२०८१ कार्तिक १२ गते १५:१९ विकासन्युज
काठमाडौं । अमेरिकाको मुद्रा डलरले विगत आठ दशकदेखि विश्वमा शासन गर्दै आएको छ । विश्वका धेरै देशका मुद्राले यससँग प्रतिस्पर्धा गर्न खोजे पनि सफल हुन सकेका छैनन् । विश्वको ग्लाेबल सिस्टममा डलरको हिस्सेदारी ४९ प्रतिशत पुगेको छ, जुन १२ वर्षयताकै उच्च हो । स्विफ्ट डाटामा यो कुरा बाहिर आएको हो ।
पछिल्लो दुई वर्षमा ग्लाेबल पेमेन्टमा डलरको हिस्सा नौ प्रतिशतले बढेको छ । डलरको भाउ बढेसँगै सुनको चमक भने घटेको छ । दिनहुँ नयाँनयाँ कीर्तिमान बनाइरहेको सुन शुक्रबार डलरको बलमा ओरालो लागेको हाे । सोमबार डलर बलियो भएकाले सुनको भाउ घटेको हो ।
डलरको बढ्दो खतराले युरोको उत्साहलाई निराशामा बदलेकाे छ । पछिल्लो दुई वर्षमा ग्लाेबल पेमेन्टमा युरोको हिस्सा ३९ प्रतिशतबाट २१ प्रतिशतमा झरेको छ । यो एक दशकयताकै न्यून हो ।
यसैबीच चीनको मुद्रा युआनको अंश दुई प्रतिशतबाट बढेर पाँच प्रतिशत पुगेको छ । हालैका वर्ष अमेरिकी डलरले आफ्नो चमक गुमाउँदै गएको भनेर धेरै चर्चा भए पनि तथ्याङ्कले भने अर्कै कुरा बताउँछ । डलर कमजोर हुनुको सट्टा बलियो हुँदै गएको छ ।
कसरी बढ्यो डलर ?
अमेरिकी डलरले करिब आठ दशकदेखि विश्व अर्थतन्त्रमा एकाधिकार कायम गरेको छ । यो संसारको सबैभन्दा सुरक्षित सम्पत्तिमध्ये एक मानिन्छ । विश्व आपसी व्यापारका लागि यही मुद्रामा निर्भर हुँदै आएको छ ।
सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गर्दा अमेरिकाको नेतृत्वमा पश्चिमा राष्ट्रले त्यसमाथि धेरै किसिमका आर्थिक प्रतिबन्ध लगाएका थिए । रुसको विदेशी मुद्रा सञ्चितिको करिब आधा हिस्सा फ्रिज भयाे । जसकारण धेरै देश डलरबाट टाढा हुन चाहन्छन् ।
तर डलरलाई कमजोर बनाउने विभिन्न किसिमका प्रयास असफल हुँदै आएका छन् । आज पनि डलर विश्वभरका केन्द्रीय बैंकहरूको कोषमा सबैभन्दा ठूलो सम्पत्ति हो ।
याे पनि: सुन थुपारेको थुपार्यै, यस कारण बढ्दैछ मूल्य
१० हजार करोड बराबर भारूको वसियत चार जना, बम्बई उच्च अदालतबाट प्रमाणित हुने
Copyright © 2025 Bikash Media Pvt. Ltd.