ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य, धेरै भ्रष्टाचार गर्ने व्यक्ति पनि उनै : लामिछाने

  २०८१ कार्तिक ४ गते १४:३०     विकासन्युज

काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन् ।

आइतबार कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । आफूलाई जस्तै डेढ वर्ष लगाएर प्रधानमन्त्री ओलीमाथि छानविन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्त केपी ओली हुने उनको आरोप थियो ।

सभापति लामिछानेले ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य भएको बताए । उनले सरकारबिरुद्ध देशभरबाट सबैजना आन्दोलनमा उत्रिन आह्वानसमेत गरे ।

उनले आफूलाई अदालतले न्याय दिनेमा ढुक्क रहेकाे दाबीसमेत गरे । उनले आफूलाई झुटो मुद्दामा फसाइएको भन्दै अदालतले न्याय दिने पनि बताए ।

सहकारीको रकम ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो ।

पोखरामा रास्वपाका नेता तथा कार्यकर्ताको संख्या बढेर आन्दोलनले उग्र रूप लिने संकेत पाएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले निषेधाज्ञा जारी गरेको छ ।

रास्वपाले सीडीओ कार्यालयले तोकेको निषेधित क्षेत्रमा प्रदर्शन गरेको छ । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.