२०८१ कार्तिक १५ गते १४:१५ विकासन्युज
काठमाडाैं । बीमा कम्पनीहरूको लेखापरीक्षण भएको र नभएको वित्तीय विवरणमा धेरै अन्तर आएपछि नियामकले त्यसको मनासिव कारण खुलाउनु पर्ने व्यवस्था गरेको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीहरूले लेखापरीक्षण नभएको विवरण र लेखापरीक्षण भएको विवरणबीच धेरै अन्तर आउन थालेपछि यस्तो व्यवस्था गरेको हो ।
प्राधिकरणले सम्पूर्ण बीमा कम्पनीहरूलाई एक परिपत्र जारी गर्दे लेखापरीक्षण भएकाे र नभएकाेमा १० प्रतिशत रकम फरक देखिए मानसिव कारण खुलाउन भनेकाे हाे ।
परिपत्रअनुसार बीमा कम्पनीले लाभांश स्वीकृति माग गर्दा आर्थिक वर्षको चौथो त्रैमासिक अवधिको त्रैमासिक वित्तीय विवरण र वार्षिक वित्तीय विवरणको स्टेटमेन्ट अफ फाइनान्सियल पोजिसन, स्टेटमेन्ट अफ प्रोफिट एण्ड लस तथा स्टेटमेन्ट अफ अदर कम्प्रेहेन्सिभ इन्कम विवरणको प्रत्येक शीर्षकमा देखिएको रकमको भेरियन्स प्रतिवेदनसमेत पेश गर्नुपर्ने छ ।
साथै उक्त भेरियन्स प्रतिवेदनको कुनै पनि शीर्षकमा १० प्रतिशत वा सोभन्दा बढी रकमको फरक देखिएमा सोको मनासिव कारण समेत खुलाउन प्राधिकरणले परिपत्र जारी गरेको छ ।
यस्तै, बाह्य लेखापरीक्षकको लङ फर्म अडिट रिपोर्ट पनि प्राधिकरणमा पेश गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.