लामिछाने पक्राउ विरुद्धको आन्दोलनले सेयर बजारमा गिरावट, ८ अर्ब बढीको कारोबार

  २०८१ कार्तिक ४ गते १५:१२     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि देशभर आन्दोलन चर्किँदा त्यसको प्रभाव पुँजी बजारमा परेको छ । दशैंपछि निरन्तर उकालो लागेको पुँजी बजार आज भने भारी अंकले गिरावट आएको लगानीकर्ताहरू बताउँछन् । लामिछाने पक्राउ पर्नु पुँजी बजारसँग सम्बन्धित विषय नभएपनि लगानीकर्तामा भने त्यसको नकारात्मक प्रभाव रहेको लगानीकर्ताहरूको भनाइ छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.७२ प्रतिशत अर्थात् ४७.४४ अंकले घटेर १ हजार ६९७.९१ अंकमा बन्द भएको छ । आइतबार अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि सेयर बजार राताम्य छाएको छ । आज दिनभरिमा ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार कित्ता सेयर ८८ हजार ७१४ पटक खरिदबिक्री हुँदा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आइतबार २२६ कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात् ९७.३० अंक घटेर ८७५.७० रुपैयाँमा झरेको छ । यस्तै, गुडविल फाइनान्सको ८.४१ प्रतिशत अर्थात् १००.९० रुपैयाँ घटेर १ हजार ९९ रुपैयाँमा झरेको नेप्सेले जनाएको छ ।

तर, आज १८ कम्पनीको सेयर मूल्य भने बढेको देखिन्छ । भारी अंकले गिरावट आएको बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् २०९.९० रुपैयाँ बढेर २ हजार ३०८.९० रुपैयाँ पुगेको छ । यस्तै, न्यादी ग्रुप पावर कम्पनीको ९.८९ प्रतिशत अर्थात् ४७ रुपैयाँ बढेर ५२२ रुपैयाँ पुगेको छ ।

आज गुडविल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४५ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, कुमारी बैंकको ३७ करोड ८७ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेको तथ्याङ्क छ ।

आइतबार बैंकिङ समूह १.०२ प्रतिशत, विकास बैंक समूह २.३४ प्रतिशत, फाइनान्स समूह ४ प्रतिशत, होटल तथा पर्यटन समूह २.२३ प्रतिशत, जलविद्युत समूह २.१४ प्रतिशत, लगानी समूह १.८९ प्रतिशत, जीवन बीमा समूह २.४६ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह २.०५ प्रतिशत, लघुवित्त समूह १.५२ प्रतिशत, निर्जीवन बीमा समूह १.५२ प्रतिशत, अन्य समूह १.५० प्रतिशत र व्यापार समूह १.८६ प्रतिशत घटेको छ । म्युचुअल फण्ड समूह भने स्थिर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.