सिभिल इन्जिनियरिङकाे क्षेत्रमा प्रवेश गर्दै गौतम अडानी, कसमा छ नजर ?

  २०८१ कार्तिक १२ गते ११:०२     विकासन्युज

काठमाडौं । भारतीय अर्बपति गौतम अडानीले आफ्नो व्यवसायलाई तीव्र गतिमा विस्तार गरिरहेका छन् । यही सिलसिलामा उनी अब सिभिल इन्जिनियरिङकाे क्षेत्रमा हात हाल्ने तयारीमा छन् । अडानी समूहले इन्जिनियरिङ दिग्गज आईटीडी सिमेन्टेशन इन्डियाको ७३ % सेयर ५ हजार ७५९ करोड भारु (६८५ मिलियन डलर) मा किन्न चाहेकाे जनाइएकाे छ । यसले समूहलाई इन-हाउस इन्जिनियरिङ, खरीद र निर्माण (इपीसी) र सिभिल इन्जिनियरिङ क्षमताहरू प्रदान गर्नेछ ।

अडानी परिवारको पूर्ण स्वामित्वमा रहेको नवीकरण एक्जिम डीएमसीसीले आईटीडी सिमेन्टेसनको प्रवर्द्धक इटालियन थाई डेभलपमेन्ट पब्लिक कम्पनीसँग ४६.६४ % सेयर अर्थात् ८ करोड १ लाख सेयर प्रति सेयर ४०० भारुमा खरिद गर्न सम्झौता गरेको छ । यो सम्झौता ३ हनार २ सय ४ करोड भारुको छ ।

मेरीटाइम स्ट्रक्चर र इन्जिनियरिङ गतिविधिमा अग्रणी कम्पनी आईटीडी सिमेन्टेसनले सेयर बजारमा राखेकाे एक फाइलिङले यस्तो जानकारी दिएको हो । यसपछि अल्पसंख्यक सेयरधनीहरूबाट थप २६ % अर्थात ४४.७ मिलियन सेयर प्रति सेयर ५७१.६८ भारुमा खरिद गर्ने खुला प्रस्ताव हुनेछ ।

यदि खुला प्रस्तावमा पूर्ण रूपमा सदस्यता लिइएको छ भने अडानी समूहले आईटीडी सिमेन्टेसनको ७३ % हिस्सेदारीको लागि लगभग ५ हजार ७ सय ५९ करोड भारु तिर्नेछ । याे अदानी समूहको सन् २०२४ मा गरिएकाे १२ औं अधिग्रहण हुनेछ । ईटीले आफ्नो सेप्टेम्बर २० काे एडिसनमा अदानी-आईटीडी ट्रान्जेक्सनकाे बारेमा सबैभन्दा पहिला रिपोर्ट दिएकाे थियाे ।

कम्पनीले के गर्छ ?

आईटीडी सिमेन्टेसनले दिल्ली र कोलकाता मेट्रो परियोजनाबाहेक जवाहरलाल नेहरु पोर्ट ट्रस्ट र तुतिकोरिन, हल्दिया, मुन्द्रा र विझिनजाम बन्दरगाहहरूमा काम गरेको छ । यो सम्झौता अडानीका लागि निकै फाइदाजनक हुने विश्वास गरिएको छ ।
किनभने यसको पोर्टफोलियोमा बन्दरगाह, पूर्वाधार, शक्ति र घरजग्गा समावेश छ ।

यसकाे पहिलेदेखि नै जलविद्युत र मरिनकाे साथसाथ ५ सय ९४ किलोमिटर लामो गंगा एक्सप्रेसवे टोल रोड परियोजनामा अडानीसँग ​​व्यापारिक सम्बन्ध छ । मेरीटाइम स्ट्रक्चर आईटीडी सिमेन्टेशनको अर्डर बुकको ३४.५% हिस्सा छ ।

यो वर्ष कम्पनीको सेयर हालसम्म ८६.८२ प्रतिशतले बढेको छ । जुलाईमा कम्पनीले स्टक एक्सचेन्जलाई आफ्ना प्रवर्द्धकहरूले डिस्इन्भेष्टमेन्ट (विनिवेश- सरकारी हिस्सेदारी बेच्ने प्रक्रिया) सम्भावना खोजिरहेको र बिक्री प्रक्रिया प्रारम्भिक चरणमा रहेको बताएको थियो ।

शुक्रबार आईटीडी सिमेन्टेसनको मार्केट क्याप ९ हजार १५२.८४ करोड भारु थियो । साताको अन्तिम दिन बीएसईमा २.६५ प्रतिशतले घटेर कम्पनीको सेयर ५३२.८० भारुमा बन्द भएकाे थियाे । अबुधाबीको एक कम्पनी र आरपीजी ग्रुपको केईसी इन्टरनेशनल पनि यो कम्पनी किन्न दौडमा रहेको बताइएको छ ।

यस्ताे छ कम्पनीकाे इतिहास

भारत स्वतन्त्र हुनुअघि आइटीडी सिमेन्टेशनको बेलायतसँग सम्बन्ध थियो । भारतमा याे कम्पनी नौ दशकदेखि सञ्चालन हुँदै आएको छ । यस अवधिमा यसको स्वामित्व धेरै पटक परिवर्तन भएको छ । मेरिटाइम स्ट्रक्चरबाहेक यस कम्पनीसँग विमानस्थल, जलविद्युत, सुरुङ, औद्योगिक भवन तथा संरचना, राष्ट्रिय राजमार्ग, पुल तथा फ्लाईओभर, जग र विशेष भवन निर्माणमा विशेषज्ञता रहेको छ ।

कम्पनीले आफ्नो पोर्टफोलियोमा पम्प भण्डारण र विशेष जलविद्युत परियोजनाहरू पनि थपेको छ । आईटीडी सिमेन्टेसनले यस आर्थिक वर्षमा नयाँ हाइड्रो र पम्प भण्डारण परियोजनाहरूबाट ५ हजारदेखि ६ हजार करोडको टेन्डर जित्ने अपेक्षा गरिएको छ ।

कम्पनीले जुन त्रैमासिकमा एक हजार ५३ करोड भारुभन्दा बढीको अर्डर सुरक्षित गर्‍याे, यसको कुल अर्डर बुक १८ हजार ५ सय ३६ करोड छ । यसमा सरकारी ठेक्काको हिस्सा ४८ प्रतिशत, निजी क्षेत्रको ३५ प्रतिशत र सार्वजनिक क्षेत्रको १७ प्रतिशत रहेको छ ।

देशका १३ राज्यमा कम्पनीकाे उपस्थिति रहेको छ । यसले श्रीलंका र बंगलादेशमा पनि काम खोजिरहेको जनाइएकाे छ । यस हप्ताको सुरुमा अडानी समूहले सीके बिरला समूहको सिमेन्ट कम्पनी ओरिएन्ट सिमेन्ट ८ हजार एक सय कराेड भारुकाे इक्विटी मूल्यमा खरिद गर्ने घोषणा गरेको थियो । (एजेन्सीहरूकाे सहयाेगमा )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.