विश्व बजारमा तहल्का पिट्दै भारतीय गाडी, सबैभन्दा बढी निर्यात गर्ने गाडी बन्यो मारुती सुजुकी

  २०८१ कार्तिक ५ गते १०:२२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०२४/२५ को पहिलो त्रैमासमा भारतबाट सवारीसाधन निर्यात वार्षिक आधारमा १४ प्रतिशतले बढेको छ ।

मुख्यतया यात्रुवाहक सवारी र दुई पाङ्ग्रे सवारीसाधनको कन्साइमेन्ट बढेकाले कुल निर्यात बढेको सवारी उत्पादकहरूको संस्था सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम) को तथ्यांकले देखाएको छ ।

सियामको तथ्यांकअनुसार भारतको सवारीसाधन निर्यात अघिल्लो वर्षको यही अवधिमा २२ लाख ११ हजार ४ सय ५७ युनिटको तुलनामा अप्रिल–सेप्टेम्बरमा १४ प्रतिशतले बढेर २५ लाख २८ हजार २ सय ४८ इकाइ पुगेको छ ।

सियामका अध्यक्ष शैलेश चन्द्रले भने, ‘ल्याटिन अमेरिका र अफ्रिकाजस्ता बजार जहाँ कुनै न कुनै कारणले सुस्तता थियो, अहिले स्थितिमा सुधार आएको छ । जसका कारण निर्यातको आँकडा बढेको छ ।’

विभिन्न अफ्रिकी देश र अन्य क्षेत्रहरूले मुद्राको अवमूल्यनका कारण चुनौतीहरूको सामना गर्नुपरेको थियो । यी देशहरूले अत्यावश्यक वस्तु आयातमा ध्यान केन्द्रित गरेकाले यसले उनीहरूको सवारी आयातलाई असर गरेको छ।

विभिन्न विदेशी बजारमा मौद्रिक संकटका कारण  गत आव २०२३/२४ मा सवारीसाधन निर्यात ५.५ प्रतिशतले घटेको थियो । गत आव कुल निर्यात ४५ ललाख ४ सय ९२ इकाइ थियो भने २०२२/२३ मा ४७ लाख ६१ हजार २ सय ९९ इकाइ थियो ।

चालु आव पहिलो त्रैमासमा कुल यात्रुवाहक सवारी निर्यात वार्षिक रूपमा १२ प्रतिशतले बढेर ३ लाख ७६ हजार ६ सय ७९ इकाइ पुग्यो भने आव २०२३/२४ को सोही अवधिमा यो संख्या ३ लाख ३६ हजार ७ सय ५४ इकाइ रहेको छ ।

देशको सबैभन्दा ठूलो कार निर्माता मारुती सुजुकी १ लाख ४७ हजार ६३ इकाइ निर्यात गरी शीर्ष स्थानमा छ । कम्पनीको निकासी १२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोही अवधिमा मारुतीले १ लाख ३१ हजार ५ सय ४६ सवारीसाधन निर्यात गरेको थियो ।

त्यसैगरी, हुन्डाई मोटर इन्डियाले चालु आव पहिलो ६ महिनामा ८४ हजार ९ सय सवारीसाधन निर्यात गरेको छ, जुन अघिल्लो २०२३/२४ को अप्रिल-सेप्टेम्बर अवधिमा ८६ हजार १ सय ५ इकाइ थियो । यो एक प्रतिशतले घटेको हो ।

चालु आव अप्रिल-सेप्टेम्बर अवधिमा दुई पाङ्ग्रे सवारीसाधन निकासी गत वर्षको सोही अवधिमा १६ लाख ८५ हजार ९ सय ७ इकाइको तुलनामा अघिल्लो आव सोही अवधिमा १६ प्रतिशतले बढेर १९ लाख ५९ हजार १ सय ४५ इकाइ पुगेको थियो ।

समीक्षा अवधिमा स्कुटर निकासी १९ प्रतिशतले बढेर ३ लाख १४ हजार ५ सय ३३ इकाइ पुगेको छ भने मोटरसाइकल निकासी १६ प्रतिशतले बढेर १६ लाख ४१ हजार ८ सय ४ इकाइ पुगेको छ ।

आर्थिक वर्षको पहिलो ६ महिनामा व्यावसायिक सवारीसाधनको निर्यात वार्षिक १२ प्रतिशतले बढेर ३५ हजार ७ सय ३१ युनिट पुगेको छ ।

यद्यपि, यस अवधिमा तीन पाङ्ग्रे सवारीसाधनको निर्यात आर्थिक वर्ष २०२३/२४ को सोही अवधिमा १ लाख ५५ हजार १ सय ५४ इकाइको तुलनामा एक प्रतिशतले घटेर १ लाख ५३ हजार १ सय ९९ इकाइमा पुगेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.