के टेस्ला फोन आउन लागेकाे हो ?

  २०८१ कार्तिक ५ गते १३:४०     विकासन्युज

काठमाडौं । इन्टरनेटमा टेस्ला फोन आउने भनी बेलाबेलामा अड्कलबाजी हुँदै आइरहेका छन्, तर के यस अड्कलबाजीमा कुनै सत्यता छ ? के साँच्चिकै टेस्ला फाेन आउन लागेकाे हाे ?

हालसम्म टेस्ला फोनकाे अस्तित्वलाई समर्थन गर्ने कुनै ठोस प्रमाण भेटिएकाे छैन । सन् २०२१ मा सार्वजनिक भएको एक युट्युब भिडियोबाट टेस्लाकाे फाेन आउने भनेर हल्ला फिँजिएकाेजस्तो देखिन्छ । उक्त भिडियाेले फाेनकाे डिजाइनरको अवधारणा देखाउँछ, वास्तविक लीक भने होइन । विभिन्न अनलाइन माध्यमहरूमा यही स्रोतमा भर परी द्रूत गतिमा हल्ला फैलियाे ।

अर्बपति तथा टेस्लाका सीईओ एलन मस्कले दुई-दुई पटक टेस्ला फोनको योजना अस्वीकार गरिसकेका छन् । जुन २०२४ मा एक प्रत्यक्ष प्रसारणको क्रममा उनले भनेका थिए, ‘हामी टेस्ला फोन बनाउने छैनौं ।’ यस भनाइले धेरैको अड्कलबाजीलाई समाप्त गरिदिएकाे थियाे ।

मस्कले यी हल्लाहरूलाई सम्बोधन गरेकाे याे पहिलाे पटक भने हाेइन । नोभेम्बर २०२३ मा उनले एक्स (पुरानाे ट्वीटर) प्लेटफर्मले एप स्टोर प्रतिबन्धहरूको सामना गर्नुपरेकाे अवस्थामा भने ‘वैकल्पिक फोन’को सम्भावना रहेकाे बताएका थिए । तर पछि उनले आफ्नो धारणा स्पष्ट गर्दै टेस्ला स्मार्टफोनको सम्भावनालाई अस्वीकार गरे ।

मस्कले अस्वीकार गरे पनि केही विश्लेषकहरू टेस्ला फोन अपरिहार्य भएको बताउँदै आएका छन् । मोर्गन स्टान्लीका विश्लेषकहरू टेस्ला स्मार्टफोनको उच्च सम्भावना देख्छन्, जसलाई कम्पनीको कनेक्टेड कार इकोसिस्टमको स्वाभाविक विस्तारका रूपमा हेर्छन् ।

उनीहरूले फोन र टेस्लाबीचको एकीकरणलाई मध्यनजर गर्दै स्मार्टफोन एप्समार्फत कार अनलक गर्ने सुविधा पाउन सक्ने पनि बताउँछन् ।

हालै मस्कले एक्सको ओपनएआईको च्याटजीपीटीसँगको एकीकरणको सन्दर्भमा सुरक्षा चिन्ता व्यक्त गरेका थिए । यसले पुन: टेस्ला फोन आउन सक्ने अड्कलबाजीलाई प्रेरित गरेकाे छ । यद्यपि मस्ककाे धारणा अझै स्पष्ट छैन ।

हाललाई टेस्ला फोन एउटा हल्लामात्र हो । मस्कले यसलाई दुई पटक स्पष्ट रूपमा अस्वीकार गरिसकेका छन् । यद्यपि विश्लेषकहरूको भविष्यवाणी र मस्कका आफ्नै सुरक्षा चिन्ताहरूले भविष्यमा टेस्ला फोनको सम्भावना रहेको भने संकेत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.