डेडिकेटेड लाइनको बक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणबीच मतभेद नभएको खड्काको दावी

  २०८१ कार्तिक ७ गते १५:२४     विकासन्युज

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका बीचमा मतभेद नभएको बताएका छन् ।

बुधवार मन्त्रालयको एक सय दिनको मुख्य उपलब्धिहरू सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले डेडिकेटेड लाइनको वक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र विद्युत प्राधिकरणका बीचमा कुनै मतभेद नभएको स्पष्ट पारे ।

उनले यो विषय संसदीय समितिमा पुगिसकेको भन्दै संसदीय समितिबाट केही निर्णय आउने विश्वास व्यक्त गरे । उनले यस विषयमा मन्त्रालय र प्राधिकरणका बीचमा छलफल भइरहेको र मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग पनि निरन्तर छलफल गरिरहेको बताए ।

मन्त्री खड्काले उद्योगीहरुले विद्युत उपभोग गरेको कुराको प्रमाण जुटाउने कामपनि भइरहेको बताए ।

सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउन लागेको भन्नेकुरा हास्यास्पद रहेको बताए ।

उनले भने, ‘पत्रकारहरूले लेखेको बेलाबेला मैले पढ्न पाइरहेको छु- प्राधिकरण मन्त्रालय बीचमा एकदम मतभेद छ । यी सब कुराहरू खालि समाचारका शीर्षक हुन् । त्यस्ता कुराहरु नरहेको कुरा जानकारी गराउँछु । कुलमान घिसिङलाई हटाउने भन्ने कुरा हास्यास्पद कुरा हो ।’

मन्त्री खड्काले मन्त्रालय मातहतका सबैले उत्साहपूर्वक काम गरिरहेका भन्दै मन्त्रालयमा राम्रो टिम रहेको उल्लेख गरे ।

मन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रलाई आर्थिक वृद्धिको संवाहकका रुपमा स्थापित गर्दै उच्च आर्थिक वृद्धिमा सहयोग गर्ने क्षेत्रका रुपमा विकास गर्न मन्त्रालय प्रतिवद्ध रहेकोसमेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.