२०८१ कार्तिक २० गते ७:२३ विकासन्युज
काठमाडौं । ह्यातले नेपालमा ब्राण्ड विस्तार गर्न ‘ह्यात रेजेन्सी लुम्बिनी’ सञ्चालन गर्ने भएको छ । ह्यातले लुम्बिनीमा १७५ कोठाको ‘ह्यात रेजेन्सी लुम्बिनी’ सञ्चालन गर्ने भएको हो ।
उक्त होटल गोल्यान समूहले दोस्रो होटलका रूपमा सञ्चालनमा ल्याउने भएको हो । शिकागो हयात होटल्स कर्पोरेसनले गोल्यान ग्रुपको वेदा होस्पिटालिटी प्रालिसँग हायात रेजेन्सी लुम्बिनीको व्यवस्थापन गर्ने गरी सम्झौता गरेको हो ।
भगवान बुद्धको जन्मस्थल लुम्बिनी, शान्त र आध्यात्मिक महत्व बोकेकोे नगर भएकाले संसारभरका पर्यटक आकर्षित हुने गरेका छन् । विश्व सम्पदा सूचीमा समेत सुचीकृत लुम्बिनी ऐतिहासिक सम्पदाहरूको विशाल बगैंचा हो । जसमा अशोक स्तम्भ, विभिन्न गुम्बा र अन्तर्राष्ट्रिय मन्दिरहरू रहेका छन् । जसले विश्वभरका बौद्ध धर्मावलम्बीका लागि केन्द्र बिन्दु हो ।
ह्यात रीजेन्सी लुम्बिनी सन् २०२८ सम्ममा सञ्चालन गर्ने लक्ष्य रहेको भारत र दक्षिण–पश्चिम एशियाका विकासका उपाध्यक्ष ध्रुवा राठौरले जानकारी दिए । उनका अनुसार नेपाल दक्षिण–पश्चिम एशिया क्षेत्रमा ह्यातको विकासका लागि बनाइएका रणनीतिहरुमा ह्यात रेजेन्सी ब्रान्डले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
ह्यात रेजेन्सी समुदायका भावनालाई प्रोत्साहित गर्ने गरी डिजाइन गरिएका छन् । आगामी दिनमा नेपालमा स्थापित हुने ह्यात ब्राण्डका होटलहरु आधुनिक डिजाइन र परम्परागत नेपालीपनको मिश्रण सहितका हुनेछन् ।
लुम्बिनीमा विस्तार हुन लागेको ह्यात रिजेन्सी होटलले लुम्बिनी क्षेत्रको सांस्कृतिक धरोहरलाई समर्थन गर्नका लागि डिजाइन गरिनेछ । ११ एकड जमीनमा फैलिएको लुम्बिनी ह्यात रिजेन्सीमा १७५ कोठा, भोजन, कार्यक्रम र बैठक स्थल र अत्याधुनिक फिटनेस केन्द्र, स्वास्थ्य स्पा, पोखरी र अन्य मनोरञ्जनका सुविधाहरू रहने बताइएको छ ।
हयातका भारत र दक्षिण–पश्चिम एशियामा ५२ होटल सञ्चालनमा छन् । जसमा ५० वटा भारतमा र २ वटा नेपालमा रहेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.