रविलाई रिहाइ गर्न सीडीओमार्फत दबाब, सहकारी ठगीमा राजनीतिक रङ्ग

  २०८१ कार्तिक ४ गते १०:३५     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रक्राउ भएसँगै यसले सडक तताएको छ । विशेषगरी रास्वपाका नेता तथा कार्यकताहरू उनको रिहाइको माग गर्दै सडकमा उत्रिएका छन् । शनिबार बिहानैदेखि देशका विभिन्न ठाउँमा रास्वपाका कार्यकर्ताले उनको रिहाइको माग गर्दै विरोध गरिरहेका छन् ।

सडकमा विरोधसँगै रास्वपाले रविको रिहाइको माग गर्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ) लाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । रास्वपाको केन्द्रीय सचिवालयले शनिबार राति पत्र पठाउँदै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन निर्देशन दिएको हो ।

रास्वपाले प्रत्येक जिल्लाबाट सय/सय जना नेता/कार्यकर्ता पोखरा आउन पनि निर्देशन दिएको छ । सरकारले रविलाई सहकारी ठगी कसुरमा पुर्पक्षमा पठाउने सम्भावना रहेकाले आन्दोलनको दबाबबाटै त्यहाँसम्म पुग्न नदिने रास्वपाको योजना छ ।

अहिले प्रहरी हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा लामिछानेलाई पक्राउ गरिएको हो । सहकारी ठगी प्रकरण भएपनि यसलाई रास्वपाले राजनीतिक रङ्ग दिएको छ । सरकारले राजनीतिक प्रतिशोध साँध्न उनलाई पक्राउ गरेको रास्वपाको भनाइ छ ।

गोर्खा मिडियाका अध्यक्ष जीबी राई र तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले पोखराको सूर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याएर मिलीजुली खर्च गरेको आरोप छ । सहकारी ठगी प्रकरण भएपनि यसलाई राजनीतिक रङ्ग दिन थालिएको छ ।

सहकारीको बचत ठगी विषयमा छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले लामिछानेको अप्रत्यक्ष संलग्नता रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । सहकारीबाट रकम ल्याउनमा उनको भूमिका नरहे पनि सहकारीबाट आएको रकम खर्च गरेर उनको अप्रत्यक्ष संलग्नता रहेको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.