२०८१ कार्तिक १९ गते १६:१७ विकासन्युज
काठमाडौं । अमेरिकाका प्रशिद्ध लगानीकर्ता वारेन बफेटको कम्पनी बर्कशायर ह्याथवेले लगातार आफ्नो क्यास (नगद) वृद्धि गरिरहेको छ । तेस्रो त्रैमासिकमा कम्पनीको नगद सञ्चिति रेकर्ड ३२५.२ बिलियन डलर पुगेको छ ।
यो भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजको मार्केट क्यापभन्दा करिब ११७ अर्ब डलर बढी हो । मुकेश अम्बानीको कम्पनीको मार्केट क्याप हाल २०८ बिलियन डलरको आसपास छ ।
९४ वर्षीय बफेटले सन् १९६५ देखि बर्कशायरको नेतृत्व गर्दै आएका छन् र कम्पनीको बाघडोर उपाध्यक्ष ग्रेग एबललाई सुम्पने अपेक्षा गरिएको छ । प्रश्न यो छ- अमेरिकी बजार रेकर्ड स्तरमा छ भने बफेटले किन यति धेरै नगद जम्मा गरिरहेका छन् ?
अमेरिकाको एसएन्डपी ५०० इन्डेक्स अक्टोबर २०२३ देखि ४० प्रतिशतले बढेको छ । कम्पनीको १२ महिनाको इतिहासमा यो सबैभन्दा ठूलो छलाङ हो । बफेट आफ्नो कम्पनीलाई जोखिममा राख्न चाहँदैनन् । उनले आफ्नो नगद होल्डिङ मात्र बढाएका छैनन्, उनले आफ्नो ट्रेजरी बिल पनि बढाएर २८८ बिलियन डलरमा पुर्याएका छन् ।
बर्कशायर ह्याथवेले तेस्रो त्रैमासिकमा कुनै पनि कम्पनीको सेयर किनेको छैन भने गत वर्षको सोही अवधिमा कम्पनीले ३४५ मिलियन डलरकाे सेयर किनेको थियो । पछिल्लाे दुई वर्षमा कम्पनीको नगद मौज्दातमा उल्लेखनीय वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
वर्कशायरको नगद विश्वका धेरै कम्पनीको मार्केट क्यापभन्दा बढी
बर्कशायर ह्याथवेको नगद ब्यालेन्स विश्वका धेरै कम्पनीकाे मार्केट क्यापभन्दा बढी छ । तेस्रो त्रैमासिकमा कम्पनीले विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलको १४.३ बिलियन डलरको सेयर बेचेको छ ।
पछिल्ला दुई वर्षमा बफेटले १०० अर्ब डलरको एप्पलको सेयर बेचेका छन् । (एजेन्सीहरूकाे सहयोगमा)
Copyright © 2025 Bikash Media Pvt. Ltd.