पश्मिनाको कच्चा पदार्थ डोल्पामा स्रोत पहिचान, आयात घटाउने प्रयासमा उद्योगी

  २०८१ कार्तिक १६ गते ७:५६     विकासन्युज

काठमाडौं । पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुने च्याङ्ग्राको भुवा आयात घटाउन उद्योगीहरूले डोल्पामा स्रोतको पहिचान गरेका छन् । डोल्पाको छार्काताङसेन गाउँपालिकामा पुगेर बिहीबार काठमाडौं फर्किएको नेपाल पश्मिना उद्योग सङ्घको टोलीले म्याग्दीको बेनीमा पत्रकारसँगको भेटघाटका क्रममा त्यहाँ पनि सङ्कलन केन्द्र बनाएर भुवा लैजाने तयारी गरेको जानकारी दिए ।

सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले छार्काताङसेनमा पालिएका च्याङ्ग्राको भुवालाई पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्देश्यले स्थलगत भ्रमण, किसानसँग छलफल र नमूना सङ्कलन गरिएको जानकारी दिए ।

‘डोल्पामा प्रशस्त च्याङ्ग्रापालन भए पनि बजार नपाउने नभएकाले धेरै किसानले भुवा निकाल्ने गरेका छैनन् । निकालेको भुवा पनि चिनियाँ बजारमा जाने गरेको छ, पछिल्लो तीन वर्षयता मुस्ताङबाट भुवा सङ्कलन गरेर लैजाँदै आएका छौँ । डोल्पाको पनि भुवा थपियो भने कच्चा पदार्थको आयात कम हुन्छ,’ उनले भने ।

डोल्पामा भुवाको सम्भाव्यता अध्ययनका लागि अध्यक्ष लामिछानेको नेतृत्वमा सङ्घका सचिव गीता श्रेष्ठ, कार्यकारी निर्देशक सृजना भट्ट, सल्लाहकार भीम शेरचन, उद्योगी किन्चु श्रेष्ठ र नेपाल फाइवर प्रोसेसिङ प्रालिका सञ्चालक छिरिङवाङदी गुरुङको टोली छार्का गएको थियो ।

कात्तिक ८ गते जोमसोमबाट डोल्पा गएको टोलीले छार्काका च्याङ्ग्रा फार्म अवलोकन, भुवाको नमूना सङ्कलन र किसान र जनप्रतिनिधिसँग छलफल गरेर फर्किएको हो । छार्काताङसेन गाउँपालिकाका उपाध्यक्ष कर्मा डुण्ढुकले भुवाको बजार सुनिश्चित गर्न, सङ्कलन गर्ने सीप र प्रविधि सिकाउन र सङ्कलन केन्द्र बनाउन प्रस्ताव गरेका थिए ।

मुस्ताङ हुँदै छार्का सडक सञ्जालमा जोडिन लागेको र बजार नजिक पर्ने भएकाले भुवा बिक्री गर्न पनि सजिलो हुने उनले बताए । समुद्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको छार्काका करिब एक सय घर किसानले ३० हजारभन्दा बढी च्याङ्ग्रा पालेका छन् ।

वैशाख, जेठ र असार च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । बजारको सुनिश्चितता नभएकाले भुवा ननिकाल्ने भएकाले च्याङ्ग्राको शरीरबाटै झरेर खेर जाने गरेको छार्काका किसान कुन्साङ नामग्यालले बताउनुभयो । भुवाले बजार पाएमा च्याङ्ग्रापालक किसानले अतिरिक्त आम्दानी गर्न पाउने उनले बताए ।

भुवाको नमूनाको गुणस्तर परीक्षण गरेपछि उपयुक्त देखिएमा किसानलाई भुवा सङ्कलन गर्ने आधुनिक सीप सिकाउने, प्रविधि हस्तान्तरण गर्ने र सङ्कलन केन्द्र स्थापना गरेर खरिद गरिने सङ्घका सचिव गीता श्रेष्ठले बताए ।

सङ्घको समन्वयमा मुस्ताङबाट २०७९ मा १ करोड ३४ लाख रुपैयाँ मूल्यको २ हजार किलोग्राम, २०८० मा ९० लाख रुपैयाँको भुवा खरिद भएको थियो । यस वर्ष प्रतिकिलो ४ हजार ५ सय रुपैयाँका दरले १ हजार ६सय किलोग्राम भुवा खरिद गरेर लोमान्थाङको सङ्कलन केन्द्रमा राखिएको छ ।

च्याङग्राको भुवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । डोल्पामा चौरीको भुवालाई पनि कच्चा पदार्थका रूपमा प्रयोग गर्न अध्ययन भएको छ । प्राकृतिक रूपमा विरलै उत्पादन हुने च्याङ्ग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ ।

नेपालबाट निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गरेर बनाएको धागो कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक ३ अर्ब रुपैयाँको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । विदेशबाट कच्चा पदार्थ आयात घटाउन स्वदेशकै किसानबाट च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी किच्नु श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.