२०८१ कार्तिक २० गते ११:३० विकासन्युज
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाह्य उडानका साथै आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने भएकाे छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन लागेकाले उडान कटाैती गर्न लागेकाे जनाएकाे छ ।
यही कामका लागि कार्तिक २३ गतेदेखि विमानस्थल दैनिक १० घण्टा बन्द हुँदैछ ।
विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएकाे हाे ।
गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए ।
महानिर्देशक अधिकारीले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको बताए ।
उनले भने, ‘जहाज ल्याण्ड भएपछि एप्रोनसम्म आउनका लागि हामीसँग समानान्तर ट्याक्सी वे नभएका कारणले गर्दा रनवे नै प्रयोग गरेर एप्रोनसम्म आउनुपर्छ । यो रनवेमा जहाजले बढी समय लिन्छ । ट्याक्सी वे बनेपछि जहाज चाँडै नै ट्याक्सी वेमा निकालेर एप्रोनमा ल्याउँछौं । त्यो भएपछि रनवेको अकुपेन्सी टाइम घट्ने भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको क्षमता २५ प्रतिशतले बढ्ने हाम्रो अनुमान छ ।’
महानिर्देशक अधिकारीले सो कामको योजना करिब ८ महिनाअघि देखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि आग्रह गरे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सुरु गर्न लागिएको सो काम विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनैपनि खालको रणनीति वा राजनीति नभएको महानिर्देशक अधिकारीको स्पष्टीकरण थियो ।
उनले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको पनि जानकारी दिए ।
प्राधिकरणले सो स्तरोन्नतिको कामले बाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने बताएको छ । आन्तरिक उडानमा ३० प्रतिशतको कटौती हुँदा हवाई कम्पनीको व्यापार पनि सोही मात्राले घट्नेछ ।
महानिर्देशक अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सस्तोको टिकटको व्यवस्था गरेको पनि स्मरण गराए ।
उनले सो अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि करिब तीनवटा अन्तर्राष्ट्रिय वायु यानले उडान भर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिए ।
महानिर्देशक अधिकारीले भने, ‘आन्तरिक उडान पनि कम्तीमा ३० प्रतिशत कटौती हुन्छ । तर डोमेस्टिक एयरलाईन्सँग पनि हामीले प्रशस्त छलफल गरेका छौं । उहाँहरू एकदमै सकारात्मक हुनुहुन्छ । यो बनिसकेपछि एयरर्पोटको इफिसेन्सी नै अर्को हुन्छ नि । यो वर्षेदेखि पाइलटले खोजेको कुरा हो नि । यो विषयमा उहाँहरूको पूर्ण समर्थन छ । ३ वटा अन्तर्राष्ट्रिय वायु यान उडान भर्ने प्रतिवद्धता आएको छ । भैरहवाबाट ३ वटा वायु यानले आफ्नो उडान निकट भविष्यमा नै सुरु गर्नेछन् ।’
सरकारले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उडान सञ्चालनका लागि त्यसको टिकट दर सस्तो उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.