सम्झनामा श्रवण दाई: करिअरको साथी र पारिवारिक बोण्डिङ

  २०८१ कार्तिक २० गते ८:३६     चंकी क्षेत्री

‘के छ चंकी ?’

‘ठिक छ दाई’

‘हिरो देखिएको छस् ।’

‘थ्याङ्क्यू दाई ।’

कात्तिक ७ गते समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको डिनर पार्टी थियो सोल्टी होटलमा । दाई (श्रवण रावल) र मेरो अन्तिम गफ त्यही थियो ।

दाईले मलाई धेरै माया गर्नु हुन्थ्यो । धेरै जसो तँ भन्नुहुन्थ्यो । कहिले तिमी भन्नुहुन्थ्यो । सगरमाथामा म सीईओ र दाई डिसीईओ हुँदा औपचारिक सम्बोधन गर्दा मात्र मलाई उहाँले सीईओसाव भन्नुहुन्थ्यो ।’

सोल्टीबाट उहाँ घर फर्किँदा सलिकोका सुवास दीक्षित, सिद्धार्थ  प्रिमियरका योगेशकृष्ण श्रेष्ठ, यूनाईटेड अजोडका कम्पनी सचिव लगायतलाई घरघरमा पुर्‍याइदिएर आफ्नो घर जानुभएको रहेछ ।

श्रवण दाईले राति सुतेको बेला घुरेको जस्तो ठूलो आवाज निकाल्नु भएछ । त्यो सुनेर दिदीले उहाँलाई बोलाउनु भएछ । त्यतिबेला दाईको बोली गइसकेको रहेछ ।

तत्काल दिदीले मलाई धेरै पटक फोन गर्नु भएछ । तर, मेरो फोन उठेन ।

सम्मेलनका क्रममा म निकै व्यस्त अनि थकित पनि थिएँ । होटलबाट घर फर्किएपछि मोबाइल साइलेन्समा राखेर म सुतेको थिएँ । फोन आएको थाहै पाइनँ ।

बिहानै श्रवण दाई रहनु भएन भन्ने खबर सुन्दा मलाई विश्वास नै लागेन । मलाई आफू सपनामा भए जस्तै लाग्यो । तर, दुःखको कुरो त्यो सपना थिएन, हकिकत थियाे ।

पारिवारिक बोण्डिङ

श्रवण दाई र मेरो पारिवारिक रूपमा नै निकै आत्मीयता थियो र छ पनि । हामी ओरियण्टल इन्स्योरेन्समा काम गर्थ्यौं । त्यतिबेलादेखि नै दाईसँग मेरो यति धेरै निकटता थियो कि उहाँले एक दिन बिहेको विषयमा सकसको कुरा सुनाउनु भयो ।

‘चंकी । घरबाट मलाई विवाह गर्न बुबाले बोलाउनु भयो,’ दाईले भन्नु भयो ।

मैले भनें, ‘के भयो त, गए भैहाल्यो । विवाह गर्नु, आउनु ।’

‘म यत्रो पढेको मान्छे । केटी देखेको नि छैन । बोलेको पनि छैन । फोटो हेरेको पनि छैन । बुबाले केटी टुङ्गो लगाउनु भएछ । मलाई सोधेको पनि छैन,’ दाईले मलाई सुनाउनु भयो ।

बुझ्दै जाँदा दिदी राम्रो हुनु हुँदो रहेछ । उहाँसँग नै विवाह भयो । दिदीको नाम मिना रावल । कुँवरको छोरी भएकाले मैले मिनालाई दिदी नै भन्न थालें । भाउजु भनिनँ, जबकि श्रवणलाई सधैं दाई भनें, सर कहिल्यै भनिनँ ।

मिना दिदी सुत्केरी हुँदा उहाँको छोरा आशिषलाई मेरो श्रीमतीले नुहाइदिन्थिन् । स्याहार्थिन् । मेरो श्रीमती सुत्केरी हुँदा पनि उहाँ दिदी आएर स्याहार्नुहुन्थ्यो । त्यो खालको बोण्डिङ थियो हाम्रो परिवारमा ।

तर, दाइले छोडेको त्यो रात बिना दिदीको फोन उठाउन सकिनँ । हस्पिटलमा पुगेपछि दिदीले फोन नउठाएकोमा दुःख मान्नु भयो । मलाई पनि असाध्यै ग्लानी भयो । विगत सम्झिएर भावुक भएँ । बोल्न सकिनँ ।

अचेल पनि सपनामा दाईसँग भेट हुन्छ, कुराकानी हुन्छ । ब्यूँझन्छु । सपना पनि विपना नै जस्तो लाग्छ । दाई अझै हुनुहुन्छ जस्तो लाग्छ ।

सँगैसँगै करिअर

मेरो करिअर सुरुवातदेखिकै श्रवण दाईसँग राम्रो सम्बन्ध भयो । उहाँले मुम्बईमा ग्राजुएशन सकेर ओरियण्टल नेपालमा काम सुरु गर्नुभएको रहेछ । उहाँले काम सुरु गर्दा म शंकरदेव कलेजमा बीबीए पढ्दै थिएँ । उहाँले जागिर थालेको तीन वर्षपछि म पनि सोही कम्पनीमा काम सुरु गर्न पुगें । श्रवण दाईको अण्डरमा म काम गर्थें । हाम्रो भेट सोही समयमा भएको हो ।

दाईले पनि भारतमा कलेज पढ्नु भएको हो । मेरो पनि स्कूलिङ भारतमै हो । त्यही भएर होला, हाम्रो सोंच्ने, बोल्ने, काम गर्ने, धेरै कुरा मिल्थ्यो । २०५० सालतिरको कुरा हो । ओरियण्टलमा श्रवण, विश्व तिमिला, अनिल शर्मा, म, वीरेन्द्र वैदवार, सरला प्रसाईंलगायत थियौं । ओरियण्टलमा श्रवण दाईहरू पछिको ब्याज हामी हो । त्यसमा म, वीरेन्द्र र सर्लाव थियौं । श्रवण दाई र म एउटै डिपार्टमेन्टमा पर्‍याैं ।

उहाँ घट्टेकुलो बस्नुहुन्थ्यो । म शंकरदेव पढ्थें । हाम्रो भेट पुतलीसडकमा हुन्थ्यो । हामी त्यहाँबाट गफ गर्दै कमलादी गणेशस्थान, दरबारमार्ग हुँदै अफिस जान्थ्यौं । अफिस ज्योति भवन, कान्तिपथमा थियो । फर्किँदा पनि सँगै आउँथ्यौं ।

केही महिनापछि दाई मार्केटिङ विभागमा जानु भयो । त्यसबेला कम्पनीभित्र काम गरेर अनुभव लिएकाले मात्रै मार्केटिङ गर्न पाइन्थ्याे । मार्केटिङमा गएपछि उहाँलाई अफिसले मोटरसाइकल पनि दियो । त्यसपछि दाईकै बाईकमा हामी अफिस आउने जाने गर्‍याैं ।

त्यहीबेला नेपाल एसबीआई बैंकले दाईलाई एसबीआई बैंकमा काम गर्न अफर गरेको थियो । यता बीमा कम्पनीले मोटरसाइकलसहितको सुविधा दिइसकेको थियो । बैंकले मोटरसाइकल नदिने भयो । उहाँले के गर्ने होला भनेर मलाई सोध्नु भएको थियो ।

त्यस समयमा बैंक र बीमा कम्पनीको तलब उस्तै थियो । यता अनुभव पनि भइसकेको अवस्था थियो । मोटरसाइकलसहितको सुविधा पनि पाइसकेको अवस्था थियो । बीमा मै काम गर्न मैले सुझाएँ । उहाँले पनि बीमा मै निरन्तरता दिने निर्णय लिनुभयो ।

केही वर्षमा दाई, म र वीरेन्द्रलगायत आधा दर्जन कर्मचारीले ओरियण्टल छोड्यौं । श्रवण, विश्व, अनिल दाईहरू नेको इन्स्योरेन्समा जानु भयो । म, वीरेन्द्रलगायत तत्कालीन यूनाइटेड इन्स्योरेन्समा काम सुरु गर्‍याैं ।

यूनाईटेडमा ५ वर्ष काम गरेपछि म सगरमाथा आएँ । वीरेन्द्र सिद्धार्थमा जोइन भए । दाईले नेकोमा नै गरिरहनु भयो । म सगरमाथामा डीसीईओ हुँदै सीईओ बनें । दाईले उता नेको छोड्ने समयमा धेरै कम्पनीबाट अफर आएको रहेछ । दाई सगरमाथामा आउन इच्छुक रहेको मैले पाएँ ।

‘हजुर मभन्दा सिनिअर । मेरो अण्डरमा हजुरलाई कसरी राख्नु,’ मैले भनें ।

त्यसपछि दाईले पनि भन्नुभयो, ‘तँ मेरो भाई होस्, कर्मले मभन्दा माथि छस् । म तेरो अण्डरमा भएर केही हुँदैन । म तँलाई साथ दिन्छु ।’ त्यसपछि उहाँ डीसीईओ बनेर सगरमाथा आउनु भयो । हामीले फेरि सँगै काम गर्ने मौका पायौं । सगरमाथामा सँगै पाँच वर्ष काम गर्‍याैं ।

श्रवण दाईसँग तत्कालीन सगरमाथा इन्स्योरेन्सको टिम ।

त्यसपछि उहाँलाई प्रुडेन्सियल इन्स्योरेन्सबाट सीईओको अफर आएछ । उहाँले मलाई भन्न अफ्ठ्यारो मान्नु भएछ । त्यतिबेला धेरै पटक मलाई भेट्नु भएको थियो । तर, मनको कुरा भन्न नसक्नु भएको रहेछ ।

एक दिन सुवास दीक्षितलाई लिएर उहाँ मकहाँ आउनु भयो । र, उहाँले भन्नुभयो, ‘मलाई सीईओको अफर आयो, के गर्नु ?’

‘एस, वेष्ट विसेज,’ मैले तत्काल भनें ।

उहाँ सीईओ बन्न योग्य मान्छे । पहिला नै सीईओ बन्नुपर्ने । उहाँभन्दा जुनिअर भए पनि म अनि  वीरेन्द्र सीईओ भइसकेका थियौं । विश्व, अनिल पनि सीईओ भइसकेका । योग्यता, क्षमता भएर पनि उहाँले मौका पाउनु भएको थिएन । उहाँलाई आएको त्यो अफरले मलाई खुसी लाग्यो । उहाँको बोली पुरै सुन्न नपाउँदै मैले जवाफ दिएँ ।

मैले त्यसो भनेपछि उहाँ ट्वाँ पर्नु भयो । साँच्चै भनेको चंकी भनेर फेरि सोध्नु भयो । मैले भनें, ‘हजुर यहाँ डीसीईओ हुनुहुन्छ । सीईओको अफर आयो भने म यहाँ बस्नु भनिरहन्छु त ! गो, वेष्ट विसेज, केही पर्‍याे भने म छु ।’

त्यसपछि उहाँ धेरै खुसी हुनुभयो । उहाँले मलाई कसरी भनौं भनेर केही दिनदेखि सोचिरहनु भएको रहेछ । मैले ओके भनेपछि उहाँ चकलेट बाँड्न थाल्नुभयो ।

पछि आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियलबीच मर्ज हुने भयो । उहाँ मर्जर कम्पनीको डीसीईओ हुने भएपछि मलाई भन्नु भएको थियो, ‘फेरि डीसीईओ हुने भईयो । त्योभन्दा पहिला त्यहाँ नगएर यही बस्नु पर्ने रहेछ ।’

आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियलबीच मर्ज सकिनै लाग्दा यूनाईटड र अजोड पनि मर्ज प्रक्रियामा गए । मर्ज भएर बन्ने कम्पनीको सीईओमा मलाई अफर आयो । मैले भनें, ‘म आउँदिनँ । तर, म कसैलाई सिफारिस गर्न सक्छु ।’

पहिला श्रवणसँग कुरा गरें, त्यसपछि उहाँको नाम रिफर गरें । प्रुडेन्सियल र आईएमईको मर्जरकै दिन श्रवण रावल यूनाईटेड अजोडको सीईओ बन्दैछन् भन्ने समाचार आयो । मर्जर कार्यक्रममा हामी सँगै थियौं । मैले उहाँलाई सोधें, ‘के हो दाई हजुरको नाम पत्रिकामा आयो त ? ‘त्यै त’ उहाँले हास्दै भन्नुभयो । पछि उहाँ सोही कम्पनीको सीईओ बन्नुभयो ।

रमाइलो मान्छे

श्रवण धेरै रमाइलो मान्छे हुनुहुन्थ्यो । अफिसमा आफूभन्दा माथिल्लो तहका बोसहरूसँग कसरी कुरा गर्ने ? आफूभन्दा सानासँग कसरी कुरा गर्ने ? क्लाईन्टसँग कसरी डिल गर्ने भन्नेबारे उहाँसँग सिक्न सकिन्थ्यो । गाली गर्ने ठाउँमा तँ-तँ पनि लगाउनु हुन्थ्यो । क्लाईन्टसँग ‘आईस्यो गईस्यो’ भन्ने कुरा गर्न उहाँ सिपालु हुनुहुन्थ्यो । सबैसँग मिलनसार र इमान्दार व्यक्तित्व हुनुहुन्थ्याे उहाँ । ‘नो लप्पन छप्पन’ । काममा ‘डेडिकेटेड र स्टे फरवार्ड’ हुनुहुन्थ्यो उनी ।

उहाँ आफ्नो स्वास्थ्यको बारेमा भने खासै सोंच्नु हुन्थेन । उहाँ ‘हेल्थ कन्सिअस’ भने होइन । ड्रिङ्क्स गर्ने मान्छे हो । सिगरेट पनि लिनु हुन्थ्यो । एक्सरसाइज खासै गर्नु हुन्थेन । तर, पनि उहाँ फिट नै देखिनु हुन्थ्यो । जहिले पनि स्मार्ट नै भएर हिँड्नुहुन्थ्यो ।

अन्तिम सुझाव

अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा याक एण्ड यति होटलमा पनि दाईले मलाई -‘चंकी तँ इन्टनेशनल भइसकिस्, तेरो काम देखेर मलाई खुशी लाग्छ,’ भन्नुभयो । अन्तर्राष्ट्रिय सम्मेलन सफल पार्दै गएको र विकासोन्मुख देशहरूका बीमाकर्ताको छाता संगठन (एआईआरडीसी) को बोर्ड अफ ट्रस्टीमा म चयन भएको प्रसंगलाई लिएर उहाँले मलाई इन्टनेशनलको ट्याग थमाउनु भएको थियो । नेपाल बीमक संघको नेतृत्व योग्य व्यक्तिलाई दिएर मलाई संघबाट बाहिरिन पनि उहाँले सुझाउनु भएको थियो । त्यो नै मलाई उहाँको अन्तिम सुझाव भयो ।

अन्तिम दिन

त्यो दिन (कार्तिक ७ गते) उहाँ आफ्नो अफिसको सबै डिपार्टमेन्टमा गएर सबैलाई भेटेर निस्कनु भएको रहेछ । सोल्टी होटलमा उहाँले चिनेको नचिनेको सबैसँग गफ गर्नुभएछ । हाम्रै स्टाफहरूलाई पनि उहाँले भन्नु भएको रहेछ, ‘चंकीको अण्डरमा मैले काम गरें, मभन्दा सिनिअर भएपनि उसले मलाई जहिले दाईजस्तो सम्मान गर्‍याे ।’

भोलिपल्ट मेरो स्टाफले मलाई सुनाउँदा दाई स्वर्गीय हुनुभइसक्नु भएको थियो । श्रवण दाईको निधनले यूनाईटेड अजोड इन्स्योरेन्सले सीईओ गुमायो । बिना दिदीले श्रीमान, आशिषले बुबा, मैले दाई तथा साथी गुमाएँ । तर, सिङ्गो बीमा क्षेत्रले यस क्षेत्रको तारा गुमाएको छ ।

प्रिय श्रवण दाईप्रति हार्दिक श्रद्धाञ्जली !

(सगरमाथा इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीसँग भएको कुराकानीमा आधारित)

One comment on "सम्झनामा श्रवण दाई: करिअरको साथी र पारिवारिक बोण्डिङ"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.