२०८१ कार्तिक २१ गते ८:१५ विकासन्युज
काठमाडौं । यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छभने सबैभन्दा धेरै खपत काठमाडौं उपत्यकामा भएको छ । फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ ।
यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको १ सय रुपैयाँ तिर्नुपरेको थियो । काठमाडौं महानगरपालिका (कामपा)ले फूल बिक्रीस्थल तोकेका कारण यस वर्षसहज भएको उनले बताए । यस वर्ष कामपाले नेपाली फूल किसानलाई फूल बेच्न ४६ स्थान तोकेको थियो ।
बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताए ।
काठमाडौं उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् । व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएका उनले जानकारी दिए ।
पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका छन् भने २२१ हेक्टरमा १ हजार १८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.