व्यावसायिक क्षमताको १५ प्रतिशतमा सीमित स्काई टावर, घाटामा गएपछि ६० करोड ऋणका लागि रेटिङ

  २०८१ कार्तिक १२ गते १४:३१     विकासन्युज

काठमाडौं । काठमाडौंको व्यस्त ठाउँ कमलादीमा स्काई टावर सञ्चालनमा आएको एक वर्ष बढी समय भइसकेको छ । पृथक किसिमको पर्यटकीय रोमाञ्चकता प्रदान गर्दै आएको स्काई टावरको सञ्चालन वन्डर्स नेपालले गर्दै आएको छ ।

अग्लो ठाउँबाट काठमाडौं उपत्यकाको दृश्य नियाल्न मिल्ने स्काई टावरमा आम सर्वसाधारणको आकर्षण कस्तो छ ? दैनिक कति जनाले यो टावरमा चढ्छन् ? १३ रोपनी जग्गा फैलिएको स्काई टावरको कमाइ कस्तो छ ? नेपालमा पृथक किसिमको पर्यटकीय अनुभव दिइरहेको वन्डर्स नेपाल स्काई टावरको आम्दानीप्रति सन्तुष्ट छ वा छैन ? यसमा धेरैको चासो रहेको छ ।

हालै सार्वजनिक भएका तथ्यांकका आधारमा यो कम्पनीले व्यवसायिक क्षमताको १५ प्रतिशत मात्र सेवा बिक्री गरेको छ । एसियाकै पहिलो स्काई वाक टावर भनेर दाबी गरिएको टावरले वार्षिक ७ लाख २० हजार भिजिरलाई टावरमा चटाउने क्षमता राख्छ । मासिक ६० हजार र दैनिक २ हजार भिजिटरलाई चढाउने क्षमता राख्छ ।

तर कम्पनीले सन् २०२४ मा १ लाख १० हजार भन्दा कम मानिसलाई स्काइ वाक टावर चढाएको छ । यो कम्पनीको कुल सामथ्र्यको करिव १५ प्रतिशत मात्र हो ।

सार्वजनिक भएको एक तथ्याङ्क अनुसार कम्पनीले २०२४ मा १२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले प्रतिव्यक्ति १ हजार रुपैयाँ टिकट बेच्दै आएको छ । टिकट बाहेक कफिसप, सैलुन, रेष्टुरेन्ट चलाएर भाडा आम्दानी पनि गरेको छ ।

सीमित सञ्चालन खर्चका कारण ह्रासकट्टी,ब्याज र करअघिको नाफा ९ करोड ७० लाख रूपैयाँ कमाएको देखिएको छ । तर कम्पनीको उच्च ह्रासकट्टी र ब्याज खर्चका कारण गत आवमा वन्डर्स नेपालले ४ लाख ७० हजार रूपैयाँ घाटा बेहोरेको रेटिङ एजेन्सी केयर नेपालले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । गत वर्ष कम्पनीले ब्याज खर्च मात्रै ६ करोड ६० लाख रूपैयाँ तिरेको विज्ञप्तिमा उल्लेख छ ।

यस कम्पनीले ६० करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो । कम्पनीले डबल बी माइनसको रेटिङ पाएको छ ।

कम्पनीले बैंक तथा वित्तीय संस्थामा देखिएको ब्याजदरको उतारचढावले आम्दानीमा प्रभाव पारिरहेको उल्लेख गरेको छ । पछिल्लो समय ब्याजदर घट्दा केही सहज भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

पाँचजना सदस्यीय रहको वन्डर्स नोपलको सञ्चालक समितिको नेतृत्व पविन्द्र न्यौपानेले गरिरहेका छन् भने प्रबन्ध सञ्चालकको रूपमा पदमप्रसाद न्यौपानले काम गरिरहेका छन् ।

टावरमा लिफ्ट अथवा हिँडेर पनि चढेर सिधै माथि पुगिन्छ । टपको सिसामा हिँड्दा ७८ मिटर तलको बगैंचा, पार्किङ, बजार देखिन्छ । वण्डर्स नेपालले धरानको भेडेटार र इलामको कन्याममा पनि टावर निर्माण गरिरहेको छ ।

वोन्डर्स नेपालले छिट्टै आईपीओ जारी गर्ने निणर्य पनि गरिसकेको छ । त्यसका लागि प्रक्रिया अगाडि बढिरहेको बुझिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.