ल्याम्बोर्गिनीको कथा : फरारीका साहुसँग यसरी लिए फेरुसियाले अपमानको बदला

  २०८१ कार्तिक ८ गते १६:४१     विकासन्युज

काठमाडौं । स्पोर्ट्स कार ल्याम्बाेर्गिनी सायद हरेक युवाको सपना हो । सबैले यति धेरै कमाउने सपना देख्छन् ताकि एक दिन यो कार किनेर चढ्न सकियाेस् । के तपाईंले कहिल्यै त्यो कारको सफलताको कथा सुन्नु भएकाे छ, जसलाई लिएर लाखाैं युवा पागल छन् ? यसको सफलताको कथा आफैमा अचम्मको छ ।

किनभने ट्रयाक्टर बनाउने किसानको छोराले ल्याम्बाेर्गिनी बनाएका थिए । जुन आफैमा एउटा सपनाभन्दा कम थिएन ।

फेरुसियो किसानको छोरा

ल्याम्बोर्गिनी इटालियन उद्यमी फेरुसियो ल्याम्बोर्गिनीले सुरु गरेका थिए । फेरुसीका बाबुआमा दुवै खेतीपानी र अंगूरखेतीमा संलग्न थिए । तर फेरुसियोलाई खेतीमा कहिल्यै रुचि लागेन । यद्यपि उनी खेतीपातीमा प्रयोग हुने उपकरण बनाउन भने निकै मन पराउँथे ।

दोस्रो विश्वयुद्धको समयमा फेरुसियो राेयल एयरफाेर्समा सामेल भए र मेकानिकको रूपमा वायु सेनामा काम गरे । युद्ध समाप्त भएपछि उनले ट्र्याक्टरहरू निर्माण गर्न थाले । उनको ट्र्याक्टर कम्पनी चाँडै कृषिका लागि उपकरण निर्माणमा संलग्न विश्वको सबैभन्दा ठूलो कम्पनी बन्यो ।

रेसिङ कारको सपना

फेरुसियो आफै धेरै विलासी कारको मालिक थिए । उनको ग्यारेजमा मसरती, मर्सिडिज बेन्ज र अल्फा रोमियोजस्ता कार थिए । यसपछि उनले फरारी किन्ने निर्णय गरे । जुन निर्णय उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ साबित भयो । उनको यो निर्णय ल्याम्बोर्गिनीको सफलताको सुरुवात हो । उनी एक महँगो रेसिङ कार किन्न चाहन्थे । त्यसैले उनले फरारी किनेका हुन् ।

फेरुसियो एक दिन आफ्नो फरारीमा घुम्न गएका बेलामा कारको क्लचमा केही समस्या भयाे । क्लचले राम्ररी काम गरिरहेको थिएन ।  उनी कार मर्मत गर्नुको सट्टा फरारीकाे मालिकसँग कुरा गर्न चाहन्थे । त्यसपछि उनले फरारी मालिक एन्जो फरारीलाई यो समस्याको बारेमा जानकारी दिए ।

फरारी मालिकले गरे अपमान

जब फेरुसियोले एन्जाेलाई क्लचवाला कुरा भने तब उनी रिसाए । एन्जो फरारीले अपमानक शैलीमा फेरुसियोलाई क्लचमा समस्या नभइ कार चलाउने व्यक्तिको भएकाे बताए । यतिमात्र नभइ उनले फेरुसियोलाई फरारी चलाउनुको सट्टा ट्र्याक्टर चलाउनसमेत भने । यो कुराले फेरुसियोलाई निकै रिस उठ्यो अनि उनले एन्जोसँग यसकाे बदला लिने दृढ अठाेट गरे । त्यसबेलादेखि फेरुसियोको दिमागमा एउटै कुरा चल्न थाल्यो- जसरी हाेस् संसारको उत्कृष्ट रेसिङ कार बनाएरै छाड्छु र फरारीसँग अपमानकाे बदला लिन्छु ।

फरारीका पुरानो इन्जिनियरको मद्दत

अपमानपश्चात फेरुसियोले नयाँ लक्जरी स्पोर्ट्स कार बनाउने काम सुरु गरे । उनले सबैभन्दा पहिले कार डिजाइन गर्न थाले । उनलाई कस्तो कार चाहिएको थियो भन्ने विषयमा राम्राे ज्ञान थियाे । त्यसैले उनले केही महिनामै रेसिङ कार तयार पारे । फेरुसियोले रेसिङ कारको पहिचान गर्न साँढेको चित्रलाई यसको प्रतीकको रूपमा प्रयोग गरे । उनको राशि वृष थियो र यस राशिको प्रतीक साँढे हो । त्यसैले ल्याम्बोर्गिनीको प्रतीक साँढे राखिएकाे हाे । फेरुसियोले आफ्नो पहिलो कार ल्याम्बाेर्गिनी ३५० जीटी बनाउनका लागि एक पुरानो फरारी इन्जिनियर र दुई युवा इन्जिनियरहरूलाई काममा राखेका थिए ।

ल्याम्बोर्गिनी आउने बित्तिकै चर्चित

तत्कालीन प्रसिद्ध भी-१२ इन्जिन ३५० जीटीमा राखिएकाे थियाे ताकि याे हावाकाे वेगमा दाैडिन सकाेस् । पहिलो ल्याम्बोर्गिनी सन् १९६३ मा लन्च गरियाे । यसबारे सबैले थाहा पाउन सकुन् भनेर पहिलो प्रस्तुतीकरणमा कारकाे बारेमा जानकारी दिइएको थियो । सन् १९६४ को सुरुवातसँगै ल्याम्बोर्गिनी कारको बिक्री पनि सुरु भयो ।

ल्याम्बोर्गिनीको बिक्री सुरु हुनेबित्तिकै यसलाई किन्न मानिसहरूबीच प्रतिस्पर्धा भएको बताइएको छ । ल्याम्बाेर्गिनी यति हिट भयो कि १२० वटा कार बने । यो दुई सिटर लक्जरी स्पोर्ट्स कार थियो । मानिसहरू यसको मोडलसँग यति खुसी थिए कि ल्याम्बोर्गिनीले छोटो समयमा आफ्नो नयाँ मोडल सार्वजनिक गर्न बाध्य भयाे ।

नयाँ मोडलको नाम ४०० जीटी थियो र यो पनि आउने बित्तिकै सुपरहिट भयो ।

ल्याम्बाेर्घिनीकाे नेट वर्थ अहिले ११ बिलियन डलर पुगेकाे छ । सन् २०२३ मा ल्याम्बाेर्गिनीले १० हजारभन्दा बढी गाडी बिक्री गरी आफ्नाे नयाँ इतिहास बनाएकाे थियाे । अगिल्ला वर्षहरूभन्दा कम्पनीले १० प्रतिशत बढी गाडी बिक्री गरेकाे हाे ।

२५ वर्षअघि यसको वार्षिक बिक्री तथ्यांक केही सय युनिटमात्र थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.