धनाढ्यको सूचीमा ११ बाट १७ ‍औं स्थानमा झरे मुकेश अम्बानी, १०० अर्ब डलर क्लबबाट बाहिरिने खतरा

  २०८१ कार्तिक ७ गते १३:१६     विकासन्युज

काठमाडौं । एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी विश्वका धनी व्यक्तिको सूचीमा लगातार तल झरिरहेका छन् । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार अर्बपति अम्बानी हाल विश्वका धनीहरूको सूचीमा १७ औं स्थानमा छन् । यसअघि उनी लामो समयदेखि ११औं स्थानमा थिए ।

अम्बानी सूचीमा तल आउनुका साथै उनकाे सम्पत्ति पनि घट्दै गएको छ । उनकाे कुल सम्पत्ति १०१ अर्ब डलरमा झरेको छ । यस्तो अवस्थामा अब उनी १०० अर्ब डलर क्लबबाट बाहिरिने खतरा पनि छ । एक दिनअघि मात्रै मुकेश अम्बानीको सम्पत्ति २.१८ अर्ब डलरले घटेको छ ।

लामो समयसम्म ११ नम्बरमा

करिब दुई महिनाअघि मुकेश अम्बानी धनीहरूको सूचीमा ११ औं नम्बरमा थिए । त्यतिबेला उनको कुल सम्पत्ति ११२ बिलियन डलर थियो ।

उनी लामो समयसम्म यही नम्बरमा रहे । पछि अन्य धनीहरूको सम्पत्ति द्रूत गतिमा बढ्यो र अम्बानीको सम्पत्ति घट्यो । जसका कारण उनी यो लिस्टमा निरन्तर ओरालो लाग्दै गएका हुन् ।

यस्तो अवस्था किन आयो ? 

पछिल्लो केही सातादेखि भारतीय सेयर बजार लगातार ओरालो लागेको छ । धेरै ठूला कम्पनीको सेयर घटेको छ ।

मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिज पनि यसमा सामेल छ । पछिल्लो एक महिनामा रिलायन्सको सेयर १० प्रतिशतभन्दा बढीले घटेको छ । यस्तो अवस्थामा मुकेश अम्बानीको सम्पत्ति पनि घटेको हाे ।

को आए ११ नम्बरमा ?

लामो समयसम्म मुकेश अम्बानी रहेको ११औं स्थानमा अहिले एनभीडीया कम्पनीका संस्थापक जेसन हुआङले कब्जा गरेका छन् ।

जेसन हुआंगको कुल सम्पत्ति १२५ बिलियन डलर छ । एनभीडीया संसारको सबैभन्दा ठूलो अर्धचालक कम्पनी हो । यो एप्पलपछि संसारको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी पनि हो ।

को छ शीर्षमा ?

यो सूचीमा एलन मस्कको नाम शीर्षमा छ । टेस्ला कम्पनीका मालिक मस्कको कुल सम्पत्ति २४० अर्ब डलर छ । उनी लामो समयदेखि यो सूचीमा पहिलो स्थानमा रहेका छन् । दोस्रो स्थानमा अमेजनका जेफ बेजोस (२१२ बिलियन डलर) र तेस्रो स्थानमा फेसबुकका मार्क जुकरबर्ग (२०६ बिलियन डलर) रहेका छन् । एजेन्सीकाे सहयाेगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.