मादलले बजार पाएपछि जुठे बादी प्रसन्न

  २०८१ कार्तिक १७ गते ९:१९     विकासन्युज

काठमाडौं । घोराही उपमहानगरपालिका–१४ झिगौंराका जुठे बादीलाई हिजोआज मादल बनाएर बिक्री गर्न भ्याइनभ्याइ छ । उनी यस वर्षको दसैंँ र तिहारको हालसम्म नयाँ मादल बिक्री र पुराना मादलको मर्मत गरी डेढ लाख रुपैयाँ बढी आम्दानी गरेको बताउँछन् ।

पछिल्लो समय नयाँ मादल खरिद गर्ने भन्दा पुराना मादल खरिदका लागि आउने गरेको उनले सुनाए ।

‘पुराना मादल मर्मत गर्दा कम समयमा पनि राम्रो आम्दानी हुने गर्दछ । अरु बेला सुनसान हुने हाम्रो व्यवसाय दसैं-तिहारको अवसरमा बढोत्तरी हुन्छ । दसैँमा नाच्ने र तिहारमा देउसी-भैलो खेल्नका लागि मादलको माग बढी हुने गरेको छ । जसले गर्दा राम्रो आम्दानी हुन्छ,’ बादीले भने ।

आम्दानी मात्रै होइन आफ्नो पुस्ताले यो पेसा नै संरक्षण गरिरहेको उनको भनाइ छ । ‘पछिल्लो समय मादल बनाउन जानेको मानिस पाउन समस्या छ । मैले सानैमा बुबा-बाजेबाट मादल, बाँसुरी र ढोलक बनाउन सिके, त्यही सीपले अहिले दैनिकी चलाइरहेको छु । तर अहिलेको पुस्तामा मादल बनाउने सीप छैन । न आकर्षण छ,’ बादी भने ।

घोराहीमा विगत ५० वर्षदेखि निरन्तर मादल बनाउने र बिक्री गरेर आयआर्जन भइरहेको बताउने उनी यही कर्मले घरपरिवारको सम्पूर्ण गर्जो टार्ने काम भइरहेको बताउँछन् ।

‘हाम्रो अरु पेसा सङ्कटमा पर्यो । समय बदलिँदै जाँदा यो पेसा पनि विस्तारै हराउला तर पनि त्यो सीप भएकाले हाल हातमुख जोर्न सहज भएको छ । योभन्दा अरु सीप पनि छैन । उमेरले साथ दिएसम्म आफनो पेसा छोड्ने मन छैन,’ उनको कथन छ ।

मादल बनाउने मानिसको अभावसँगै पछिल्लो समय मादल बनाउन आवश्यक काठ, छाला र खरी लगायत सामग्री पाउनै समस्या भएको जुठे बादीले समस्या सुनाए ।

‘चाडपर्वको समय छ । नयाँ मादल किन्न तथा पुराना मादल मर्मतका लागि आजभोलि दैनिक १५/२० जना मानिसहरु आउने गरेका छन् । तर एक्लै भएकाले काम गर्न समस्या छ । त्यसैमा आवश्यक सामाग्री पनि सजिलै पाइँदैनन् । त्यसैले योबेला मागअनुसार काम गर्न कठिन छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.