वीरगञ्ज नाका हुँदै सवारीसाधनको आयात घट्यो, ६० प्रतिशत भन्दा कम आयात

  २०८१ कार्तिक ९ गते १५:१२     विकासन्युज

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुदैँ आयात हुने चारपाङ्गे सवारीसाधनको आयात ह्वात्तै घटेको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्गे सवारीसाधनको आयात ६० प्रतिशत भन्दा बढीले कमी आएको छ । वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दूवैको आयातमा पनि कमी देखिएको छ ।

चालु आवको असोज मसान्तसम्मको अवधिमा ४० करोड ४७ लाख ६३ हजार मूल्यपर्ने दुई सय १५ वटा जीप, कार र भ्यान आयात भएका छन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा जीप, कार र भ्यानको परिमाणको आधारमा ६६ दशमलव ०९ प्रतिशतले घटेको देखिन्छ । सोही अवधि राजस्व संकलनको आधारमा भने ४९ दशमलव ९३ प्रतिशतले गिरावट आएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चारपाङ्ग्रे सवारीसाधन वीरगञ्ज नाकाभन्दा पनि अन्य नाकाबाट भित्र्याउने क्रम बढेको बताए । ‘व्यवसायीले जुनसुकै नाकाबाट सवारीसाधन भित्राए पनि समग्रमा राजस्व मुलुकभित्रै भित्रिने हो,’ उनले भने,‘चालु आवको साउन र भदौ महिनाको तुलनामा वीरगञ्ज भन्सार कार्यालयले सङ्कलन गर्ने समग्र राजस्वमासमेत वृद्धि हुदैँ आइरहेको छ ।’

गत आवको तीन महिनाको अवधिमा भने ९० करोड ५७ लाख १६ हजार मूल्यपर्ने छ सय ३४ वटा जीप, कार र भ्यानको आयात भएको थियो । पेटोलियम पदार्थबाट चल्ने चारपाङग्रे सवारीसाधनको मात्रै आयात घटेको होइन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक, कार, जीप र भ्यानको आयातमा पनि ठूलो गिरावट आएको छ ।

चालु आवको तीन महिनाको अवधिमा वीरगञ्ज नाकाहुँदै नौ करोड ७७ लाख ९० हजार मूल्यपर्ने ६७ वटा मात्रै इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएको छ । प्रमुख भन्सार प्रशासक लामिछानेले इलेक्ट्रिक सवारीसाधन वीरगञ्ज नाकाबाट भन्दा पनि उत्तरी नाकाबाट धेरै भित्रिने बताउँछन् ।

इलेक्ट्रिक सवारीसाधन व्यापारीले उत्तरी नाकाबाट भित्र्याउने गर्छन् भने ठूला सवारीसाधन भने वीरगञ्ज नाका हुदैँ भित्रिन्छन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक सवारीसाधनको आयात परिमाणको हिसाबले ६४ दशमलव ७४ प्रतिशतले गिरावट आएको छ । सोही अवधिमा इलेक्ट्रिक सवारीसाधनको आयातबाट हुने राजस्व सङ्कलनमा पनि ५९ दशमलव ६७ प्रतिशतले कमी आएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा ३५ करोड नौ लाख ९४ हजार मूल्यपर्ने एक सय ९० वटा इलेक्ट्रिक सवारीसाधन आयात भएको थियो ।

चालु आवको तीन महिनाको अवधिमा सात करोड ३२ लाख १७ हजार रुपैयाँ मूल्य पर्ने ३२ वटा ट्रक, मिनि ट्रकको आयातमा भएको छ । जबकी गत आवको तीन महिनाको अवधिको तुलनामा चालु आवको सोही अवधिमा भने ६३ दशमलव ६४ प्रतिशतले आयात घटेको छ । गत आवको तीन महिनाको अवधिमा ट्रक मिनि ट्रक २० करोड १३ लाख १२ हजार मूल्य पर्ने ८८ वटा भित्रिएका थिए ।

त्यस्तै चालु आवको तीन महिनाको अवधिमा पिकअप तथा डेलिभरी भ्यानको आयात पनि खस्किएको छ । चालु आवको तीन महिनाको अवधिमा नौ करोड ७५ लाख तीन हजार मूल्य पर्ने ६८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ ।

जबकी गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने पिकअप तथा डेलिभरी भ्यानको आयात ६३ दशमलव ६४ प्रतिशतले घटेको छ । जबकी गत आवको सोही अवधिमा भने १४ करोड १५ लाख मूल्यपर्ने एक सय ३२ पिकअप तथा डेलिभरी भ्यानको आयात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.