२०८१ कार्तिक १२ गते १७:१० विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बमबहादुर मिश्रले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताएका छन् । सोमबार काठमाडौंमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको दशैँ, तिहार, छठलगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
उनले अहिले बैंक तथा वित्तीय संस्थाहरूको पहिलो त्रैमासिकको तथ्याङ्कअनुसार मौद्रिक नीतिमा उल्लेख भएअनुसार कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताए । पछिल्लो समय बैंकहरुको एनपीए वृद्धि हुँदै जानु गम्भिर विषय भएको उल्लेख गरे । व्यवसायीहरुको मनोबल कमजोर हुँदा लगानी हुन नसकेको जानकारी दिए ।
उनले साढे ११ र १२ प्रतिशत (६५४ अर्ब) को कर्जा प्रवाह गर्ने मौद्रिक नीतिमा उल्लेख भएपनि पहिलो त्रैमासिकको परिणाम हेर्दा १२ प्रतिशत कर्जा बिस्तार हुनसक्ने नदेखिएको जानकारी दिए । सरकारले बजेटमा परिकल्पना गरेको ६ प्रतिशतको आर्थिक वृद्धि हुन ६५४ अर्बको कर्जा प्रवाह गर्नुपर्ने बताए ।
‘सरकारले बजेटमा परिकल्पना गरेको ६ प्रतिशतको आर्थिक वृद्धि हुन ६५४ अर्बको कर्जा प्रवाह गर्नु पर्ने अवस्था भएपनि नहुने अवस्था देखिन्छ । राष्ट्र बैंकले वित्तीय क्षेत्र स्थायीत्वको लागि महत्वपूर्ण एजेण्डाको रुपमा लिएको छ । त्यसैको कारण विभिन्न ठूला संकट आउँदा पनि वित्तीय क्षेत्रलाई सवल बनाइ राख्न सफल भएका छौं’, उनले भने ।
उनले स्थानीय, राष्ट्रिय अन्तर्राष्ट्रिय, सप्लाई चेन, उपभोक्ताको मागमा कमी भएका कारणले नेपालका व्यवसायीहरूले लगानी गर्न नसकेको जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.