२०८१ कार्तिक १९ गते १४:३० विकासन्युज
काठमाडौं । थाइल्याण्डका राजा महा वजिरालोङकोर्नलाई राजा राम दशौं भनेर चिनिन्छ । उनी संसारकै सबैभन्दा धनी राजा हुन् । ६६ वर्षीय वजिरालोङकोर्नले आफ्ना पिता भूमिबोल अदुल्यादेजको मृत्युपछि अक्टोबर २०१६ मा राजगद्दी सम्हालेका थिए । उनका बुबाले ७० वर्ष शासन गरेका थिए ।
भूमिबोल संसारमा सबैभन्दा लामो समय शासन गर्ने राजा थिए । मे २०१९ मा वजिरालोङकोर्नले राज्याभिषेक गरेका थिए । अचम्मको कुरा के छ भने बेलायतका राजा चार्ल्स तृतीय संसारभरका एक प्रभावशाली राजा हुन् । तर, उनी विश्वका शीर्ष १० धनी राजाको सूचीमा भने परेका छैनन् । उनको कुल सम्पत्ति लगभग ४४७ मिलियन अमेरिकी डलर अनुमान गरिएको छ। यता महा वजिरालोङकर्नको कुल सम्पत्ति भने ४३ अर्ब डलर छ ।
थाई शाही परिवारले शताब्दीयौंदेखि जम्मा गरेको विशाल सम्पत्ति र स्रोतसाधनलाई वजिरालोङकोर्नको सम्पत्तिको श्रेय मान्न सकिन्छ । रिपोर्टका अनुसार उनको ठूलो सम्पत्ति मुख्यतया रियल स्टेटमा उनकाे लगानीका साथै थाइल्यान्डकाे सबैभन्दा ठूलो सिमेन्ट कम्पनी र बैंकको स्वामित्वबाट आएको हो ।
थाइल्याण्डले आफूलाई संवैधानिक राजतन्त्रको रूपमा मान्यता दिँदै आएकाे छ । फक्स बिजनेसका अनुसार राजा महा वजिरालोङकर्नको अनुमानित कुल सम्पत्ति ३० अर्ब डलरदेखि ४५ अर्ब डलरको बीचमा छ ।
रोयटर्सका अनुसार उनका पिता भूमिबोल अदुल्यादेजलाई २०११ मा विश्व प्रसिद्ध पत्रिका फोर्ब्सले विश्वको सबैभन्दा धनी शासकको सूचीमा राखेको थियो । शासकको अधिकांश सम्पत्ति क्राउन प्रोपर्टी ब्यूरोबाट आउँछ ।
स्रोतका अनुसार क्राउन प्रोपर्टी ब्यूरोसँग थाइल्याण्डमा ६ हजार ५६० हेक्टर (१६ हजार २१० एकड) जमिन छ । यसअन्तर्गत देशभर ४० हजार भाडा सम्झौता छन् । जसमध्ये १७ हजार राजधानीमा छन् । राजा वजिरालोङकोर्नले यो सम्पत्तिको एक महत्त्वपूर्ण हिस्सा विरासतमा पाएका थिए । यसमा विशाल रियल स्टेट होल्डिङ, व्यापक व्यावसायिक हित र लगानीको ठूलो पोर्टफोलियो समावेश छ ।
चार सन्तानमध्ये एक छोरा
सन् १९५२ मा जन्मेका वजिरालोङकोर्न राजा भूमिबोल र रानी सिरिकिटका चार बच्चामध्ये दोस्रो र एकमात्र छोरा हुन् । थाइल्याण्डमा आफ्नो प्राथमिक शिक्षा पूरा गरेपछि वजिरालाेङकोर्नले बेलायत र अष्ट्रेलियाका निजी विद्यालयमा पढेका थिए । उनले क्यानबेरा, अष्ट्रेलियाको रोयल मिलिटरी कलेज डन्ट्रोनमा पनि अध्ययन गरेका थिए र अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयबाट सैन्य अध्ययनमा स्नातक डिग्री हासिल गरेका थिए ।
राजाको आधिकारिक जीवनीका अनुसार वजिरालोङकोर्न एक योग्य हेलिकप्टर र लडाकु पाइलट पनि हुन् । उनले रोयल थाई आर्मीमा क्यारियर अफिसरको रूपमा सेवा गरेका थिए ।
चार विवाहको कथा के हो ?
राजा महा वजिरालोङकर्नले आफ्नो वयस्क जीवनको अधिकांश समय विदेशमा बिताएका छन् । उनको जर्मनीमा घर समेत छ । उनले चार पटक विवाह गरिसकेका छन्, जसबाट उनका सात सन्तान छन् ।
बीबीसीका अनुसार सन् १९७७ मा राजा वजिरालोङकर्नले आफ्नी भतिजी राजकुमारी सोम्सावलीसँग विवाह गरेका थिए । डिसेम्बर १९७८ मा उनीहरूको पहिलो बच्चाकाे रूपमा राजकुमारी बज्रकितियाभाको जन्म भएको थियो । तर, त्यतिबेलासम्म उनको युवधिधा नामकी अभिनेत्रीसँग सम्बन्ध गाँसिएको थियो ।
१९७९ देखि १९८७ सम्म वजिरालोङकोर्नका पाँच सन्तान थिए । राजाले अभिनेत्रीसँग सन् १९९४ मा विवाह गरे । तर, १९९६ मा उनले सार्वजनिक रूपमा अभिनेत्री श्रीमतीको निन्दा गरे र आफ्ना चार छोराहरूलाई अस्वीकारसमेत गरे । उनीहरू त्यतिबेला बेलायतमा अध्ययनरत थिए ।
रिपोर्टमा वजिरालोङकोर्नले २००१ मा तेस्रो श्रीमती श्रीरास्मीसँग विवाह गरेको उल्लेख छ । २००५ मा तिनीहरूको अर्को छोरा राजकुमार दिपाङकोर्नको जन्म भयाे । महा वजिरालोङकोर्न आफ्नो राज्याभिषेक हुनुभन्दा केही दिनअघि मे २०१९ मा रानी सुथिदा बज्रसुधाबिम्बलक्षासँग विवाह गरेका थिए । दरबारले उनी रानी सुथिदा बन्ने र शाही परिवारको हिस्साकाे रूपमा शाही उपाधि र पदहरू धारण गर्ने घाेषणा गरेकाे थियाे । (एजेन्सीहरूकाे सहयाेगमा)
Copyright © 2024 Bikash Media Pvt. Ltd.