२०८१ कार्तिक १८ गते ७:२६ विकासन्युज
काठमाडौं । लिन नआएपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा ४० हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएको छ ।
कार्यालयका कम्प्युटर प्राविधिक प्रताप पण्डितले नयाँ परिचयपत्रका लागि दैनिक १२० देखि १५० जनासम्म आउने गरे पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने २५ देखि ३० जना मात्र आउने गरेको बताए । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म २ हजार ७०१ जनाले नयाँ फाराम दर्ता गरेका छन् भने २ हजार ५ जनाले परिचयपत्र लगेका छन् ।
चालु आवको प्रथम त्रैमासिकमा राहदानीतर्फ पुरुष २ हजार १७, महिला १ हजार ३३६, नाबालक ४९ गरी ३ हजार ४०१ जनाले सिफारिस लिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार नागरिकतातर्फ वंशजको आधारमा महिला ७८५, पुरुष ७५१ गरी १ हजार ५३६ जनाले नागरिकता लिएका छन् ।
यस्तै १ हजार १२३ महिला र १ हजार १८३ पुरुषले नागरिकताको प्रतिलिपी लिएका छन् । वैवाहिक अङ्गीकृततर्फ भने २ जनाले मात्र नागरिकता लिएका छन् ।
यसैगरी नाबालक परिचयपत्र ९२, आदिवासी जनजाति प्रमाणित २०७, दलित प्रमाणित १५१, विपन्न खसआर्य १५ र मुस्लिम ९ जनाले सेवा लिएका छन् । पेन्सन सिफारिसतर्फ २१३, तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण ५ र शरणार्थीका लागि यात्रा अनुमतिपत्र सिफारिस २ जनाले लिएका कार्यालयको तथ्याङ्क छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.