वैदेशिक रोजगार बोर्डका हाकिमले २० लाख घुस लिएको आरोप

  २०८१ कार्तिक ११ गते १२:०६     विकासन्युज

काठमाडाैं । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक (ईडी) डा. द्वारीक उप्रेतीले २० लाख रुपैयाँ घुस लिएको उजुरी परेको छ । उनले डेर्नमार्कका अवैतानिक श्रम दूत बनाइदिने भन्दै भूपाल विश्वकर्मा नाम भएका व्यक्तिबाट २० लाख रुपैयाँ लिएको आरोपसहितको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस भएको हो ।

कार्यालयले उक्त विषयको छानविन गर्नका लागि श्रम रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयलाई पत्र पठाइसकेको मन्त्रालयका सहसचिव निश्चल पाण्डेले विकासन्यूजलाई जानकारी दिए । उनले भने,  ‘२० लाख लिएको उजुरी परेको भन्दै छानविनका लागि मन्त्रालयलाई कार्यालयले पत्र पठाएको छ । छानविन समिति पनि गठन भइसकेको छ ।’

उनका अनुसार उप्रेतीलाई मन्त्रालयमा तानिएको छ । छानविनका लागि उपसचिव शारदा राउतको नेतृत्वमा समिति पनि गठन भएको छ । मन्त्रालयले हाल बोर्डको नेतृत्वको लागि सहसचिव जीवलाल भूसाललाई जिम्मेवारी दिएको छ ।

छानविन समितिको संयोजक राउतले अबको केही दिनमा नै छानविन सुरु हुने बताइन् । आरोपका विषयमा विकासन्यूजले उप्रेतीसँग साेधपुछ गर्न खाेजेकाे थियाे तर फोन रिसिभ भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.