कर्जाको ब्याज साढे २६ प्रतिशत घट्यो, यस्तो छ २० बैंकको आधार दर

  २०८१ कार्तिक १२ गते १५:५७     विकासन्युज

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा कर्जाको ब्याज साढे २६ प्रतिशतले घटेको देखिन्छ । सार्वजनिक तथ्याङ्कअनुसार एक वर्षको अवधिमा बैंकहरूको आधार दर औसत २६.४० प्रतिशत अर्थात् २.६४ प्रतिशत बिन्दु घटेसँगै कर्जाको ब्याजदर पनि सोही अनुसार घटेको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ को असोजमा बैंकहरूको आधार दर औसत ७.३६ प्रतिशत बिन्दुमा झरेको देखिन्छ । जबकि गत वर्षको सोही अवधिमा बैंकहरूको आधार दर औसत १० प्रतिशत बिन्दुमा थियो । निक्षेपतर्फको ब्याजदर निरन्तर घटेपछि बैंकहरूको आधार दर घट्न पुगेको हो ।

बैंकको आधारदर घट्दा कर्जाको ब्याजदर पनि स्वतः घट्न पुग्छ । त्यसैले एक वर्षको अवधिमा बैंकहरूको कर्जाको ब्याजदर पनि औसत साढे २६ प्रतिशत घटेको देखिन्छ । बैंकहरूको आधारदर घट्दा ऋणीका लागि सहज हुन्छ । आधारदर जति नै कम भयो, बैंकको ब्याजदर पनि त्यति नै कम हुने गर्दछ ।

समीक्षा अवधिमा सबैभन्दा कम आधार दर स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ । जसकारण यस बैंकको कर्जाको ब्याजदर पनि स्वतः कम हुन जान्छ । असोजसम्म स्ट्याण्डर्ड चार्टर्डको आधार दर ३२.१८ प्रतिशत घटेर ५.७१ प्रतिशत बिन्दुमा कायम राखेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको आधारदर ८.४२ प्रतिशत बिन्दुमा थियो ।

यस्तै, यस अवधिमा कृषि विकास बैंकको आधार दर ३१.८८ प्रतिशत घटेर ७.०७ प्रतिशत बिन्दुमा झरेको छ भने कुमारी बैंकको ३१.४३ प्रतिशत घटेर ७.४८ प्रतिशत बिन्दुमा कायम राखेको छ । गत वर्षको सोही अवधिमा कृषि विकासको १०.३८ प्रतिशत बिन्दु र कुमारीको १०.९१ प्रतिशत बिन्दुमा आधार दर थियो ।

गत वर्ष ९.७ प्रतिशत बिन्दु आधार दर रहेको एभरेष्ट बैंकको २९.८९ प्रतिशत घटेर ६.८ प्रतिशत बिन्दुमा झरेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको २९.३१ प्रतिशत घटेर ६.१५ प्रतिशत बिन्दुमा आधार कायम राखेको छ ।

लक्ष्मी सनराइज बैंकको २७.८७ प्रतिशत घटेर ७.७९ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको २७.६० प्रतिशत घटेर ७.२९ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २७.१२ प्रतिशत घटेर ७.२८ प्रतिशत बिन्दु, नेपाल बैंकको २६.८७ प्रतिशत घटेर ६.७२ प्रतिशत बिन्दुमा झरेको छ ।

यस्तै, नबिल बैंकको २६.७२ प्रतिशत घटेर ७.०२ प्रतिशत बिन्दु, सानिमा बैंकको २५.७४ प्रतिशत घटेर ७.२४ प्रतिशत बिन्दु, प्राइम बैंकको २५.५६ प्रतिशत घटेर ७.९२ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको २५.२८ प्रतिशत घटेर ७.९२ प्रतिशत बिन्दुमा आधार दर कायम राखेका छन् ।

प्रभु बैंकको २४.७७ प्रतिशत घटेर ७.६५ प्रतिशत बिन्दु, नेपाल एसबीआई बैंकको २४.६८ प्रतिशत घटेर ७.७२ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको २३.९७ प्रतिशत घटेर ७.६१ प्रतिशत बिन्दु, एनएमबी बैंकको २३.९५ प्रतिशत घटेर ७.४९ प्रतिशत बिन्दुमा आधार दर छ ।

यस्तै, हिमालयन बैंकको २३.११ प्रतिशत घटेर ८.३५ प्रतिशत बिन्दु, एनआईसी एशिया बैंकको २०.७३ प्रतिशत घटेर ८.३७ प्रतिशत बिन्दु र सिद्धार्थ बैंकको २०.४६ प्रतिशत घटेर ७.५८ प्रतिशत बिन्दुमा आधार दर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.