खराब कर्जा ५ प्रतिशत नाघ्दा तीन बैंकले लाभांश दिन नसक्ने, २० बैंकको एनपीएल औसत ४ प्रतिशत

  २०८१ कार्तिक ८ गते ११:०३     विकासन्युज

काठमाडौं । बैंकहरुको खराब कर्जा औसत ३.९८ प्रतिशत देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैंकहरुको खराब कर्जा औसत ४ प्रतिशतको हाराहारीमा देखिएको हो ।

अधिकांश बैंकको खराब कर्जा ४ प्रतिशतको हाराहारीमा छ भने तीन बैंकको खराब कर्जा ५ प्रतिशत नाघेको छ । सबैभन्दा धेरै खराब कर्जा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको रहेको छ । नेपाल इन्भेष्टमेण्ट मेगाको खराब कर्जा अनुापत ५.८४ प्रतिशत छ भने लक्ष्मी सनराइज बैंकको ५.४४ र सिटिजन्स बैंकको ५.४१ प्रतिशत रहेको छ ।

हिमालयन बैंकको ४.९८ प्रतिशत, कुमारी बैंकको ४.९६ प्रतिशत, प्रभु बैंकको ४.९४ प्रतिशत, प्राइम कमर्सियलको ४.८६ प्रतिशत, कृषि विकास बैंकको ४.७८ र ग्लोबल आइएमई बैंकको ४.६७ प्रतिशत खराब कर्जा रहेको छ ।

नेपाल राष्ट्र बैंकले ५ प्रतिशतको सीमा नाघेमा लाभांश वितरण गर्न दिँदैन भने थप व्यवसाय विस्तार गर्न नदिएर ऋण असुलीमा फोकस गराउँछ । पहिलो त्रैमासमा ५ प्रतिशत बढी खराब कर्जा भएका बैंकले लाभांश वितरण गर्न पाउने छैनन् ।

खराब कर्जाहरु धेरै हुन गएमा बैंकहरुको वित्तीय अवस्था नै कमजोर हुने अवस्था सिर्जना हुन्छ । राष्ट्र बैंकको निर्देशन अनुसार खराब वर्गमा वर्गीकरण भएका कर्जाहरुको शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्छ ।

अहिले रिकभरीमा समस्या हुँदा बैंकहरुको खराब कर्जा बढेको बैंकरहरु बताउँछन् । पहिलो त्रैमासमा पनि अधिकांश बैंकले ठूलो रकम प्रोभिजनिङ गरेका छन् । राष्ट्र बैंकका अनुसार अब अधिकांश बैंकले नयाँ व्यवसायभन्दा पनि खराब कर्जा असुल गर्नुपर्ने तर्फ ध्यान दिनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.