सोह्रश्राद्ध र बाढीले घरजग्गा कारोबार सुस्तायो, तिहारपछि बुम हुने आशा

  २०८१ कार्तिक २ गते १५:१८     लक्ष्मण लम्साल

काठमाडाैं । यस वर्ष साउन महिनामा घरजग्गाको कारोबार लयमा आएको भएतापनि त्यसपछि निरन्तर ओरोलो लागेको छ । साउन महिनामा गत आर्थिक वर्षकाे  सोही महिनाको तुलनामा घरजग्गाको कारोबार बढेको भएतापनि भदौ र असोज महिनामा यस्तो कारोबार निरन्तर खच्किएको हो ।

कारोबारमा सुस्तता आउँदा त्यसबाट संकलन हुने राजस्व पनि निरन्तर घटिरहेको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार चालु आवको पहिलो त्रैमास (साउन, भदौ र असोज) मा १ लाख ७ हजार १६० वटा लिखत पास भएको छ । गत आवको पहिलो त्रैमासमा १ लाख १४ हजार ८३० वटा लिखत पास भएका थिए । यस वर्ष गत वर्षभन्दा ७ हजारवटा कम लिखत पास भएको छ ।

मासिक विवरण हेर्ने हो भने चालु आवको साउनमा घरजग्गाको कारोबार चलायमान भएको देख्न सकिन्छ । चालु आवको साउनमा ४३ हजार ८३५ वटा लिखत पारित भएको छ । गत आवको साउनमा ३९ हजार २६३ वटामात्र लिखत पारित भएको छ ।

साउनमा बढेको कारोबार भदौ र असोजमा निरन्तर घटेको छ । चालु आवको भदौमा ३२ हजार ७९८ वटा लिखत पारित भएको छ । गत अवको भदौमा ३५ हजार ६८६ वटा लिखत पारित भएको थियो ।

यसैगरी, असोज महिनामा ३० हजार ५२७ वटा लिखत पारित भएको छ । गत वर्षको असोजमा ३९ हजार ८८१ वटा लिखत पारित भएको थियो ।

कारोबार सुस्ताउँदा राजस्व पनि गिरावट

घरजग्गाको कारोबार सुस्ताउँदा त्यसबाट संकलन हुने राजस्वमा पनि कमी आएको छ । चालु आवको पहिलो त्रैमासमा १० अर्ब ६५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको त्रैमासमा १० अर्ब ४ करोड ३० लाख रुपैयाँ राजस्व संकलन भएको थियो । अर्थात चालु आवको पहिलो त्रैमासमा घरजग्गाको कारोबारबाट संकलन हुने राजस्व करिब ४० करोड रुपैयाँले कमि आएको छ ।

साउन महिनामा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको थियो । गत आवको सोहि अवधिमा २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यसरी हेर्दा साउनमा कारोबार पनि बढेको र सोहि अनुसार राजस्व पनि ह्वात्तै बढेको देखिन्छ ।

तर, भदौ र असोज महिनामा घरजग्गाबाट संकलन हुने राजस्वमा निरन्तर गिरावट आएको देखिन्छ । चालु आवको भदौमा ३ अर्ब करोड २ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । याे रकम गत आवको भदौ महिनाको भन्दा ४ करोड बढी हो ।

यसैगरी, असोज महिनामा ३ अर्ब ८ करोड १२ लाख राजस्व संकलन भएको छ । जुन साउन र भदौ महिनाको भन्दा कम हो । यस्तै, गत आवको असोजको भन्दा एक अर्ब रुपैयाँले राजस्व घटेको छ ।

किन घट्यो घरजग्गाको कारोबार ?

घरजग्गा व्यावसायीहरूका अनुसार भदौ र असोज कारोबार सुस्त हुने सिजन नै हो । यो समयमा विषेशगरी दुइटा कारणले घरजग्गाको कारोबार सुस्ताउने गरेको व्यवसायीहरू बताउँछन् । नेपाल जग्गा तथा आवास विकास महासंघका वरिष्ठ उपाध्यक्ष दीपक मल्हाेत्राले यो समयमा बाढी पहिरो जाने र साेह्र श्राद्धकाे समय भएकाले कारोबार सुस्त हुने बताए ।

उनका अनुसार स्रोह्र श्राद्धकाे समयमा जग्गाको कुनै कारोबार नै हुँदैन । यस वर्ष असोजको २ गतेदेखि १६ गतेसम्म सोह्र श्राद्ध परेको थियो । उक्त समयमा कारोबार प्राय: शून्य हुने उनले बताए ।

गत वर्षभन्दा यस वर्ष बाढी-पहिरो धेरै गएको र त्यसले पनि कारोबारमा असर गरेको वरिष्ठ उपाध्यक्ष मल्हाेत्राले बताए । यी दुई कारणले गर्दा असोजमा कारोबार ह्वात्तै घटेको उनको भनाइ छ ।

गत आवको असोजमा कारोबार बढेको थियो, त्यस वर्ष यी कुराले असर नगरेको हो भन्ने प्रश्नमा उनी भन्छन्, ‘गत वर्ष पनि यसले असर गर्‍याे । तर, कम गर्‍याे । गत वर्ष असोज १३ देखि २७ गतेसम्म सोह्र श्राद्ध थियो । १३ गतेसम्म कारोबार राम्रो भएको हुनसक्छ । बाढी-पहिरो पनि आएको थिएन । यसले पनि मद्दत गर्‍याे ।’

कानुनी अल्झनका बीच तिहारपछि कारोबार बढ्ने आशा

वरिष्ठ उपाध्यक्ष मल्हाेत्राले घरजग्गाको क्षेत्रमा केही कानुनी अल्झन रहेको भएतापनि तिहारपछि कारोबार बढ्ने आशा व्यक्त गरे । उनले भने, ‘तिहारपछि कारोबार बढ्दै जान्छ । सिजन पनि हो ।’

तिहारपछि घरजग्गाको कारोबार बढ्ने केही आधारहरू रहेको उनी बताउँछन् । उनका अनुसार विगत ३ वर्षदेखि सुस्ताएको र मानिसहरूले घरजग्गाको भाउ घट्छ भनेर वेटिङ गरिरहेको उल्लेख गर्दै उनले यसरी वेटिङ गरेका मनिसहरूले अब घरजग्गा खरिद गर्ने बताए । यसैगरी, तिहारपछि घरजग्गा किन्ने, घर बनाउने सिजन भएकाले काराबार बढ्ने आशा उनले व्यक्त गरे ।

यसैक्रममा वरिष्ठ उपाध्यक्ष मल्हाेत्राले घरजग्गा व्यवसायमा नेपाल राष्ट्र बैंकले केही कानुनी अल्झनलाई हटाउनुपर्ने धारणा राखे । विकासन्यूजसँग कुरा गर्दै उनले राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत घरजग्गा क्षेत्रको ३ वटा कानुनी अड्चन फुकाउनु पर्ने बताए ।

लोन टु भ्यालु रेसियो, घरजग्गाको जोखिम भार र मासिक किस्तामा वैध आम्दानीको ७० प्रतिशतवाला व्यवस्थालाई सच्याउनु पर्ने उनको भनाइ छ ।

घरजग्गामा लोन टु भ्यालु रेसियो ६० प्रतिशत रहेको बताउँदै वरिष्ठ उपाध्यक्ष मल्हाेत्राले यसलाई कम्तीमा पनि ७० प्रतिशत बनाउनु पर्ने बताए । यसैगरी, जोखिम भार १२५ प्रतिशतलाई घटाएर १०० प्रतिशतमा झार्नुपर्ने महासंघको माग रहेको उनको भनाइ छ ।

यसैगरी, घरजग्गा खरिद गर्ने जनताले बैंकलाई तिर्ने मासिक किस्ता वैध आम्दानीको ७० प्रतिशत हुनुपर्ने व्यवस्था रहेको बताउँदै उनले यसलाई बढाउनुमा  जाेड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.