३ वर्षपछि एकल अंकमा झर्‍यो सेयर कर्जाको ब्याज, साढे १२% बढ्यो कर्जा

  २०८१ कार्तिक ४ गते १७:२८     विकासन्युज

काठमाडौं । दुई महिनामा सेयर धितो कर्जा साढे १२ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि सेयर धितो कर्जामा सीमा हटाएपछि दुई महिनाको अवधिमा १२.५० प्रतिशत अर्थात ८ अर्ब ७९ करोड ६३ लाख रुपैयाँ सेयर कर्जा बढेको हो ।

गत भदौसम्म वाणिज्य बैंकहरूले ७९ अर्ब १४ करोड १० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । जबकि दुई महिनाअघि अर्थात असारसम्म ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए ।

दुई महिनाको अवधिमा सेयर धितो कर्जा प्रवाहमा नेपाल एसबीआई बैंक आक्रामक देखिन्छ । असारको तुलनामा भदौमा यस बैंकको सेयर कर्जा ११५.६० प्रतिशत बढेर ४३ करोड ४६ लाख रुपैयाँ लगानी गरेको हो । असारसम्म बैंकको सेयर धितो कर्जा २० करोड १५ लाख रुपैयाँ थियो ।

यस्तै, माछापुच्छ्रे बैंकको ८१.६१ प्रतिशत बढेर ८४ करोड ८२ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५७.५४ प्रतिशत बढेर २ अर्ब ९२ करोड रुपैयाँ, कुमारी बैंकको ५०.८५ प्रतिशत बढेर ६ अर्ब ६० करोड रुपैयाँ, एनएमबी बैंकको ४९.२० प्रतिशत बढेर १ अर्ब ४६ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।

यस्तै, प्राइम बैंकको ३० प्रतिशत बढेर ५ अर्ब २७ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको २८.६५ प्रतिशत बढेर ९ अर्ब ६७ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २३.७७ प्रतिशत बढेर ७ अर्ब १६ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १७.९४ प्रतिशत बढेर ३ अर्ब ९९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार सिटिजन्स बैंकको ९.७४ प्रतिशत बढेर ५ अर्ब २७ करोड रुपैयाँ, सानिमा बैंकको ९.२० प्रतिशत बढेर १ अर्ब ८० करोड रुपैयाँ, नेपाल बैंकको ७.६४ प्रतिशत बढेर ७ अर्ब २९ करोड रुपैयाँ र एभरेष्ट बैंकको०.८३ प्रतिशत बढेर २ अर्ब ४ करोड रुपैयाँ सेयर कारोबारका लागि कर्जा प्रवाह गरेका छन् ।

तर, असारदेखि भदौसम्म ६ वटा बैंकको सेयर धितो कर्जा भने घटेको देखिन्छ । यसअवधिमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको १८.९७ प्रतिशत घटेर ३ अर्ब २१ करोड रुपैयाँ सेयर कर्जा घटेको छ ।

यस्तै, हिमालयन बैंकको ८.८५ प्रतिशत घटेर १ अर्ब ८३ करोड रुपैयाँ, नबिल बैंकको ७.८७ प्रतिशत घटेर १० अर्ब ५२ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४.१९ प्रतिशत घटेर ४ अर्ब ८ करोड रुपैयाँ, प्रभु बैंकको २.८१ प्रतिशत घटेर ३ अर्ब ९ करोड रुपैयाँ र कृषि विकास बैंकको ०.६१ प्रतिशत घटेर १ अर्ब ५८ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

३ वर्षपछि एकल अंकमा ब्याजदर

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू ब्याजदर निरन्तर घटाउँदै आएका छन् । तर, ३ वर्षपछि भने सेयर धितो कर्जाको ब्याजदर एकल अंकमा झरेको छ । राष्ट्र बैंकका अनुसार भदौमा बैंकहरूको सेयर धितो कर्जाको ब्याजदर औसत ९.९० प्रतिशत छ । यसअघि २०७८ पुसमा बैंकहरूको सेयर कर्जाको ब्याजदर ९.४१ प्रतिशत थियो ।

यस अवधिमा अधिकतम १४.५८ प्रतिशत पुगेको सेयर कर्जाको ब्याजदर २ वर्ष ९ महिनापछि भने पुनः एकल अंकमा झरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.