चीन, रुस र भारतको गठबन्धनबाट अमेरिका चिन्तित, खतरा बन्न सक्छ ब्रिक्स र जी-७

  २०८१ कार्तिक १५ गते ११:३०     विकासन्युज

काठमाडौं । भारत, चीन र रुसको त्रिपक्षीय गठबन्धनबाट अमेरिका र त्यसका युरोपेली सहयोगीहरू असन्तुष्ट छन् ।  यी तीनसँग ब्रिक्समार्फत विश्वव्यापी व्यापारको गतिशीलता परिवर्तन गर्ने शक्ति छ । त्यसैले अमेरिका र युराेपेली देशहरू असन्तुष्ट भएका हुन् ।

इवाई इन्डियाले बुधबार विश्वव्यापी व्यापारमा ब्रिक्स प्लस समूहको प्रभुत्व बढ्दै गएको जनाएकाे छ । सन् २०२६ सम्म ब्रिक्स समूहले जी-७ देशहरूलाई विश्वव्यापी व्यापारमा पछाडि पार्न सक्छन् ।

ब्रिक्स प्लस देशमा भारत,  रुस र चीनको भूमिका प्रमुख छ । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको ब्रिक्समा अब पाँच देश थपिएका छन् । जसमा इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स पर्छन् ।

इवाईको ‘इकोनोमी वाच’ प्रतिवेदनअनुसार विश्वव्यापी आयात-निर्यातमा ब्रिक्स प्लस देशहरूको हिस्सा द्रूत गतिमा बढिरहेको छ । विश्वव्यापी व्यापारिक वस्तु निर्यातमा ब्रिक्स प्लस समूहको हिस्साले २०२६ सम्ममा जी-७ समूहलाई उछिन सक्छ ।

इवाई भारतका मुख्य रणनीति सल्लाहकार डीके श्रीवास्तवले ब्रिक्स प्लस समूहले विश्वव्यापी व्यापारिक वस्तु निर्यातमा जी-७ समूहलाई २०२६ सम्म उछिन्ने दावी गरे ।

श्रीवास्तवका अनुसार ब्रिक्स प्लस समूहले अन्तर्राष्ट्रिय व्यापार र लगानी लेनदेनलाई सहज बनाउन नयाँ प्लेटफर्म सिर्जना गरिरहेको छ । यो प्लेटफर्म अहिलेकाे स्वीफ्ट प्लेटफर्मको सस्ताे विकल्प बन्न सक्छ ।

इवाई इकाेनाेमी वाचकाे अक्टोबर संस्करणले विश्वव्यापी व्यापार स्थितिमा महत्त्वपूर्ण परिवर्तनहरू आउने संकेत गरेकाे छ ।

निर्यात र आयातमा आफ्नो हिस्सा बढाउँदै ब्रिक्स प्लस

प्रतिवेदनका अनुसार ब्रिक्स प्लस समूहले वस्तु निर्यात र आयातमा आफ्नो हिस्सा द्रूत गतिमा बढाइरहेका छन् । सन् २००० देखि २०२३ सम्म विश्वव्यापी व्यापारिक निर्यातमा ब्रिक्स प्लस समूहको अंश १०.७ प्रतिशतबाट २३.३ प्रतिशतमा पुगेको छ । यो १२.६ प्रतिशतको उत्कृष्ट वृद्धि हो ।

यसको विपरित जी-७ को हिस्सेदारी घटेको छ । ४५.१ प्रतिशतबाट घटेर २८.९ प्रतिशतमा झरेको हाे । यसैबीच, बाँकी विश्वले अपेक्षाकृत स्थिर हिस्सेदारी कायम गरेको छ । याे ४४.२ प्रतिशतबाट बढेर ४७.९ प्रतिशत पुगेको छ ।

इवाईले यो प्रवृत्तिले विश्वव्यापी व्यापार क्षेत्रमा ब्रिक्स प्लस समूहको बढ्दो महत्त्वलाई झल्काउने उल्लेख गरेकाे छ । यसले बहुध्रुवीय विश्वव्यापी आर्थिक परिदृश्यतर्फ सम्भावित परिवर्तनलाई सङ्केत गर्छ ।

ब्रिक्सको १६औं वार्षिक ब्रिक्स शिखर सम्मेलन रुसकाे तातारस्तानको कजान सहरमा सम्पन्न भइसकेकाे छ ।

के हो ब्रिक्स समूह ?

सन् २००१ मा गोल्डमन स्याक्सका एक अर्थविद् जिम ओ’नीलले ब्राजिल, रुस, भारत र चीनलाई बुझाउन संक्षिप्त रूपमा ‘ब्रिक’ शब्द दिएका थिए । उनले यी देशहरू सन् २०५० सम्म विश्वको अग्रणी अर्थतन्त्र बन्ने भविष्यवाणीसमेत गरेका थिए।

यी ठूला र मध्यम आय भएका तर द्रूत आर्थिक वृद्धि भइरहेका देशहरू हुन् ।

सन् २००६ मा ती चारवटा देश मिलेर ब्रिक समूह गठन गर्ने निर्णय गरे । सन् २०१० मा दक्षिण अफ्रिका आबद्ध भएपछि त्यो ‘ब्रिक्स’ बनेकाे हाे ।

ब्रिक्समा इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) पनि सम्मिलित भएका छन् ।

आईएमएफ र विश्व ब्याङ्कजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सुधार गर्ने उपायको खोजी गर्नु र उदीयमान अर्थतन्त्रहरूको ‘आवाज र प्रतिनिधित्व’ सिर्जना गर्नु ब्रिक्सको उद्देश्य हो ।

सन् २००९ देखि ब्रिक्स राष्ट्रले वार्षिक रूपमा औपचारिक शिखर सम्मेलन गर्दै आएका छन् । जसमा सदस्य राष्ट्रहरूले पालैपालो आयोजना गर्दै आएका छन् ।

पहिलो पाँच सदस्यीय ब्रिक्स शिखर सम्मेलन सन् २०११ मा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.