३० करोडमा खुम्चियो तिहारलक्षित विद्युतीय बजार

  २०८१ कार्तिक १२ गते ११:१९     विकासन्युज

काठमाडौं । तिहार वर्षको एक पटकमात्रै आउँछ । यस वर्षको तिहार पनि सम्मुखमा छ । तिहारको बेलामा विद्युतीय सामग्रीहरूको व्यापार व्यवसाय फस्टाउने आशामा व्यवसायीहरू छन् । तर विगतका वर्षहरूमा भन्दा यस वर्ष ग्राहकहरूको माग कम आएको व्यवसायीहरू बताउँछन् ।

माग कम आएसँगै पसको भाडा कसरी तिर्ने भन्ने चिन्ता व्यवसायीहरुलाई छ । न त माग बढेको छ न त भनेको जस्तो व्यापार । पोहोरकै विद्युतीय सामग्रीहरु विक्री नभएकाले यस वर्ष नयाँ सामग्रहीहरु खासै नकिनेको व्यवसायीहरूको भनाइ छ ।

गत सालकै सामानलाई बेचिसक्ने सोचमा व्यापारीहरू छन् । तिहारमा विशेषतः विक्री हुने भनेको झिलिमिली बत्ती नै हो । तर युवाहरु विदेश जाने र नेपालमा रमाइलो गर्ने जनशक्ति कम भएकाले व्यापार व्यवसाय हुन नसकेको अनुमान व्यवसायीहरूको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बजारको अवस्था कमजोर रहेको बताए । उनअनुसार विगतका वर्षहरूमा झैं यस वर्ष विद्युतीय सामग्रीको व्यापार छैन । कोलकाताबाट वीरगञ्ज नाका हुँदै भारतबाट आउने सामानहरू आइसकेको भएपनि तातोपानी र केरुङ नाका भएर चीनबाट आउने विद्युतीय सामग्री आएका छैनन् ।

तातोपानी नाकाबाट केही दिनभित्रै सामग्री आउने जानकारी पाएपनि काठमाडौं केन्द्रित बजार हुने निश्चित भएको उनको भनाइ छ । महासंघले यस वर्षको तिहारमा ३० करोड सम्मको सामान बिक्री गर्ने अनुमान छ । तर विगतका वर्षहरूमा ५०/६० करोडको बजार तिहारमा हुने गरेको बताए ।

‘यथार्थमा भन्ने हो भने बजारको अवस्था कमजोर भएको कारणले विगतका साल जस्तो धेरै विद्युतीय सामग्री ल्याएका छैनौं । काेलकाताबाट वीरगञ्ज हुँदै आउने सामानहरू लगभग आइसकेको अवस्था हो । केरुङ र तातोपानी नाकाबाट आउने सामानहरू बाटो बिग्रिएको कारणले गर्दा आउन सकिरहेको छैन,’ उनी भन्छन्, ‘त्यसकारणले यथार्थ डाटा आइसकेको छैन । हाम्रो अनुमानमा २५/३० करोडको सामान आउँछ कि भन्ने छ । नेपालको बजार विगतमा धेरै राम्रो थियो । ५०/६० करोडको मार्केट हो ।’

अध्यक्ष देवकोटाले पोहोर सालकै विद्युतीय सामानहरू बिक्री नभएकाले यस वर्ष नयाँ सामान ल्याउँदा फसिन्छ कि भन्ने त्रास व्यवसायीहरूको रहेको बताए । कन्स्ट्रक्शनका कारण राम्रो व्यापार हुने भएपनि अहिले युवा जनशक्ति बाहिर हुँदा कन्स्ट्रक्शनको काम नेपालमा कम हुँदै गएको उनले बताए ।

उनले कोभिडपछि नेपालको बजार संकुचनमा रहेको बताउनु भयो । व्यवसायीहरूसँग पोहोर सालको स्टक रहेकाले त्यो बेच्ने भन्ने योजना बनाएर अघि बढेको बताए ।

अध्यक्ष देवकाेटाले भने, ‘अहिले व्यवसायीहरू सामान ल्याएर फसिन्छ कि भन्ने विगतको अनुभवले गर्दा त्यति उत्साहति छैनन् । विगतमा कन्स्ट्रक्शन राम्रो थियो, युवा जनशक्ति थिए, अहिले युवा जनशक्ति छैन, कोभिडपछि यहाँको बजार संकुचनमा छ, रिकभर भइसकेको छैन । ’

सुन्धाराका विद्युतीय सामग्रीहरूको व्यापार गर्दै आएका सुशील प्रधानाङ्गले अहिले व्यापार खासै राम्रो नभएको गुनासो गरे । नेपालीहरू अन्तिममा आएर किन्ने बानी भएकाले पनि अझै व्यापार हुने आश रहेको बताए ।

सहकारीमा जम्मा पारेको रकम सहकारी ठगहरूले खाइदिएकाले पनि आम नागरिकसँग पैसा नहुँदा क्रय गर्ने सामर्थ्य नरहेको हुनसक्ने अनुमान उनको छ ।

बजारमा विद्युतीय सामग्रीको माग नै नरहेको उनको भनाइ छ ।

सुन्धारा क्षेत्रमै विद्युतीय सामग्रीको व्यवसाय गर्दै आएकी संगीता श्रेष्ठ पनि यस वर्ष खासै व्यापार नभएको बताउँछिन् । तिहार आउन अझै केही दिन बाँकी भएकाले अन्तिमसम्म व्यापार हुने आशा रहेको उनको भनाइ छ ।

उनले रमाइलो गर्ने युवा जनशक्ति बाहिरिँदा खल्लो महसुस हुने गरेको बताइन् । साथै व्यापार व्यवसाय पनि राम्रो हुन नसकेको उनको गुनासो छ ।

अर्का व्यवसायी अमित केडिया भने पहिलाको तुलनामा व्यापार धेरै नै कम रहेको बताउँछन् । पहिलाको भन्दा ६०/७० प्रतिशतले व्यापार कम रहेको बताए । देशको आर्थिक अवस्था पनि व्यवसाय नफस्टाउनुको एउटा कारण हुनसक्ने उनकाे ठम्याइ छ ।

व्यवसायी राज नेपालले व्यवासायीहरूलाई तिहारको समयमा पनि व्यापार नहुँदा चिन्ता लागेको बताए ।

व्यवसायीकाअनुसार यस वर्ष विगतको तुलनामा विद्युतीय सामग्रीहरूको माग धेरै कम छ । ग्राहकहरू पनि बजारमा किनमेलका लागि पुगेका छैनन् । देशको आर्थिक अवस्थाका कारण हुनसक्ने कतिपयको अनुमान छ । अन्तिमसम्ममा व्यापार हुने आशामा रहेको उनीहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.