२०८१ कार्तिक २० गते १६:२२ विकासन्युज
काठमाडौं । काठमाडौं उपत्यकामा छठको रौनक सुरु भएको छ । तिहार सकिए लगत्तै काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायतका स्थनमा छठका लागि तयारी सुरु गरिएको हो ।
छठ पूजाका लागि काठमाडौंका गौरीघाट लगायतका नदी किनारहरू सिंगारिएका छन् । चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् । दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।
कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको बताए । उनले कमलपोखरीमा २६० वटा बस्ने टेन्टहरु बनाएको तर बुकिङ गर्न आउनेहरूको संख्या तीन सय बढी भइसकेको बताए । साढे तीन सयको संख्यामा राख्न सकिने उनले बताए । अर्का स्थानीय जितेन्द्र झाले छठ प्राकृतिक पूजा भएकाले भगवान सूर्यनारायणको पूजाआज गरी मनाइने जानकारी दिए ।
‘हामीले २ सय ६० वटा घाट नम्बरिङ गरेका छौँ । तर बुकिङ गर्न आउनेहरु तीन सय बढी भइसकेको छ । साढे तीन सय जति कभर हुन्छ । पाँच दिन यता सरसफाई भइरहेको छ’, उनले भने ।
छठ पर्वमा श्रद्धालुहरू भगवान श्री सूर्यनारायणको पूजा गर्ने गर्छन् । गाउँगाउँमा रहेका पोखरीहरूमा समेत छठ पर्वलाई लिएर सरसफाईका साथै सजाउने कार्य भईरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.