२०८१ कार्तिक २१ गते १७:४० सन्तोष रोकाया
काठमाडौं । आन्तरिक बजारले धान्न नसकेको खपत भारतीय बजारमा निर्यात गरेर मनग्य कमाउने सिमेन्ट उद्योगहरूको सपना सपनामै विलीन हुन थालेको छ । २०७९ असारमा भारतमा पहिलो पटक सिमेन्ट निर्यात सुरु गरेर खुसीको सन्देश सम्प्रेषण गरेको सिमेन्ट बजार अहिले मरणासन्न अवस्थामा छ । वार्षिक साढे दुई करोड टन उत्पादन क्षमता भएको सिमेन्ट उद्योगहरूको अहिले करिब एक करोड टन उत्पादन मुस्किलले हुन्छ ।
सरकारको कमजोर पुँजीगत खर्च, बजारको न्यून माग, सुस्त बनेको निर्माण क्षेत्र र पूर्वाधार निर्माणमा मन्दीलगायत कारणले उपभोक्ताबाट सिमेन्टको माग छैन । बजारमा माग नहुँदा उद्योगीले उत्पादन घटाए । परिणामस्वरूप सिमेन्ट उद्योगहरूको व्यापार ठूलो परिमाणले खस्किएको छ । निर्यातले व्यापार बढ्ने आशा गरेका उद्योगीहरूमा निराशा थपिएको छ । अहिले अधिकांश उद्योगहरू क्षमताको २५ प्रतिशतसम्म मात्रै सञ्चालन भइरहेको उद्योगीहरूले बताइरहेका छन् ।
‘व्यापार घट्यो, घाटा बेहोर्नुपर्यो र उद्योगहरू धमाधम बन्द भए’ भनेर गुनासो गरिरहेका उद्योगीहरूको सिमेन्ट उद्योगको वित्तीय विवरणले के देखाउँछ ? के साँच्चिकै नेपाली सिमेन्ट उद्योगहरू संकटको अवस्थामा पुगेका हुन् त ?
आउनूस्, यस विषयमा चर्चा गरौं ।
आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण हेर्दा पब्लिक कम्पनी सोनापुर सिमेन्ट उद्योग ४७ करोड रुपैयाँ घाटामा छ । पब्लिक कम्पनी घोराही सिमेन्ट एक अर्ब २१ करोड रूपैयाँ घाटामा छ भने अन्य दुई पब्लिक कम्पनी सर्वोत्तम २१ करोड ३८ लाख र शिवम सिमेन्ट २५ करोड नाफामा छ ।
अघिल्लो वर्षको सोही अवधिको तुलनामा यी दुइटै उद्योगको नाफा घटेको छ । सर्वोत्तम सिमेन्टको नाफा १७ करोड ४२ लाख रुपैयाँ घटेको छ भने शिवमको नाफा ३४ करोड ४५ लाख रुपैयाँ घटेको छ । व्यापार कम भएकै कारण यी उद्योगहरूको नाफा घटेको हो ।
पब्लिक कम्पनी सोनापुर सिमेन्टको व्यापार विगतका वर्षको तुलनामा उल्लेख्यरूपमा घटेको छ । सोनापुर सिमेन्टले आव २०८०/८१ मा १ अर्ब ६३ करोड, आव २०७९/८० मा साढे १ अर्ब ७३ करोड, आव २०७८/७९ मा २ अर्ब ३७ करोड, आव २०७७/७८ मा पौने ३ अर्ब रुपैयाँको व्यापार गरेको थियो । यो चार वर्षको अवधिमा सोनापुर सिमेन्टको व्यापार उल्लेख्यरूपमा घटेको छ । जसको नेतृत्व रतनलाल टोयलले गरिरहेका छन् ।
यस्तै, अर्को पब्लिक कम्पनी सर्वोत्तम सिमेन्टको हालत पनि त्यस्तै छ । बुक बिल्डिङ विधिबाट सर्वसाधारण सेयर जारी गरेको यस उद्योगको व्यापारमा पनि पछिल्लो समय घटेको छ । आव २०८०/८१ मा यस उद्योगको व्यापार साढे ६ अर्ब ३७ करोड, आव २०७९/८० मा साढे ५ अर्ब, आव २०७८/७९ मा ७ अर्ब ८८ करोड, आव २०७७/७८ मा करिब ९ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको थियो । यो चार वर्षको अवधिमा यस सिमेन्ट उद्योगकमो व्यापारमा ठूलो गिरावट आएको छ । जसको नेतृत्व विष्णु न्यौपानेले गरिरहेका छन् ।
लक्की, शारदा र गोयल ग्रुपको मुख्य लगानी रहेको पब्लिक कम्पनी शिवम् सिमेन्टको व्यापार पनि खस्किएको छ । उद्योगी सुरेन्द्र गोयलले नेतृत्व गरिरहेको शिवम् सिमेन्टमा ८८ प्रतिशत संस्थापक र १२ प्रतिशत सर्वसाधारणको सेयर छ । यस उद्योगको व्यापार पनि चार वर्षको अवधिमा व्यापार ६ अर्ब बढीले घटेको छ । आव २०७७/७८ मा ९ अर्ब ६० करोड रुपैयाँ बराबरको व्यापार गरेको यस सिमेन्ट उद्योगले आव २०८०/८१ मा ७ अर्बको व्यापार गरेको छ । अघिल्लो आवको तुलनामा यस उद्योगको व्यापार २ अर्बले घटेको छ ।
अर्को पब्लिक कम्पनी घोराही सिमेन्टको अवस्था पनि अन्यको भन्दा फरक छैन । प्रिमियम मूल्यमा आईपीओ जारी गरेको घोराही सिमेन्टको व्यापारमा पनि ठूलो गिरावट आएको छ । व्यापारिक ग्रुप त्रिवेणी समूह र विशाल ग्रुपको लगानी रहेको घोराही सिमेन्टको नेतृत्व पुरुषोत्तम लाल संघाईले गरिरहेका छन् । यस सिमेन्ट उद्योगको व्यापारमा २०७७ देखि निरन्तर गिरावट देखिएको छ ।
आव २०७८/७९ मा घोराही सिमेन्टको व्यापार ५ अर्ब ४ करोड रुपैयाँ थियो । आव २०७९/८० मा ४ अर्ब ७९ करोड र आव २०८०/८१ मा यस उद्योगले साढे ४ अर्ब रुपैयाँको व्यापार गरेको छ ।
पब्लिक कम्पनीहरूको व्यापार र नाफा उल्लेख्य रूपमा घटेको सार्वजनिक वित्तीय विवरणले देखाउँछ । सार्वजनिक कम्पनीका रूपमा अगाडि बढेका सिमेन्ट उद्योगको व्यापार खस्किँदा निजी उद्योगहरूको व्यापारको अवस्था के होला ? ठूलो उद्योगीहरूले नाफा कमाएका होलान् वा छैनन् होला ?
आउनूस्, अब यो जिज्ञासालाई पनि मेटाऔं ।
नेपालमा पाँच दर्जन बढी सिमेन्ट उद्योगहरू छन् । तीमध्ये अधिकांश बन्द भइसकेका छन् भने कतिपय आधा क्षमतामा मात्रै सञ्चालित छन् । सञ्चालनको अवस्थामा रहेका केही प्रमुख सिमेन्ट उद्योगलाई नमुनाका रूपमा लिएर समग्र उद्योगको व्यापारको वस्तुस्थिति प्रस्तुत गर्ने प्रयत्न यो समाचारमा गरिएको छ ।
बृज सिमेन्ट
बृज सिमेन्टमा पाँच व्यक्ति तथा संस्थाको लगानी छ । यो उद्योगमा केडिया अर्गनाइजेसनको ५० प्रतिशत सेयर रहेको छ भने बाँकी भारतको शान्ता सिमेन्ट प्राइभेट लिमिटेडको रहेको छ । बृजले दुइटा ब्रान्डमा ओपीसी र पाँच ब्रान्डमा पीपीसी सिमेन्ट उत्पादन गर्ने गरेको छ ।
ताराचन्द केडियाले नेतृत्व गरिरहेको यो सिमेन्टको व्यापार पनि खस्किएको छ । पछिल्लो समय निर्माण कार्यमा देखिएको सुस्तताका कारण सिमेन्ट कम्पनीहरूको व्यापारमा भारी गिरावट देखिएको कम्पनीको भनाइ छ । यस उद्योगले आर्थिक वर्ष २०८०/८१ को मध्येसम्म सवा १ अर्बको मात्रै व्यापार गरेको छ । यस उद्योगले आव २०७९/८० मा २ अर्ब १२ करोड, आव २०७८/७९ मा साढे १ अर्ब र आव २०७७/७८ मा करिब ३ अर्ब रुपैयाँको व्यापार गरेको थियो । यो चार वर्षको अवधिमा बृज सिमेन्टको व्यापार पनि उल्लेख्य रूपमा खस्किएको छ ।
सीजी सिमेन्ट
पाल्पामा अवस्थित नेपालको ठूलो सिमेन्ट उद्योगमध्ये एक हो सीजी सिमेन्ट । यसको वार्षिक उत्पादन क्षमता ४ लाख टन छ । उद्योगले भारतमा समेत सिमेन्ट निर्यात गर्ने लक्ष्य राखेको छ । नेपालमा एक मात्रै डलर अर्बपति विनोद चौधरीको सीजी ग्रुपको लगानी रहेको सीजी सिमेन्टको हालत पनि अन्य सिमेन्ट उद्योगभन्दा फरक छैन । उद्योगले आव २०८०/८१ एक अर्ब ३७ करोड रुपैयाँ बराबरको मात्रै व्यापार गरेको छ । यस उद्योगले भारतको चर्चित अदानी ग्रुपसँग सिमेन्ट व्यापारका लागि रणनीतिक साझेदारी पनि गरेको छ ।
होङ्सी शिवम सिमेन्ट
९ वर्षअघि स्थापना भएको होङ्सी शिवम सिमेन्ट प्रालिको व्यापार पनि सन्तोषजनक छैन । हङकङ रेड लायन सिमेन्टको ७० प्रतिशत र शिभम् होल्डिङ्स प्रालिको ३० प्रतिशत सेयर स्वामित्व रहेको यस उद्योगको व्यापार आव २०८०८१ को मध्येमा पौने ५ अर्बमा सीमित बनेको छ । चार वर्षअघि १७ अबको व्यापार गर्ने यो उद्योगको अघिल्लाे आव २०७९/८० मा १३ अर्ब रुपैयाँ बराबरको व्यापार थियो भने आव २०७८/७९ मा १७ अर्ब रुपैयाँ बराबरको व्यापार भएको थियो ।
नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामाा रहेको यस कम्पनीले सिमेन्ट प्लान्ट, क्लिङ्कर (अर्धप्रशोधित सिमेन्ट) र सिमेन्ट उत्पादन गर्दै आएको छ । वार्षिक रूपमा २० लाख टन क्लिंकर र २३ लाख टन ग्रिडिङ उत्पादन गर्ने कम्पनीको क्षमता छ । यस कम्पनीले हाल ओपीसी र पीपीसी सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको छ ।
अर्घाखाँची सिमेन्ट
अर्घाखाँची सिमेन्टमा तीन ठूला व्यावसायिक घरानाको लगानी छ । सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत, केडिया ग्रुपको १७.५ प्रतिशत र भारतीय कम्पनी उमा सिमेन्ट इन्टरनेसनलको १७.५ प्रतिशत स्वामित्व रहेको यस उद्योगको नेतृत्व उद्योगी पशुपति मुरारकाले गरिरहेका छन् । यो उद्योगको व्यापार पनि सन्तोषजनक छैन ।
यस उद्योगले आव २०८०/८१ मा साढे ३ अर्बको व्यापार गरेको छ भने अघिल्लो आव २०७९/८० मा ५ अर्ब ७७ करोड, आव २०७८/७९ मा साढे ७ अर्ब र आव २०७७/७८ मा पौने ९ अर्बको व्यापार गरेको थियो ।
यस उद्योगले ओपीसी र पीपीसी सिमेन्ट अर्घाखाँची ब्राण्डमा बिक्री गर्दै आएको छ । हाल कम्पनी वार्षिक १० लाख मेट्रिक टन क्लिङ्कर र ८ लाख मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्न सक्ने क्षमतामा सञ्चालन भइरहेको छ ।
पाल्पा सिमेन्ट
आरएमसी ग्रुपको लगानी रहेको पाल्पा सिमेन्टको प्रबन्ध निर्देशक राजेश अग्रवाल हुन् । अहिले उद्योगले भारतमा सिमेन्ट निर्यात पनि गरिरहेको छ । सन् २००९ मा स्थापना भएको कम्पनीले सन् २०१९ देखि क्लिङ्कर र सन् २०२० देखि सिमेन्टको व्यावसायिक उत्पादन सुरु गरेको थियो । नवलपरासीमा रहेको सिमेन्ट उद्योगले वार्षिक ५ लाख ९० हजार मेट्रिक टन क्लिङ्कर र ७ लाख ३० हजार मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता छ । भारतमा निर्यात गरे पनि उद्योगको व्यापार भने बढ्न सकेको छैन ।
यस उद्योगले आव २०८०/८१ को मध्येसम्म पौने २ अर्बको मात्रै व्यापार गरेको देखिन्छ भने अघिल्लो आव २०७९/८० मा सवा ४ अर्ब, आव २०७८/७९ मा पौने ४ अर्ब र आव २०७७/७८ मा साढे ४ अर्ब रुपैयाँको व्यापार गरेको थियो ।
मारुती सिमेन्ट
मारुती सिमेन्टको व्यापार पनि घटेको छ । आव २०८०/८१ को मध्येसम्म यस उद्योगको व्यापार ३ अर्ब २२ करोड रुपैयाँ, आव २०७९/८० मा ४ अर्ब ३३ करोड र आव २०७८/७९ मा ५ अर्ब बढी रकम बराबरको कारोबार थियो ।
विसं २०५२ सालमा सुरु भएको मारुती सिमेन्ट नेपालको ठूलोमध्येको एक सिमेन्ट उत्पादक कम्पनी हो । यस उद्योगमा राठी ग्रुप र गोयल ग्रुपको लगानी छ । यो उद्योगको नेतृत्व नन्दकिशोर राठीले गरिरहेका छन् । कम्पनीको व्यापारमा कमी आउनुको कारण विदेशी मुद्रा सटहीमा हुने उतारचढावका साथै प्रतिस्पर्धी, सिमेन्ट बजार नेपाल विद्युत प्राधिकरणले दाबी गरेको ट्रंकलाइनको महसुल तथा विद्युत आपूर्तिको समस्या रहेको बताइएको छ ।
जगदम्बा ग्रुप
शंकर र शौरभ ग्रुपको लगानी रहेको यो सिमेन्टको स्थापना विसं २०५६ सालमा स्थापना भएको थियाे । रुपन्देहीको भैरहवामा अवस्थित यस उद्योगको उत्पादन क्षमता दैनिक १ हजार टन छ । यो उद्योगको नेतृत्व शंकर अग्रवालले गरेका छन् । यसकाे व्यापार पनि विगतको तुलनामा खस्किएको छ । आव २०७९/८० मा १ अर्ब ४४ करोड रुपैयाँ व्यापार रहेको यस उद्योगको आव २०७८/७९ मा २ अर्ब ६८ करोड र आव २०७७/७८ मा करिब ३ अर्ब रुपैयाँ थियो ।
यी आधा दर्जन उद्योगको हालत पनि त्यस्तै
काबेली सिमेन्ट उद्योगको वार्षिक क्षमता १६ लाख १० हजार टन छ । तर, उद्योगको उत्पादन र व्यापार भने बर्सेनि घट्दै गएको छ । झापाको हल्दिबारीमा रहेको यो सिमेन्ट उद्योगको नेतृत्व अर्जुनकुमार मैनालीले गरिरहेका छन् । आव २०७७/७८ मा उद्योगको व्यापार ४३ करोड रुपैयाँ थियो । तर, अहिले घटेको छ ।
यस्तै, भूगर्भ सिमेन्टको व्यापार पनि विगतको तुलनामा घटेको छ । आव २०७७/७८ मा २ अर्ब बढीको व्यापार गर्ने यो उद्योगले २०८०/८१ को मध्यतिर साढे १ अर्ब मात्रैको व्यापार गरेको छ । यस उद्योगको प्रबन्ध निर्देशकका रूपमा नन्दीकिशोर पौडेल र सीईओको रूपमा दीपकराज गिरीले काम गरिरहेका छन् ।
अग्नि, शुभ श्री, सम्राट र सप्तकोशी सिमेन्टको व्यापारमा पनि ठूलो गिरावट आएको छ । अग्नि सिमेन्टले आव २०७७/७८ मा ८८ करोड रुपैयाँको व्यापार गर्ने यस उद्योगले आव २०७९/८० मा ७० करोड रुपैयाँको मात्रै व्यापार गरेको छ । मुख्य कच्चा पदार्थका रूपमा क्लिङ्कर, स्ल्याग, फ्लाइस, जिप्सम कच्चा मालमा कम्पनीको बढी खर्च हुने गरेको छ । यस उद्योगको अध्यक्ष कृष्णप्रसाद पोखरेल छन् । उनी शुभश्री अग्नि सिमेन्टका सञ्चालक पनि हुन् । ताराप्रसाद पोखरेल उद्योगको प्रबन्ध सञ्चालक रहेका छ्न् ।
त्यस्तै, सप्तकोशी सिमेन्टको पनि व्यापार घटेको छ । यस सिमेन्ट उद्योगले आव २०७९/८० मा २ अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेको छ ।
नेपाल सिमेन्ट उद्योग संघका महासचिव केशव उप्रेती अहिले सिमेन्टको व्यापार औसतमा ६० प्रतिशतसम्म खस्किएको बताउँछन् । उनका अनुसार राम्रै चलिरहेका उद्योग पनि ५०/६० प्रतिशतको क्षमतामा मात्रै सञ्चालन भइरहेका छन् ।
‘अधिकांश उद्योगले उत्पादन युनिट बन्द गरेका छन् । बजारमा माग छैन । बजार विगतको तुलनामा राम्रै खस्किएको छ,’ उनले भने ।
महासचिव उप्रेतीका अनुसार अहिले सिमेन्ट निर्यात पनि हुन सकेको छैन । ‘एक दुई उद्योगले निर्यात गर्थे । तर, ती उद्यागको पनि सर्टिफिकेट सकिनै लागेको छ । भारतले निर्यातका लागि त्यहाँको सरकारबाट गुणस्तर प्रमाणीकरण प्रमाणपत्र दिन सकेको छैन,’ उनले भने ।
गत आवमा ३ अर्ब ८५ करोडको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको छ । गत आवमा २८ लाख ३९ हजार टन सिमेन्ट तथा क्लिङ्कर भारततर्फ निर्यात भएको भन्सार विभागले जनाएको छ । जसमा ५ लाख सात हजार टन क्लिङ्कर २३ लाख ३२ हजार टन सिमेन्ट रहेको छ । अघिल्लो आवमा ७७ करोड ९३ लाख बराबरको १० लाख चार हजार टन मात्र सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको थियो ।
नेपाली सिमेन्ट उद्योगसँग वार्षिक तीन खर्ब रुपैयाँ बराबरको उत्पादन क्षमता छ । अहिले नेपालमा करिब एक खर्ब रुपैयाँ बराबरको सिमेन्ट उत्पादन भइरहेको उद्योगी बताउँछन् । तर, उत्पादन भएको सिमेन्ट बजारले माग गरिरहेको छैन । उत्पादन भएको सिमेन्टले पनि बजार नपाउँदा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन गर्न चुनौती भइरहेको उद्योगीहरू बताउँछन् ।
विश्व महामारीका रूपमा फैलिएको कोभिड-१९ पछि देशको अर्थतन्त्र सुस्त बन्दा सिमेन्ट उद्योग त्यसको प्रत्यक्ष मारमा परेको तथ्यांकबाट प्रष्ट हुन सकिन्छ । अर्थतन्त्र सिथिल बन्दा र बजारमा निर्माणजन्य काम नहुँदा सिमेन्टको माग हुन सकेन र परिणामस्वरूप उद्योगहरू संकटमा फस्दै गएका हुन् ।
अघिल्लो आव ६० अर्ब बढी कारोबार गरेका यी उद्योगले गत वर्षको मध्यसम्म त्यसको आधा अर्थात् ३० अर्बको हाराहारीमा मात्रै व्यापार गरेका छन् । यो एक वर्षको अवधिमा यी सिमेन्ट उद्योगको व्यापार ५०.८० प्रतिशत घटेको तथ्यांकले देखाउँछ ।
८४ अर्ब ऋणका लागि रेटिङ
सिमेन्ट उद्योगहरूले ऋणका लागि पनि धमाधम रेटिङ गराउन थालेका छन् । हालसम्म डेढ दर्जन उद्योगले ऋणका लागि रेटिङ गराएका छन् । आव २०८०/८१ मा डेढ दर्जन सिमेन्ट उद्योगले ८४ अर्ब ऋणका लागि रेटिङ गराएका हुन् ।
तथ्यांकअनुसार बृज सिमेन्टले साढे ८९ करोड, सर्वोत्तमले ४ अर्ब २६ करोड, सीजीले १३ अर्ब, शिवमले ३ अर्ब २० करोड, होङ्शीले २ अर्ब ३२ करोड र अर्घाखाँचीले साढे ४ अर्ब रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो ।
पाल्पा सिमेन्टले ७२ करोड, मारुतीले पौने ७ अर्ब, जगदम्बाले १ अर्ब २३ करोड, काबेलीले ५९ करोड, भूगर्भले २ अर्ब २५ करोड, अग्निले ८८ करोड, शुभ श्रीले साढे ५ अर्ब, सप्तकोशीले १ अर्ब १२ करोड, सम्राटले १२ अर्ब, सोनापुरले ७ अर्ब र घोराहीले १० अर्ब रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.