२०८१ कार्तिक १९ गते १२:०२ विकासन्युज
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई अमेरिकी अदालतले ठूलो झट्का दिएको छ । क्यालिफोर्निया अदालतले ट्वीटर (अहिले एक्स)का पूर्वसीईओ पराग अग्रवाल र अन्य अधिकारीहरूलाई मस्कविरुद्ध मुद्दा दायर गर्न अनुमति दिएको हाे ।
ब्लुमबर्गको रिपोर्टअनुसार अदालतलाई भनिएको छ कि मस्कले २०२२ मा ट्वीटर किन्दा कुनै सूचनाबिना नै यी कार्यकारीहरूलाई बर्खास्त गरेको थियो । अधिकारीहरूले मस्कले आफूहरूलाई राजीनामा दिने मौका पनि नदिएकाे र उनले धोखापूर्वक बर्खास्त गरेको आरोप लगाएका छन् ।
पूर्वकार्यकारीहरूले मस्कविरुद्ध मुद्दा हालेका छन् । पराग अग्रवालबाहेक, पूर्व सीएफओ नेड सेगल, कानुनी र नीति प्रमुख विजया गड्डे र पूर्वट्वीटर जनरल काउन्सिल सीन एजेटले मस्क विरुद्ध मुद्दा दायर गरेका हुन् ।
के हाे पूरा विषय ?
मस्कले २०२२ मा ट्वीटर किनेका थिए र यसको नाम परिवर्तन गरेर ‘एक्स’ राखेका थिए । उनले कर्मचारीहरूलाई जागिरबाट बर्खास्त गरी पैसा र अन्य सुविधा (विच्छेदन तलब) नदिएको आरोप छ ।
पूर्वकार्यकारीहरूले मार्च २०२४ मा मस्कविरुद्ध उजुरी दिएका थिए । मस्कले आफूलाई एक वर्षको तलब र अन्य सुविधा दिने वाचा गरेको तर आफूले नपाएको उनीहरू बताउँछन् ।
मस्कविरुद्ध धेरै मुद्दा
मस्कविरुद्ध अन्य धेरै मुद्दा पनि विचाराधीन छन् । ट्वीटर खरिद गरेपछि उनले धेरै कर्मचारीलाई बर्खास्त गरेका थिए । यीमध्ये धेरै कर्मचारीहरूले मस्कलाई अनुचित रूपमा बर्खास्त गरेको आरोप लगाएका छन् ।
ट्वीटरका पूर्व कोर टेक महाप्रबन्धक निकोलस काल्डवेलले पनि मस्कविरुद्ध मुद्दा हालेका छन् । काल्डवेलले २० मिलियन डलरको क्षतिपूर्ति माग गरेका छन् ।
जुलाईमा मस्क र ‘एक्स’ले करिब ६ हजार कर्मचारीको तर्फबाट दायर गरेको ५० करोड डलरको मुद्दा जितेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.