२०८१ कार्तिक १३ गते ११:३९ विकासन्युज
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क अमेरिकाको नयाँ अर्थमन्त्री बन्न सक्ने अनुमानले अमेरिका गर्माएकाे छ । मस्कले राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको लागि कस्सिएर प्रचार गरिरहेका छन् । ट्रम्पको जित्ने सम्भावना पछिल्लो समय निकै बढेको छ ।
यदि ट्रम्प राष्ट्रपति बने भने मस्कलाई २०२५ को फेब्रुअरीमा मन्त्रिपरिषद्का लागि मनोनयन गर्न सकिने विश्वास गरिएको छ । मस्कले अमेरिकाको बढ्दो ऋणप्रति चिन्ता व्यक्त गरेका छन् । आफू अर्थमन्त्री भए अमेरिकी बजेटमा कम्तीमा २ ट्रिलियन डलर बचत गर्न सक्ने उनको भनाइ छ ।
न्युयोर्कमा आइतबार ट्रम्पको समर्थनमा आयोजित र्यालीमा मस्कले भनेका थिए, ‘तपाईंहरूको पैसा बर्बाद भइरहेको छ । म अमेरिकी बजेटबाट कम्तीमा २ खर्ब डलर बचत गर्न सक्छु ।’
अमेरिकाको ऋण ३५.७ खर्ब डलर पुगेको छ र सरकारले वार्षिक १ खर्ब डलरभन्दा बढी ब्याज मात्रै तिर्नुपर्छ । अमेरिकाको बढ्दो ऋणलाई आर्थिक आपतकालको संज्ञा दिँदै मस्कले यो संकट तत्कालै सामना गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।
मस्ककाे फाइदा
मस्कले जसरी जनतासामु आफ्नो भावी रणनीति प्रस्तुत गरिरहएका छन्, त्यसले उनी देशको अर्थमन्त्री बन्ने अनुमान गरिएको छ । र्यालीमा ट्रम्पले मस्कलाई सरकारी खर्च कटौती गर्ने विभागको जिम्मेवारी दिने बताए । तर, आलोचकहरूले मस्कलाई यस्तो जिम्मेवारी दिँदा स्वार्थको द्वन्द्व सिर्जना हुने बताएका छन् ।
टेस्ला र स्पेस एक्सलगायत धेरै कम्पनीहरू मस्ककाे स्वामित्वमा छन् । उनका कम्पनीहरूसँग धेरै सरकारी सम्झौता छन् । मस्कका कम्पनीहरू विशेषगरी टेस्ला र स्पेस एक्स सरकारको नीतिबाट धेरै लाभान्वित भएका छन् ।
ट्रेजरी विभागका अनुसार यस वर्ष अमेरिकी सरकारको खर्च करिब ६.७५ खर्ब डलर हुनेछ । मस्कले यसको एक तिहाइ बचत गर्ने कुरा गरिरहेका छन् । चुनावी अभियानका क्रममा ट्रम्पले देशको ऋण घटाउने कुरा गरेका थिए तर उनले यस सम्बन्धमा कुनै खास योजना भने पेस गरेका छैनन् ।
मस्कले ट्रम्प र अन्य रिपब्लिकन पार्टीका उम्मेद्वारहरूका लागि कम्तीमा १३२ मिलियन डलर खर्च गरेका छन् । उनी २०२४ को चुनावमा सबैभन्दा बढी चन्दा दिने व्यक्तिहरूको शीर्ष सूचीमा समेत परेका छन् । मस्क २७२ बिलियन डलरको साथ विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । (एजेन्सीको सहयाेगमा )
Copyright © 2025 Bikash Media Pvt. Ltd.