२०८१ कार्तिक १३ गते २०:२३ विकासन्युज
काठमाडौं । जेपी मोर्गन चेसका सीईओ जेमी डिमोनले विश्वले ठूलो खतराको सामना गर्ने चेतावनी दिएका छन् । युक्रेन र मध्यपूर्वमा जारी युद्ध, रुस–चीनको बढ्दो निकटता र इरान–उत्तर कोरियाको गठबन्धन विश्वका लागि ठूलो खतरा बन्न सक्ने उनको विश्वास छ ।
डिमोनले भने, ‘तेस्रो विश्वयुद्ध सुरु भइसकेको छ । यो विश्व अर्थतन्त्रका लागि ठूलो खतरा हो । यसलाई गम्भीरतापूर्वक लिइएन भने यसको परिणाम निकै नराम्रो हुनसक्छ ।’
वासिङ्टनमा इन्स्टिच्युट अफ इन्टरनेशनल फाइनान्सको वार्षिक बैठकमा डिमोनले उक्त कुरा बताएका हुन् । बिजनेस इनसाइडरको रिपोर्टका अनुसार उनले अमेरिकाका शत्रुहरू विश्व व्यवस्था परिवर्तन गर्न चाहने बताए । रुस–युक्रेन र इजरायल–हमास द्वन्द्व नयाँ विश्वयुद्धमा परिणत हुनसक्ने उनकाे भनाइ छ ।
सीईओ डिमोनले आफ्नाे बैंकको जोखिम व्यवस्थापन टोलीले गरेकाे कामले सबैलाई अचम्म पार्ने बताए ।
सुरु भइसक्यो तेस्रो विश्वयुद्ध
डिमोनको अनुसार जोखिम धेरै उच्च छ । तेस्रो विश्वयुद्ध सुरु भइसकेकाे छ । धेरै देशकाे भूमिमा लडाईंहरू भइरहेकाे छ । चीन र रुसले दोस्रो विश्वयुद्धपछि पश्चिमा राष्ट्रले स्थापित गरेको व्यवस्थालाई भत्काउने कुरा गरिरहेका छन् । यो धम्कीलाई गम्भीरतापूर्वक नलिए नतिजा नराम्रो हुनसक्ने चेतावनी उनकाे छ ।
डिमोनले भने, ‘यो समस्या आफै समाधान हुन्छ भन्ने भ्रममा बस्नु हुँदैन ।’
उनले आगामी १०० वर्षसम्म लोकतान्त्रिक पश्चिमी संसारका लागि यसलाई उचित रूपमा समाधान गर्न कदम चाल्नुपर्नेमा जोड दिए ।
डिमोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनविरुद्धको युद्धलाई गम्भीर खतरा भनेका छन् ।
‘ पुटिनकाे युक्रेनविरुद्धकाे युद्ध खतरनाक छ । हामी स्पष्ट हुनुपर्दछ कि हामीले त्यहाँ नराम्रो नतिजा देख्न सक्दैनौं । हामीले कहिल्यै एक व्यक्तिले परमाणु ब्ल्याकमेलको धम्की दिने परिस्थिति देखेका छैनाैं । यदि यसले तपाईंलाई डर देखाउँदैन भने अब तपाईं डराउनु पर्छ,’ उनले भने ।
डिमोनले आणविक हतियारको प्रसारलाई मानवजातिको लागि सबैभन्दा ठूलो खतराको रूपमा वर्णन गरे । उनले भने, ‘यदि इरानले आणविक बम प्राप्त गर्यो भने अन्य धेरै देशहरूले पनि त्यस्तै गर्नेछन् ।
विश्वव्यापी आर्थिक स्थिरताको आवश्यकतामा जोड
युक्रेनको युद्ध र हमास र हिजबुल्लाह विरुद्ध इजरायलको आक्रमणको सन्दर्भमा डिमोनले यसले छोटो अवधिमा आर्थिक नोक्सान निम्त्याउन सक्ने बताए । सबैभन्दा महत्त्वपूर्ण कुरा- यसको प्रभाव दीर्घकालीन रूपमा गम्भीर हुनेछ ।
डिमोनले मुद्रास्फीतिको दर सुस्त रहेको बताए । अमेरिकी अर्थतन्त्र मन्दीबाट जोगिएको छ । तर, धेरै महत्त्वपूर्ण मुद्दाहरू बाँकी छन् । यसमा ठूलो वित्तीय घाटा, पूर्वाधार आवश्यकता, व्यापार पुनर्संरचना र विश्वको पुनर्मिलन समावेश छ ।
उनले विश्वव्यापी आर्थिक स्थिरताको आवश्यकतालाई जोड दिए । डिमोनले जेपी मोर्गनले नियमित रूपमा विश्वव्यापी अस्थिरता परिदृश्यहरूको मूल्याङ्कन गरिरहने बताए । डिमाेनकाे चेतावनी रे डालियोसँग मिल्दाेजुल्दाे छ ।
जेपी मोर्गन चेस अमेरिकाको मल्टीनेसनल फाइनान्स कम्पनी हो, जसकाे हेडक्वार्टर न्यू याेर्कमा रहेकाे छ । जेमी डिमोन सन् २००५ देखि यस कम्पनीकाे सीईओकाे रूपमा कार्यरत छन् । (एजेन्सीहरूको सहयाेगमा )
Copyright © 2025 Bikash Media Pvt. Ltd.