भारतीय ठूला व्यावसायिक घराना साइबर आक्रमणको खतरामा, नेपाली व्यवसायीलाई कति चुनौती ?

  २०८१ कार्तिक ६ गते १०:४३     विकासन्युज

काठमाडौं । रिलायन्स, टाटा, अडानी, वेदान्तजस्ता भारतका ठूला औद्योगिक घरानाहरू साइबर आक्रमणको खतरामा परेका छन् । यी ठूला कर्पोरेट हाउसहरू मात्र होइन, अन्य धेरै कम्पनीहरू पनि यसको निशानामा छन् । जसमा मारुती सुजुकी इन्डिया, आरपीजी लगायत पर्छन् । ह्याकरहरू यी कम्पनीहरूमा प्रवेश गर्न तम्तयार अवस्थामा छन् ।

विज्ञहरूका अनुसार जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जनरल एआई) ले पनि साइबर आक्रमणको जोखिम बढाएको छ । कम्पनीहरूले यसलाई समाधान गर्ने तयारी गरिरहेकाे छन् ।

बाहिरिए धेरै घटना

इकोनोमिक टाइम्सका अनुसार साइबर आक्रमणका धेरै घटना सतहमा आएका छन् । वर्षको सुरुमै ठूलो वित्त कम्पनी यसको शिकार भयो । कम्पनीको धेरै संवेदनशील वित्तीय जानकारी लीक भएको थियो । एक जानकार व्यक्तिले घटनालाई आन्तरिक रूपमा ह्यान्डल गरी चुपचाप पारिएकाे बताए ।

दोस्रो घटना हालचालै एउटा ठूलो इन्जिनियरिङ कम्पनीसँग भयो । यो कम्पनीले कच्चा पदार्थको आपूर्तिका लागि बैंक खातामा ठूलो रकम ट्रान्सफर गरेको थियो । तर, त्यो रकम सम्बन्धित कम्पनीकाे खातामा पुग्न सकेको छैन । कम्पनी फिसिङ आक्रमणको शिकार भएकाे थियो । ग्रान्ट थर्नटनका साइबर पार्टनर अक्षय गार्केलले रकम सात अंकमा रहेको जानकारी दिए ।

माइक्रोसफ्टमा आक्रमण

विश्वको अग्रणी आईटी कम्पनी माइक्रोसफ्ट पनि साइबर आक्रमणबाट अछुतो रहन सकेको छैन । केही महिना ठूलोमात्रामा माइक्रोसफ्ट आईटी आउटेज भयाे । यसले विश्वभरका प्रणालीहरूलाई असर गर्‍याे । धेरै उडानहरू हुन सकेनन् । भुक्तानी प्रणालीदेखि आकस्मिक सेवासम्म ठप्प भए । विमानस्थलमा यात्रुको भीड थियो । त्रुटि समाधान गरेपछि बोर्डले व्यवस्थापनलाई उनीहरूको प्रणाली र डाटा कत्तिको सुरक्षित छ भनेर समीक्षा गर्न लगाएकाे थियाे ।

साइबर आक्रमणमा उल्लेखनीय वृद्धि

पछिल्लो एक वर्षमा साइबर आक्रमण धेरै गुणाले बढेको उद्योगीहरूले बताएका छन् । योसँगै जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जनरल एआई) बढेसँगै साइबर आक्रमणको जोखिम पनि बढेको छ ।

चेक प्वाइन्ट सफ्टवेयर टेक्नोलोजीमा भारत र सार्कका लागि प्रबन्ध निर्देशक सुन्दर बालसुब्रमण्यमले भारतीय संस्थाहरू पछिल्लो छ महिनामा प्रति हप्ता औसत ३ हजार २ सय ४४ साइबर आक्रमणमा परेकाे देखिएकाे जानकारी दिए । यो विश्वव्यापी औसतको लगभग दोब्बर हो ।

ठूला कम्पनीलाई ठूलो खतरा

स्रोतका अनुसार ठूला कम्पनीहरू बढी जोखिममा छन् । साइबर आक्रमण रोक्नु बोर्ड र प्रमुख कार्यकारी अधिकृतको पहिलो प्राथमिकता भएको छ ।

रिलायन्स इन्डस्ट्रिज, अडानी ग्रुप, टाटा ग्रुप, वेदान्त, मारुती सुजुकी इन्डिया र आरपीजीजस्ता ठूला कम्पनीहरू साइबर आक्रमणको जोखिममा छन् ।

ठूला कम्पनीहरू किन निशानामा ?

गार्केलले ठूला व्यापारिक घरानाहरू ह्याकरहरूका लागि लैनाे भैंसीजस्तै हुन् । तिनीहरूसँग धेरै डाटामात्र छैन, ठूलो ब्रान्ड प्रतिष्ठा पनि दाउमा छ । सम्पत्तिको आधार जति ठूलो हुन्छ, त्यति नै जोखिम बढी हुन्छ ।

साइबर आक्रमणविरुद्धमा के छ तयारी ?

इन्भेस्टमेन्ट इन्फरमेसन एन्ड क्रेडिट रेटिङ एजेन्सी अफ इन्डिया (आईसीआरए)का अध्यक्ष अरुण दुग्गलले कम्पनीहरूमा साइबर आक्रमणको सामना गर्न धेरै प्रकारको तयारी भइरहेको बताए ।

उनले भने, ‘म जसकाे बाेर्डमा सहभागी छु, उनीहरूले साइबर अपराध र उल्लंघनसँग सम्बन्धित जोखिमबारे आफूलाई शिक्षित पारेका छन् । साथै उनीहरूलाई यस बारेमा धेरै राम्रो ज्ञान छ । अडिट कमिटीले जोखिम क्षेत्रमा बढी ध्यान दिइरहेका छन् ।’

भारतीय उद्योगीहरू ह्याकरको निशानामा पर्दा नेपाली उद्योगीहरू पनि त्यसको शिकार हुन्छन् कि भन्ने आँकलन पनि गर्न थालिएको छ । तर, नेपाली उद्योगी व्यवसायीहरूले आफ्ना वेवसाइटहरू सुरक्षित रहेको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.