२०८१ कार्तिक २० गते १४:१५ विकासन्युज
काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचनको माहाेल तात्दा यता किभ भने तनावमा छ । यो निर्वाचनले युक्रेनलाई हालसम्म दिइँदै आएको सहयोग टुटाउने वा जारी राख्नेबारे निर्णायक भूमिका खेल्ने बताइएकाे छ ।
विभिन्न सर्वेक्षणले रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति कमला ह्यारिसबीच ‘कडा प्रतिस्पर्धा’ देखाएको छ।
राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउस छाडेपछि जारी रुस र युक्रेनको द्वन्द्वमा युक्रेनले सहयोग पाउँछ कि पाउँदैन भन्नेमा किभ तनावमा छ ।
ह्वाइट हाउस र नाटोले युक्रेनको पक्षमा समर्थन देखाइरहे पनि युक्रेनलाई सहयोग गर्दै आएका देशहरू विशेषगरी अमेरिकाले अब सहयाेग नगर्ने महसुस हुन थालेकाे छ ।
रिपब्लिकनहरूले युक्रेनलाई थप सैन्य सहायता दिन अझै ठूलो चुनौती खडा गर्नेछन्, जसले युक्रेनलाई रुसविरुद्ध लड्न रोक्न सक्छ । तर, युक्रेनको पक्षमा रहेको कमला ह्यारिसको प्रशासनले पनि अमेरिकी सांसदहरूलाई अझ ठूलो सहयोग प्रदान गर्न सहमत गराउन कठिनाइ सामना गर्न सक्छ ।
किभका अधिकारीहरू राष्ट्रपतीय निर्वाचनलाई निकै नजिकबाट हेरिरहेको र भविष्यको सहायता कटौती हुने डर रहेको बताउँछन् ।
‘यो सम्भावित परिदृश्य हो जुन युक्रेनको लागि अत्यन्त प्रतिकूल हुनेछ,’ वरिष्ठ युक्रेनी अधिकारी युरी साकले सीएनबीसीलाई गत साता भनेका थिए ।
‘तर, हामीले अमेरिकी साझेदारहरूलाई उस्तै स्तरको सहयोग जारी राख्न आग्रह गर्न सक्छौं, उनले थपेका थिए ।
अधिकारी साकले युक्रेनले रुसमाथि विजय प्राप्त नगरेसम्म अमेरिकाले युक्रेनलाई समर्थन जारी राख्ने विश्वास गरेकाे पनि बताए ।
‘हामी विश्वास गर्छौं कि जसले आगामी राष्ट्रपतिको निर्वाचन जितेपनि अमेरिकाले तबसम्म युक्रेनलाई समर्थन जारी राख्नेछ जबसम्म हामीले विजय प्राप्त र न्यायपूर्ण शान्ति स्थापना गर्दैनौं,’ उनले भने ।
युक्रेन आफ्नो सैन्य, मानवीय र आर्थिक सहायता पाउन अन्तर्राष्ट्रिय साझेदारहरूमाथि निर्भर रहँदै आएकाे छ । यसले देशलाई आर्थिक रूपमा सुदृढ राख्न र रुससँगको लडाइँमा सक्षम बनाएकाे छ ।
२०२२ को फेब्रुअरीमा युक्रेन-रुस युद्ध सुरु भएदेखि यस वर्षको अगस्टसम्म अमेरिकाले लगभग १०८ अर्ब डलर बराबरको सैन्य, मानवीय र आर्थिक सहयोगमा खर्च गरेको विभिन्न तथ्यांकले देखाउँछन् । साथै युरोपियन इन्भेस्टमेन्स बैंक र युरोपियन कमिसनले कूल १६१.११ अर्ब युरो (१७५.४७ अर्ब डलर) जति सहयोग प्रदान गरेको द किल इन्स्चिच्युट अफ वर्ल्ड इकाेनाेमीले जनाएकाे छ ।
डोनाल्ड ट्रम्पले स्पष्ट रूपमा संकेत गरेका छन् कि उनले किभको लागि सैन्य सहायता रोक्नेछन् । उनले चुनिएकाे २४ घण्टाभित्रै युद्ध रोक्ने दावी गरे पनि कसरी गर्ने भन्ने थप विवरण भने दिएका छैनन् । विश्लेषकहरू ट्रम्पले युद्ध जबरजस्ती रोक्नको लागि वित्तीय सहायता रोक्नसक्ने विकल्पको रूपमा हेर्छन् ।
रिपब्लिकनका तर्फबाट उपराष्ट्रपति उम्मेदवार जेडी भेन्सले युक्रेनलाई थप सहायता दिने कुरामा विरोध गरेका छन् र अमेरिकाले किभलाई रुससँग शान्ति सम्झौतामा सहमत गराउन प्रेरित गर्नुपर्ने र मस्कोलाई केही भूमि छोड्न तयार हुनुपर्ने तर्क गरेका छन् ।
कमला ह्यारिसको चुनावी जित किभका लागि राहत हुनेछ किनकि उनले आफ्नो प्रशासनले युक्रेनलाई जित्न जति समय लागे पनि सहयोग गर्ने प्रतिज्ञा गरेकी छन् ।
यद्यपि न त उनले न त वाशिङ्टनले यसबारेमा स्पष्ट रूपमा उक्त वक्तव्यको सटीक अर्थ दिएका छैनन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.