२०८१ कार्तिक १८ गते १३:२० विकासन्युज
काठमाडौं । बंगलादेशमा बिजुलीको संकट उत्पन्न हुने देखिएको छ । अडानी समूहले बंगलादेशलाई नोभेम्बर ७ सम्ममा बक्यौता तिर्न भनेको छ । रकम नतिरे अडानी पावरले बंगलादेशमा विद्युत् आपूर्ति बन्द गर्नेछ । यदि यस्तो भयो भने बंगलादेशमा बिजुली संकट आउन सक्छ । अहिले अडानी पावरले बंगलादेशमा आधा आपूर्ति बन्द गरेको छ ।
अडानी पावरले बंगलादेशलाई बिजुली आपूर्ति गर्दै आइरहेकाे छ । बंगलादेशले अडानी पावरलाई ८५० मिलियन डलर (लगभग ७ हजार २०० करोड भारु) तिरेको छ । यो रकम माग गर्न अडानी पावरले बंगलादेशको अन्तरिम सरकारसँग पटकपटक वार्ता गरे पनि समाधान हुन सकेको छैन । यस्तो अवस्थामा अडानीले बिजुली आपूर्ति काट्ने बताएको छ ।
यसभन्दा अघि अक्टाेबर ३१ सम्मको समयसीमा
टाइम्स अफ इन्डियाका अनुसार अडानीले बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) लाई बक्यौता तिर्न र भुक्तानीको सुरक्षा सुनिश्चित गर्न १७० मिलियन डलर (लगभग १ हजार ५ सय करोड भारु) को लेटर अफ क्रेडिट (एलसी) उपलब्ध गराउन आग्रह गरेको थियो । यसका लागि अक्टाेबर ३१ सम्मकाे समयसीमा तोकिएको थियो ।
स्रोतका अनुसार बीपीडीबीले बक्यौता रकमका लागि कृषि बैंकमार्फत एलसी जारी गर्न माग गरेको थियो । तर यो कदम विद्युत् खरिद सम्झौताको सर्तबमोजिम भएन । यसको एउटा कारण डलरको अभाव रहेको बताइएको छ । यही कारणले बीपीडीबीले अडानी पावरलाई एलसी दिन नसकेकाे बताइएकाे छ ।
बिजुली आपूर्ति आधा
अडानी पावर झारखण्ड लिमिटेडले एलसी नपाएपछि बंगलादेशमा विद्युत् आपूर्ति आधा बन्द गरेको छ । बंगलादेशमा विद्युत् संकट उत्पन्न भइसकेकाे छ ।
अडानी पावर झारखण्ड बंगलादेशको सबैभन्दा ठूलो बिजुली आपूर्तिकर्ता हो । त्यसपछि पायरा (१ हजार २४४ मेगावाट), रामपाल (१ हजार २३४ मेगावाट) र एसएस पावर १ (१ हजार २२४ मेगावाट) प्लान्टहरू छन् ।
अडानी पनि प्रभावित हुने
गोड्डा प्लान्टबाट बंगलादेशलाई विद्युत् आपूर्ति गरिँदै आइएकाे छ । यस प्लान्टबाट बिजुली खरिदकर्ता गर्ने बंगलादेश एकमात्र देश हाे । बंगलादेशमा आधा आपूर्ति बन्द भएपछि अडानी पावर झारखण्डले ८०० मेगावाटका दुई युनिटमध्ये एउटा बन्द गर्नुपरेको छ । यस्तो अवस्थामा यसको असर अदानी समूहमा पनि देखिनेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.