भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

असोजको दोस्रो साता अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण अरबौं रुपैयाँको क्षति भएको थियो । त्यसमध्ये उक्त रकम बराबरको दाबी बीमा कम्पनीहरूमा पेस भएको प्राधिकरणले उल्लेख गरेको छ ।

प्राधिकरणका अनुसार ३ हजार २४४ वटा दाबी कम्पनीमा परेको छ । जसमध्ये ९७ वटा दाबीको १७ करोड २८ लाख रुपैयाँ कम्पनीहरूले बीमितलाई भुक्तानी पनि दिइसकेको जनाएका छन् ।

जसमध्ये शिखर इन्स्योरेन्स्ले १७ करोड २४ लाख, हिमालयन एभरेष्टले २३ हजार , नेको इन्स्योरेन्सले ६६ हजार, सानिमा जिआईसी इन्स्योरेन्सले २ लाख १६ हजार र प्रभु इन्स्योरेन्सले ११ हजार गरी कुल १७ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

कुन कम्पनीमा कति दाबी पेस ?

सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । सिद्धार्थ प्रिमियरमा १ अर्ब ९५ करोड २९ लाख रुपैयाँको ४६१ वटा दाबी पेस भएको छ । यसैगरी, दी ओरिएन्टल इन्स्योरेन्समा १ अर्ब ४५ करोड ६८ लाख रुपैयाँको दाबी पेस हुँदा हिमालयन एभरेष्टमा १ अर्ब ८ करोड ८६ लाख, नेको इन्स्योरेन्समा ९६ करोड ८५ लाख, शिखरमा ९३ करोड ३६ लाख र सगरमाथा इन्स्योरेन्समा ६६ करोड १३ लाख रुपैयाँ दाबी पेस भएको छ ।

५२ वटा जिल्लाबाट दाबी परेको प्राधिकरणले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट दाबी परेको छ । काठमाडौंबाट मात्रै ३ अर्ब ९३ करोड ९९ लाख रुपैयाँको दाबी पेस हुँदा ललितपुरबाट २ अर्ब २७ करोड २१ लाख, चितवनबाट ६४ करोड ५८ लाख, मकवानपुरबाट ५१ करोड ७२ लाख र भक्तपुरबाट ४२ करोड ४२ लाख रुपैयाँ बीमा दाबी पेस भएको छ ।

छिटो भुक्तानी दिने तयारी

बाढी-पहिरोले ठूलो धनजनको क्षति भएपछि नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई दाबी भुक्तानी छिटो गर्न निर्देशन नै दिएको थियो । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर दाबी भुक्तानी सकभर छिटो गर्न आग्रह गरेका थिए ।

प्राधिकरणको निर्देशन बमोजिम आफूहरू दाबी भुक्तानीका लागि तयार भएको बीमा कम्पनीहरूको भनाइ छ । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले दाबी भुक्तानीका लागि बीमा कम्पनीहरू तयार रहेको बताए । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीईओ समेत रहेका क्षेत्रीले बाढी-पहिरोपछि दाबी पेस हुन थालेको र लगत्तै सबै सर्भेयरहरूलाई सर्भेका लागि खटाएको जानकारी दिए ।

सर्भे रिपोर्ट आउनासाथ दाबी भुक्तानी धमाधम दिने उनले बताए । ‘अहिलेसम्म कम्पनीहरूले १७ करोड दाबी भुक्तानी गरिसकेको अवस्था छ । सर्भे रिपोर्ट आएसँगै दाबी भुक्तानी धमाधम दिन्छाैं, ’उनले भने ।

उनले सर्भे रिपोर्ट ढिला आउने भएको अवस्थामा कम्पनीहरूले एडभान्स भुक्तानी पनि दिएको बताए ।

प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमाले विपदको घाउमा मलहम लगाउने गरेको बताए । नेपालमा बारम्बार आउने गरेका बाढी-पहिरो तथा भूकम्पले मानिसहरूको सम्पत्तिमा पुर्‍याएको क्षतिलाई उल्लेख गर्दै उनले यस्तो क्षतिको भरपाइ बीमा कम्पनीहरूले गर्ने बताए । यसले गर्दा पनि सबैले आफ्नो सम्पत्तिको बीमा गरेर बस्नु पर्ने धारणा व्यक्त गरे ।

प्राधिकरणका प्रवक्तासमेत रहेका सुवेदीले भने, ‘विपद भनेको कुन बेला आउँछ थाहा हुँदैन । प्राकृतिक विपदले निम्त्याउने आर्थिक क्षतिबाट बच्न बीमा गर्नुपर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.