साफ वुमेन्स च्याम्पियनसिप : सडकमा लाइन लगाएर टिकट बिक्री, वालेटलाई नकाट्न उर्दी

  २०८१ कार्तिक १४ गते १२:४१     विकासन्युज

काठमाडौं । नेपाल र बंगलादेशबीच साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदैछ । दशरथ रंगशालामा हुने फाइनल खेल हेर्न नेपाली खेलप्रेमी तथा शुभचिन्तकहरू तम्तयार छन् ।

साफ वुमन्स च्याम्पियनसिपका ७ संस्करणमध्ये योसमेत गरी नेपाल ६ पटक फाइनलमा पुगेको छ तर अहिलेसम्म उपाधि उचाल्न सकेकाे छैन । यो पटक उपाधि उचाल्ने दाउमा नेपाल छ । फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गरेर उपाधि हात पारेर नेपाली दर्शकलाई खुसी दिलाउने रणनीतिमा नेपाली फुटबल टिम छ ।

यसअघि नेपाल र बंगलादेशबीच १२ खेल भएका छन् । जसमध्ये ६ खेल नेपाल र १ खेलमा बंगलादेशले जितेकाे छ भने ५ खेल बराबरी भएको छ ।

नेपाली टिमलाई साथ दिनका लागि खेलप्रेमीहरू बिहानैदेखि लाइन लागेर टिकट काटिरहेका छन् । बेलुका साढे ६ बजेदेखि सुरु हुने भए पनि टिकटका लागि भने बिहानैदेखि सर्वसाधारण लाइनमा छन् ।

यसअघि नेपाल र भारतबीच सेमिफाइनलमा रंगशालाको दर्शक क्षमताभन्दा बढी टिकट बिक्री भएपछि फाइनलको टिकट भने एन्फा आफैले बिक्री गरिरहेको छ । तर, त्यसको चौतर्फी विरोध भइरहेको छ ।

फाइनल खेलमा कम टिकट काटेर दर्शक कम हुने वातावरण सिर्जना गरिरहेको आरोप सामाजिक सञ्जालमा छ । सूचना प्रविधिको युगमा लाइन लगाएर टिकट काट्न लगाउनु उचित नभएको भन्दै सामाजिक सञ्जाल एन्फाको विरोध भइरहेको छ ।

यसअघि टिकट बिक्रीका लागि जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोर्ट्स् एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गर्दै एन्फाले आफै टिकट बिक्री गरिरहेको हो ।

जावलाखेल खेल मैदान, एन्फा मुख्यालय सातदोबाटो र भद्रकालीस्थित आर्मी अफिसर्स केन्द्रमा टिकट बिक्री केन्द्र राखिएको छ । माउन्ट एभरेस्टले ८० लाख रुपैयाँमा टिकट बिक्री अधिकार प्राप्त गरेको थियो ।

एन्फाले साधारणतर्फ ११ हजार र भीआईपी प्यारापिटतर्फ १ हजार मात्र टिकट बिक्री गर्ने बताएको छ । रंगशालाको क्षमता १५ हजार मात्रै भए पनि त्यो दिन करिब २० हजार दर्शक थिए ।

एन्फाले वालेट कम्पनीलाई पनि टिकट नकाट्न उर्दी गरेको बुझिएको छ । यसअघि वालेट कम्पनी खल्तीले टिकट काट्दै आएको थियो । साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकिएको छ ।

खेल हेर्नका लागि टिकट नपाएका सर्वसाधारणका लागि काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँमा प्रत्यक्ष प्रसारण देखाउने भएको छ । महानगरले टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.