तिहार सकिएसँगै तराई/मधेसमा छठपर्वको रौनक सुरु

  २०८१ कार्तिक १९ गते ११:१२     विकासन्युज

काठमाडौं । तिहार सकिएसँगै तराई/मधेसमा छठपर्वको रौनक सुरु भएको छ ।

सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिइन्छ ।

अहिले वीरगञ्जसहित तराई–मधेसमा छठको रौनक सुरु भएको छ । लक्ष्मीपूजाको चार दिनपछि अर्थात कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत रूपमा आरम्भ हुन्छ ।

नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रूपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त देखिएका छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त छन् ।

मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई सजाउने कार्यसमेत तीब्र बनेको छ । पर्साको मुख्य आर्यनको केन्द्रमा रहेको घडीअर्वा पोखरी, रानीघाट र मुडी छठ को लागी दुलही झैं सिंगार्न सुरु गरिएको छ ।

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत रुपमा छठ पर्व समापन हुने गर्दछ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्यवस्तु अनिर्वाय रूपमा बार्ने चलन रहिआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.